निर्वाचन सम्पर्क व्यक्ति समयमै तोक्न स्थानीय सरकारलाई संघीय सरकारको आग्रह – Nepal Press

निर्वाचन सम्पर्क व्यक्ति समयमै तोक्न स्थानीय सरकारलाई संघीय सरकारको आग्रह

निर्वाचन सम्पर्क व्यक्तिको कार्य विवरण पनि आयोगले तोक्यो

काठमाडौं । सरकारले बैशाख १७ र २७ गतेका लागि तय गरेको प्रतिनिधि सभाको निर्वाचन सम्पर्क व्यक्ति तोक्न सबै स्थानीय सरकारलाई आग्रह गरेको छ ।

७७ वटै जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई सम्पर्क व्यक्ति तोक्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आग्रह गरेको हो ।

निर्वाचन अयाोगले सवै स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोक्न पत्रमार्फत आग्रह गरेपछि मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई परिपत्र गरिसकिएको मन्त्रालयका प्रवक्ता समेत रहेका सह–सचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

स्थानीय स्तरमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेष गर्ने लगायका कार्य सञ्चालन गर्न मन्त्रालयमार्फत स्थानीय तहलाई आग्रह गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता समेत रहेका सूचना अधिकारी कोमल धमालाका अनुसार आयोगबाट तोकिएका कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सबै स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाका प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोक्न भनिएको छ ।

सबै स्थानीय तहमा त्यसै अनुसार निर्वाचन सम्पर्क व्यक्ति तोकेर आयोग र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउन पनि भनिएको उनले बताए ।

निर्वाचन सम्पर्क व्यक्तिको कार्य विवरण के हो ?
आयोगका अनुसार स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा दर्ता हुन आएका विवरणमध्ये मतदाता नामावली अद्यावधिक कार्यका लागि आवश्यक पर्ने विवाह दर्ता, मृत्यु, बसाईसराई जस्ता विवरण

आफ्नो स्थानीय तहका वडा कार्यालयबाट प्राप्त गरी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निरन्तर पठाउने र आफ्नो तहको निर्वाचनसँग सम्बन्धित क्रियाकलापको अभिलेख व्यवस्थित रुपमा राख्ने जिम्मेवारी निर्वाचन सम्पर्क व्यक्तिलाई दिइएको छ ।

स्थानीय तहमा सञ्चालन हुने मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य, मतदाता शिक्षा, तालिम, सचेचता, अन्तरक्रिया जस्ता निर्वाचनसँग सम्बन्धित कार्यक्रममा खटिएका

कर्मचारीलाई सहयोग तथा समन्वय गर्दै स्थानीय तहका सामुदाकि संस्था, टोल विकास संस्था, उपभोक्ता समिति, सहकारी संस्था, सामुदायिक सिकाई केन्द्र लगायत समुदायमा आधारित संस्थाका कार्यक्रममार्फत समेत निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न गराउन प्राथमिकताका साथ पहल गर्ने निर्वाचन व्यक्तिको कार्य विवरणमा उल्लेख गरिएको छ ।

स्थानीय तहका मतदातालाई आयोगका कार्यक्रम, गतिविधि, सन्देश र सूचनाको उपयुक्त विधि र प्रविधिको प्रयोग गरी जानकारी गराउने र आफ्नो कार्यालयको सूचना वोर्डमा सूचना राख्ने,

अयोगले वितरण गर्ने मतदाता परिचयपत्र लगायत मतदाता सचेतना सम्बन्धि सामग्रीको वितरणमा आवश्यक समन्वय र सहजीकरण गर्ने काम पनि सम्पर्क व्यक्तिलाई नै तोकिएको छ ।

स्थानीय तह अन्तरगत निर्वाचनमा लैंगिक तथा सामावेशी क्रियाकलाप पहिचान गरी जिल्ला निर्वाचन कार्यालयको समन्वयमा कार्यक्रम सञ्चालन गर्नुका साथै आफ्नो स्थानीय तहमा आयोगको लैंगिक सम्पर्क व्यक्तिको रुपमा समेत काम गर्न भनिएको छ ।

आयोगका निर्णय बमोजिम सञ्चालन हुने घुम्ती मतदाता दर्ता कार्यक्रम, घुम्ती निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम, विद्यालयमा सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रम,

सीमान्तकृत वर्गका लागि आमपहुँच कार्यक्रम जस्ता कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याउनुका साथै निर्वाचनका सबै चरणमा निर्वाचन सम्पर्क विन्दुका रुपमा काम गर्न र क्षमता विकास, प्रशिक्षण, अन्तरक्रिया, तालिम जस्ता कार्यक्रममा निर्वाचनको स्रोत व्यक्तिका रुपमा काम गर्न पनि भनिएको छ ।

स्थानीय तहभित्र रहेका मतदात स्थल तथा मतदान केन्द्रको पूर्वाधार विकास गर्न, स्तरोन्नति गर्न र अपांगमैत्री बनाउन स्थानीय तहको वार्षिक कार्यक्रममा समावेश गर्न पहल गर्ने, र निर्वाचनसँग सम्बन्धित सबै गतिविधिका बारेमा

आयोगमा नियमित रिपोर्टिङ गर्ने तथा समय समयमा आयोग तथा जिल्ला निर्वाचन कार्यालयले तोकेका अन्य काम गर्ने जिम्मेवारी पनि सम्पर्क व्यक्तिलाई तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर