प्रधानमन्त्री कप सेमिफाइनलः राजेशको इनिङ ज्ञानेन्द्रको टिमलाई भारी – Nepal Press

प्रधानमन्त्री कप सेमिफाइनलः राजेशको इनिङ ज्ञानेन्द्रको टिमलाई भारी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष प्रतियोगिताको सेमिफाइनल चरण पनि सकिसकेको छ । र, विगतकै इतिहासलाई निरन्तरता दिँदै विभागीय टोली– त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा पुगिसकेका छन् ।

घरेलु क्रिकेटमा दबदबा कायम गर्दै आएका तीन विभागीय टोली मात्रै प्रधानमन्त्री कपका चारै वटा फाइनलमा पुगेका छन् । पछिल्लो पटक सन् २०१९ मा त्रिभुवन आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । त्यस्तै, २०१८ मा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

२०१७ मा भएको पहिलो संस्करणको फाइनलमा वर्षाका कारण नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले उपाधि बाँडेका थिए । यसपाली समूह ‘बी’को विजेता बन्दै जारी सिजनको सेमिफाइनलमा पुगेको वाग्मतीले त्यो परम्परा तोड्ने अनुमान गर्न सकिन्थ्यो । गरिएको पनि थियो ।

तर, यो वर्ष पनि प्रदेश स्तरीय टोलीले सेमिफाइनल पार गर्न सकेनन् । सेमिफाइनलसम्म पुगेको एक गैर–विभागीय टोली वाग्मती पनि आज त्रिभुवन आर्मी क्लबसँग ९४ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

बुधबार भएको दुई विभागीयको भिडन्तमा जित हासिल गर्दै एपिएफ क्लब यसअघि नै फाइनलमा पुगिसकेको थियो । र, आजको जितसँगै दोस्रो विभागीय टोली– त्रिभुवन आर्मी क्लबले उपाधि भिडन्तमा स्थान बनाएको छ ।

चौथो संस्करणको सेमिफाइनल जितेर ऐतिहासिक फाइनल यात्रा तय गर्न आर्मीविरुद्धको दोस्रो इनिङमा वाग्मतीलाई २३० रन आवश्यक थियो । तर, टप अर्डर कोल्याप्स भएको वाग्मतीले दयनीय ब्याटिङ गर्दै ४०.२ ओभरमा सबै विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो । र, प्रतियोगिताबाट बाहिरियो ।

हारपछि वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले सुरुआतमा बलिङ प्लान सफल भए पनि सुरुआती १० ओभरमा ब्याटिङ सम्हालिन नसक्दा पराजित हुनु परेको बताए ।

‘हामीले बिहानको समयको भरपुर फाइदा उठाएर उनीहरूलाई दबाबमा राख्ने सोचेका थियौं । त्यो भयो पनि जस्तो लाग्छ,’ उनले भने, ‘फिल्डिरको गल्तीले गर्दा उनीहरूको राम्रो साझेदारी भयो र लक्ष्य २३० सम्म पुग्यो । तर, विकेट पछि राम्रो भइसकेको थियो । २३० पनि पूरा गर्न सकिने नै थियो ।’

‘सुरुआती १० ओभरमै सम्हालिन सकिएन । सकेको भए सायद रिजल्ट अर्कै हुन्थ्यो होला, ज्ञानेन्द्रले भने । आर्मीको जितमा ६५ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ खेलेका राजेश पुलामी मगरले टोलीलाई आवश्यक भए अनुसार खेलेको प्रतिक्रिया दिए ।

‘टोलीलाई लामो समय टिकेर खेल्ने इनिङ आवश्यक थियो, मैले पनि त्यसैअनुसार सोचेको थिएँ,’ उनले भने, “सातौं नम्बरमा ब्याटिङ गर्न आउनु भनेको खेल सकाएर जानु हो । त्यो मेरो जिम्मेवारी पनि हो । मैले जिम्मेवारी पूरा गरेँ ।’

तर आफ्नो इनिङ अझै राम्रो हुन सक्ने उनले बताए । “अझै राम्रो पनि हुनसक्थ्यो । तर, समग्रमा राम्रै भयो । हामीले जित्यौं,” उनले भने, ‘जितेपछि राम्रै देखिन्छ पनि । सुधार्नु पर्ने कुरा अझै पनि छ ।’

इनिङको ४९.४ ओभरमा वाग्मतीका विकेटकिपर आकाश थापाको हातबाट क्याच आउट भएका राजेशले अन्तिम ओभर भएकाले ठूला सट खेल्न खोज्दा विकेट गुमाएको बताए ।

‘अन्तिम ओभर थियो । र, त्यो समयमा ‘बिग हिट’ नै हान्छु भनेर गएको थिएँ, त्यसैले आउट भएँ,’उनले भने । शनिबार हुने एपिएफविरुद्धको उपाधि भिडन्तमा पनि आफ्नो यही प्रदर्शनलाई निरन्तरता दिने उनको भनाइ छ ।

‘फाइनलमा एपिएफविरुद्ध पनि यस्तै प्रदर्शन गर्ने प्रयास गर्छु । यसअघिका तीनै फाइनलमा पुगे पनि एक पटक जितेर पछिल्लो दुई पटक हारेका थियौं । यसपटक त्यो रिदम ब्रेक गर्ने कोशिश गर्नेछौं,’ उनले भने ।

आर्मीलाई फाइनलसम्म पु¥याएका कप्तान विनोद भण्डारीले आजको खेललाई सहज रूपमा नलिएको प्रतिक्रिया दिए । “हामीले सहज रूपमा लिएका थिएनौं । हामी पनि बलिङ गर्ने सोचिरहेका थियौं,” उनले भने, ‘किनभने, अहिलेसम्म जति खेल हेरेका छौं, ती सबैमा ब्याटिङ गर्न गाह्रो भइरहेको छ ।’

बिहान पिचका कारण ब्याटिङमा समस्या भएको कप्तान विनोदले बताए । “बिहान कसैले पनि राम्रोसँग खेल्न सकिरहेको छैन,” उनले भने, ‘त्यो समयमा हाम्रो आज पनि विकेट गइरहेको थियो । त्यसले गर्दा पछाडिका ब्याट्सम्यानहरूलाई पनि दबाब भयो ।’

राजेश पुलामी र बिक्रम सोबले एकदमै राम्रो खेलेर टोलीलाई सम्मानजनक योगफलसम्म लगेकोका विनोद खुशी देखिन्थे । ‘बिक्रम र पुलामीले राम्रो खेले । मेरो विचारमा आर्मीको यो सबैभन्दा राम्रो इनिङ थियो । राजेसले सधैँ हामीलाई सेमिफाइनलबाट अगाडि बढाइरहेको छ,’उनले भने, ‘उसले नकआउट गेमहरूमा एकदमै राम्रो खेल खेल्छ ।’

टार्गेट २३० भए पनि बलिङमा मेहनत गर्ने तयारी भएको उनले बताए । ‘सजिलो थिएन । हामीसँग दुई जना बायाँ हाते बलर थिए, उनीहरूसँग चार जना बायाँहाते ब्याट्सम्यानहरू थिए,’ उनले भने, ‘त्यसमाथि एकपटी सानो इन्ड पनि थियो । त्यसलाई व्यवस्थापन गर्न गाह्रो थियो ।’

तर, १८ रन बनाउन वाग्मतीले ५ विकेट खर्चिएपछि आर्मीलाई सहज भएको उनले बताए । ‘उनीहरूको सुरुमै चार/पाँच विकेट झरिसकेपछि हामीलाई पनि सजिलो भएको थियो,’उनले भने, ‘आफू आउट भएपछि अन्य ब्याट्सम्यानलाई ५० ओभर खेल्न मात्रै भनेको थिएँ । तर, उनीहरूले राम्रो खेले । र, २३० को योगफल पनि तयार भयो ।’

एपिएफ र पुलिसबीचको सेमिफाइनल हेरेकाले २२९ को योगफल बचाउने विश्वास आएको उनले बताए । “अस्ति एपिएफको गेममा पुलिसलाई २०४ मा रोकेको देखेका थियौं,” कप्तान विनोद भन्छन्, ‘उनीहरूले सक्छन् भने हामी किन सक्दैनौं भन्ने माइन्ड सेटमा गएका थियौं ।’

खराब सुरुआत गरेर मध्य क्रममा ब्याटिङ रिकभर भएपछि बलिङका लागि मोरल हाइ भएको विनोदले प्रतिक्रिया दिए । शनिबार एपिएफविरुद्ध फाइनलमा कुनै अतिरित्त दबाब नलिने र सामान्य खेल जसरी खेल्ने उनले बताए ।

“यसअघिका फाइनलमा एकपटक एपिएफ र एक पटक पुलिससँग हारेका छौं,’ उनले भने, “यो पाली त्यसमा परिवर्तन गर्न खोज्ने छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *