स्वस्थानी ‘फिक्सन’ होइन, हाम्रै माटोको कथा – Nepal Press

स्वस्थानी ‘फिक्सन’ होइन, हाम्रै माटोको कथा

श्री स्वस्थानी व्रतकथाको मूल स्रोत पद्मपुराण मानिन्छ । तर, स्वस्थानीमा हुबहु पद्मपुराणको कुरा उल्लेख छैन । केवल शिव–पार्वती वा अरू विषयको मात्र वर्णन छ ।

स्वस्थानी कथा काठमाडौंमा अढाइ सय वर्षअघि शुरुमा नेपाल भाषामा लेखिएको थियो । पछि नेपालीमा अनुवाद भयो । अनुवादपछि नेपालका प्रायः पहाडी क्षेत्रमा व्रत बस्ने, स्वस्थानी कथा भन्ने र सुन्ने चलन चल्यो । लोकप्रिय पनि भयो । काठमाडौं उपत्यकाको नेवारी संस्कृतिमा स्वस्थानी अहिले पनि नेवारी भाषामै पढिन्छ । नेवारी भाषाबाट नेपालीमा उल्था हुँदा कथामा थपघट भयो भन्ने कुरा आइरहेका छन् । तर, त्यस्तो छैन ।

अनुवाद गर्ने मान्छेले रुचाएका र संशोधन गर्दा शब्दहरू फरक पर्नु स्वाभाविक हो । अहिलेसम्म आइपुग्दा स्वस्थानी कथामा थपघट गरिएको छैन । गत वर्ष स्वस्थानीको किताबभित्र अन्य धर्मको प्रचार गरेर थपिएका पानाबारे हामीले चाल पायौं । त्यसको विरोध भयो, ती पानाहरू च्यातिए । पछि सच्याउन बाध्य पनि बनायौं । सनातन धर्मको महिमा बचाउनुको साटो अन्य धर्मको चर्चा गर्नु गलत काम थियो ।

एक महिनासम्मको यो पर्वमा खासगरी महिलाहरूले व्रत लिन्छन् । हुन त पुरुषले लिंदा पनि राम्रो हुन्छ । शिव–पार्वतीको व्रत लिन कसैलाई रोकावट छैन । अहिलेसम्म स्वस्थानी व्रतकथा कसले लेख्यो भन्ने अज्ञात छ । यो कथा जनश्रुतिको रूपमा चल्दै आएको छ । पुस्तकको रूपमा कथा अनेकौं संस्करणमा अनुवाद भइसकेको छ । हामीले करीब तीन वर्षअघिदेखि यसलाई अझै शुद्ध रूपमा ल्याउने प्रयास गरिरहेका छौं । किनकि स्वस्थानी व्रतकथाका किताब धेरै किसिमका आए । पहिले पहिले काशीतिर छापिएर आउँदा हिन्दीका लवज र अप्ठेरा शब्द थिए । भाषा शुद्ध होस् भनेर पछिल्लो पटक हामीले नयाँ संस्करण निकाल्यौं । नेपाली समाजको धार्मिक, सांस्कृतिक क्षेत्रमा यसको ज्यादै ठूलो महिमा छ ।

किन लेखियो ?

आफ्नै स्थान अर्थात् काठमाडौं उपत्यकाभित्रको वस्तुलाई केन्द्रविन्दु बनाएर भूगोल वर्णन र नेपालकै देवीदेवताहरूको महिमाको वर्णन गरेर यो कृति लेखिएको छ । त्यसकारण यसको धेरै महत्व छ ।

स्वस्थानी त्यतिबेला लेख्नुको उद्देश्य के थियो भन्ने जिज्ञासा सबैलाई हुनसक्छ । जन्मभूमि र जन्म दिने माता हाम्रो लागि सबैभन्दा ठूलो कुरा हुन् । साँखु पुरानो सभ्यता भएको शहर हो । अहिले पनि प्राचीन अवशेष, प्राचीन सभ्यताका चिह्नहरू पाउँछौं । त्यो शहरलाई केन्द्रविन्दु गरेर लावण्य देशको परिवेशलाई समेटेर स्वस्थानी कथा लेखिएको छ ।

विभिन्न जिल्लाहरूमा सिद्धपीठ, शक्तिपीठ उत्पन्न भएका कुरा स्वस्थानीमा छन् । कथामा शिवजीले सतीदेवीको मृत शरीर लिएर हिंड्दा त्यो पतन भएर विभिन्न ठाउँमा शक्तिपीठहरूको उत्पत्ति भएको उल्लेख छ । त्यो उल्लेख गरिनुको कारण हो- जन्मभूमि । आफ्नो राष्ट्रलाई ठूलो देखाउने उद्देश्य हो ।

नजिकको देवता हेला गर्नुहुँदैन भन्ने त हामीले सुन्दै आएका छौं । टाढा गएर ठूलो तीर्थ होइन हामीले हाम्रै ठाउँका पवित्र पावन नदी, मन्दिर, सांस्कृतिक धरोहरलाई सम्मान गर्नुपर्छ, तिनैलाई बढावा दिनुपर्छ भन्ने हेतुका साथ यो लेखियो । यसर्थ हाम्रै माटोको कथा भएको कारण यो लोकप्रिय भयो । प्राचीन भएर पनि हाम्रो संस्कृति, परम्परा वैज्ञानिक छ भन्ने कुरा स्वस्थानीले दर्शाउँछ ।

किन माघमै पढिन्छ स्वस्थानी ?

माघ महिना स्नानको लागि निकै महत्वपूर्ण मानिन्छ । स्वस्थानीको एउटा अंग स्नान पनि हो । अलिकति साधना गर्न शारीरिक कठोरता चाहिन्छ । दुःख नगरी पाएको सुखको महत्व हुन्न ।

शास्त्रले निर्देश गरेअनुसार स्वस्थानीको ठूलो महत्व छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म भनेर तोकिएकै छ । माघमा व्रत बस्ने, भगवानको कथा सुन्ने इत्यादि यो अवधिमा गरिन्छ । यो बेलामा गर्‍यो भने कामना पूरा हुन्छ । अर्थात् मानिसले साधना गर्‍यो भने पुग्छ भन्न खोजिएको छ । प्रेरणा दिनका लागि यो भनिएको छ । अरू धेरै पुराना ग्रन्थमा माघ महिनाको स्नानलाई महत्व दिइएको छ ।

भ्रमको चिरफार

हाम्रो समग्र संस्कृतिमाथि चारैतिरबाट हमला भइरहेको छ । हमला हुनुको कारण बुझ्न जरूरी छ । श्री स्वस्थानीमाथि जुन किसिमका कडा अभिव्यक्तिहरू हामी सुन्छौं मलाई लाग्छ, त्यो हाम्रो नेपाली आत्मा बोलेको नै हैन । नेपाली विचार बोलेको होइन । यसमा रहस्य छ ।

कथालाई रोचक र आकर्षक बनाउन ७० वर्षीय शिव शर्मा र ७ वर्षीया गोमा ब्राह्मणी बीचको उमेरको प्रसंग जोडिएको छ । अब हामीले बुझ्नुपर्छ कि परम सुन्दरी पार्वतीले किन शिवकै तपस्या गरिन् भन्ने कुरा । त्यो बुझ्ने हो भने प्रश्न आउँदैन । त्यो बुझ्न नचाहनेले निन्दा गर्छ

हामीले किन स्वस्थानीलाई मान्यौं, किन देवीलाई मान्यौं, किन शक्तिलाई मान्यौं भन्ने कुरा महत्वपूर्ण छ । शिवको अस्तित्वलाई जसले स्वीकार गर्दैन वा ईश्वरको शक्तिको तत्वलाई जसले विश्वास गर्दैन उसले निन्दा त गर्छ नै । उहाँहरूले बुझ्न जरूरी छ । पढ्न जरूरी छ । जसले जुन विषयमा निन्दा गरिरहनुभएको छ त्यसअघि उहाँहरूले के भन्न खोजिएको छ त्यसको अध्ययन गर्नुपर्छ । त्यसको रहस्य बुझ्नुपर्छ ।

कहिले हाम्रो धर्मग्रन्थबारे विरोध हुन्छ, कहिले वेद र कहिले पुराणकै निन्दा हुन्छ । पुराणलाई पनि कतिले कपोलकल्पित भनेको हामीले सुनेका छौं । तर, धर्मग्रन्थको रहस्य के हो, यसले केलाई निर्देशित गरिरहेको छ, यसको मूल नपढिकन निन्दा मात्र गर्ने गरिएको छ । एकथरीले सनातन धर्ममाथि प्रहार गर्ने अभियान चलाएका छन् ।

स्वस्थानीमा नवराजको कथा छ । उनी कसरी राजा भए ? उनी सामान्य परिवारको व्यक्ति । नवराज जस्तो व्यक्तिबाट के कुरा प्रष्ट हुन्छ भने प्रयत्न, साधना र परिश्रम गर्‍यो भने सामान्य व्यक्ति पनि उच्च कुलमा राजासम्म हुनसक्छ

समाजमा स्वस्थानीको आलोचना हुने एउटा प्रसंग छ । ७० वर्षीय शिव शर्मा र ७ वर्षीया गोमा ब्राह्मणी बीचको उमेरको सवाल आइरहन्छ । तर, त्यो उमेर पनि बाहिरी कुरा । यो त कथालाई रोचक र आकर्षक बनाउनका लागि जोडिएको प्रसंग हो । अब हामीले बुझ्नुपर्छ कि परम सुन्दरी पार्वतीले किन शिवकै तपस्या गरिन् भन्ने कुरा । त्यो बुझ्ने हो भने प्रश्न आउँदैन । त्यो बुझ्न नचाहनेले निन्दा गर्छ ।

स्वस्थानीमा नवराजको कथा छ । उनी कसरी राजा भए ? उनी सामान्य परिवारको व्यक्ति । नवराज जस्तो व्यक्तिबाट के कुरा प्रष्ट हुन्छ भने प्रयत्न, साधना र परिश्रम गर्‍यो भने सामान्य व्यक्ति पनि उच्च कुलमा राजासम्म हुनसक्छ । हाम्रो मनुष्य जीवन त्यत्रो गरिमापूर्ण छ भन्ने कुरा त्यस कथाले देखाउँछ । त्यो कुरालाई चाहिं आलोचना गर्नेहरूले किन याद गर्नुहुन्न ? त्यो कुरा याद नगरी उमेरको बेमेलको कुरा मात्र उहाँहरूको विषय हुन्छ ।

व्रतकथाभित्रका स-साना कथा पितृसत्तात्मक छन् भनेर टिप्पणी गर्नेहरू छन् । गोमाको बालविवाह, सतीदेवीको आत्मदाह र वृन्दाको बलात्कारलाई स्वस्थानीको कमजोरीका रूपमा लिन्छन् । तर, सतीको सराप कति महत्वपूर्ण छ त्यसलाई ख्याल गरिएको छैन । जसले बलात्कार गर्‍यो ऊ पछि गएर घाँस, ढुंगामा परिणत भयो । त्यसकारण कसैले कसैको सतीत्वको हरण गर्नुहुँदैन, कसैको चरित्रमाथि हनन गर्नुहुँदैन । यदि गर्‍यो भने ठूलो सजाय पाउँछ, चाहे देवता नै किन नहोस् ढुंगामा परिणत हुन्छ भन्ने सन्देश दिन खोजिएको छ । यति ठूलो सजायबारे किन चर्चा हुन्न ? कुनै पनि चरित्रको जब चित्रण हुन्छ, त्यो चरित्र चित्रणमा के पाइन्छ भने राम्रो गर्दा त्यसको सम्मान हुन्छ, बलात्कार गर्‍यो, चोरी गर्‍यो, हिंसा गर्‍यो भने त उसले सजाय पाएकै छ ।

स्वस्थानीमा दानवहरूको अन्त्य दुःखदायी भएको छ । विष्णुले छल गर्दा उनले आफ्नो लोक छाडेर धरतीमा आएर ढुंगो र घाँस भएर बस्नुपर्‍यो । देवताले त त्यो सजाय भोग्नुपर्‍यो भने मानिसले नराम्रो फल भोग्नुपर्छ भनेर शिक्षा दिनका लागि उदाहरणका रूपमा आएको हो ।

स्वस्थानीमा सबै चरित्रले मानव जीवनको उत्कर्षतिर लैजाने शिक्षा दिएका छन् । हामीले कहिल्यै नराम्रो काम गर्नुहुँदैन असल काम गर्नुपर्छ भनिएको छ । ग्रन्थभित्र पस्नुस् तर सुनेको कुरामा धारणा नबनाउनुस् भन्ने मेरो उहाँहरूलाई आग्रह छ ।

त्रुटि नै हेर्ने हो भने सबैमा निकाल्न सकिन्छ । आस्था भए आस्था राखेर हेरौं आस्था नभए निष्पक्ष भएर हेरौं भन्ने मेरो आग्रह छ । आलोचना गर्न पाइने हाम्रो सनातन धर्ममा मात्र छुट छ । अरू धर्ममा छुट छैन । कुनै एउटा सम्प्रदायको व्यक्तिलाई आलोचना गर्दा युरोपमा कति ठूलो घटना भइरहेका छन् ? ती हामीले देखिरहेका छौं । हाम्रो सनातन परम्परा नरम छ ।

स्वस्थानीमाथि अमेरिकी नागरिकहरूले पीएचडी गरेका छन् । यो बुझ्नुपर्छ कि स्वस्थानी भनेकै नारी हो । नारीशक्तिको पूजा गर, भगवतीको आरधना गर भनेर कथाले भनेकै छ ।

संस्कृतकै कुरा गर्ने हो भने पिताभन्दा माता हजार गुणा माथि छिन् । मातृदेवो भवः त्यसकारण भन्ने गरिन्छ । मातालाई देवतासमान मान भन्ने गरिन्छ । नारी र पुरुष समान हुँदाहुँदै पनि कतिपय ठाउँमा पुरुषले नारीलाई सम्मान गर्नुपर्ने र कतिपय प्रसंगमा नारीले पुरुषलाई जिम्मा दिनुपर्ने अवस्था हाम्रो सृष्टिको प्रक्रियामै छ । यसलाई हामीले बदलेर बदलिन्न ।

सम्मानको हिसाबमा स्वस्थानीमा नारीकै बढी सम्मान छ । नेपालमा समावेशिताको कुरा गर्दा ३३ प्रतिशत नारीको सक्रिय सहभागिताको कुरा आउँछ । तर, त्यो सरासर अन्याय हो । त्यसमा ३३ नभई ५० प्रतिशत नै हुनुपर्छ । स्वस्थानीलाई केलाएर पढ्ने हो भने नारी समानताको कुरा बुझ्न सकिन्छ ।

कति सत्य कति काल्पनिक ?

स्वस्थानीका सचेत पाठकहरू निकै छन् । यसमा सत्यता र काल्पनिकताबारे पनि प्रश्न उठिरहन्छ । श्रीमद्भागवत कथालाई नै कतिपयले काल्पनिक भन्छन् । यद्यपि, म सत्य भन्छु । हामीले यसलाई काल्पनिक सत्यको रूपमा लिनुपर्छ ।

लावण्य देश नै किन बन्यो, मन्दिर किन बन्यो, शक्तिपीठ नै किन बन्यो ? त्यो खास खास कुरा अलग हो । समग्रमा श्री स्वस्थानी व्रत कथाको सैद्धान्तिक पक्ष सत्य हो । पुराणलाई कसैले कल्पना वा असत्य मान्छ भने त त्यो उसको सोचाइमा समस्या हो ।

स्कन्द पुराण, कुमार अगस्त्य संवादबाट स्वस्थानीमा प्रसंगहरू झिकिएका छन् । हुबहु भने छैन । स्कन्दपुराण, पात्रको कुरा, घटनाको कुरा तलमाथि परेको होला तर पात्रलाई कसैले तलमाथि पारेको होला । त्यसको वस्तुगत तथ्य बिराइएको छैन । सत्य शाश्वत छ । यो काल्पनिक र मनगढन्ते होइन । यसले मानिसलाई बिगार्ने हैन बरु सही सच्चा कर्म गर्न निर्देश दिन्छ । मातृभूमि, संस्कृतिको सम्मान गर्ने उपदेश स्वस्थानीले दिन्छ ।

अलौकिक शक्तिका कुरा स्वस्थानीमा आउँदा हामीलाई काल्पनिक लाग्न सक्छन् । तर, काल्पनिक होइन भन्ने एउटा उदाहरण दिन्छु । यो जगतको सिर्जना कसले गर्‍यो ? हाम्रो धर्म बुझ्न, दर्शन बुझ्न जरुरी छ । हामीले पूजापाठ वा व्रत मात्र बुझेर हुँदैन । पछाडिको पृष्ठभूमि बुझ्नुपर्छ । अहिले कैयौं ठूला भवन बनेका छन् । त्यो कसैले बनाएको हो । बनाउने एउटा व्यक्ति छ, त्यसको कल्पना गर्ने एउटा व्यक्ति छ । त्यसमा ज्यामीको काम गर्ने अर्को व्यक्ति छ, उपयोग हुने सामान अर्कोथरी छ । त्यस्तै एउटा सानो कलम वा सियो पनि कसैले बनाएको छ ।

यी त हामीलाई थाहा छन् । तर, थाहा नभएको कुरा यो पहाड कसले बनायो ? नदी, झरना, चराचुरुंगी कसले बनायो ? सारा पात एउटै रङ एउटै बुट्टा कसले बनायो ? नबनाई केही हुँदैन । कर्ता विनाको कार्य हुँदैन । त्यस्तै जगतमा एउटा नदेखिने शक्ति छ । त्यो शक्तिलाई हामीले चिन्न सकेका छैनौं ।

कहिल्यै पशुपति नगएका मानिस अन्तिम समयमा पशुपति गएका छन् । आखिर अन्तिम सत्य त रहेछ भनेर त देखियो नि ! यो कुरा शुरुमै थाहा पायो भने मानिसले राष्ट्रमा नै सकारात्मक योगदान दिन सक्छ । ‘आखिर श्रीकृष्ण रहेछ एक’ भनेर अन्तिममा त भन्नैपर्छ । आर्यघाट पुगेर भन्नैपर्छ ।

(प्रस्तुतिः समर्पण श्री)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.