बुवाको स्मृतिमा शक्ति गौचनले शुरु गरे क्रिकेट प्रतियोगिता – Nepal Press

बुवाको स्मृतिमा शक्ति गौचनले शुरु गरे क्रिकेट प्रतियोगिता

रुपन्देही । पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले आफ्ना स्वर्गीय बुवाको सम्झनामा क्रिकेट प्रतियोगिता शुरु गरेका छन् । उनैको संयोजनमा रुपन्देहीको भैरहवामा बुधबारबाट तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको हो ।

स्व. खड्गप्रसाद गौचन क्रिकेटर शक्तिका बुवा हुन् । क्रिकेटर गौचनले राष्ट्रिय खेल जीवनबाट संन्यास लिए पनि क्रिकेट क्षेत्रको विकासमा केही गरौं भन्ने हेतुले काम गरिरहेको बताए । यो प्रतियोगिताको आयोजक भने स्टार क्रिकेट एकेडेमी पड्सरी रहेको छ ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा आज भएको पहिलो खेलमा पोखरा क्रिकेट एकेडेमीले रुपन्देही ११ लाई ३ रनले पराजित गर्यो ।

टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २५ ओभरको खेलमा २३ ओभरमा अलआउट हुँदै ७५ रन बनायो । जवाफमा रुपन्देही ११ ले ९ विकेट गुमाएर ७२ रनमै समेटियो । खेलमा म्यान अफ द म्याच सिब्रिन श्रेष्ठ घोषित भए ।

भोलि पहिलो खेल साई ग्लोबल एकेडेमी र काशी नोबल एकेडेमीबीच तथा दोस्रो खेल पोखरा र न्यू होराइजनबीच हुनेछ । ८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।

उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेस्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए ।
पहिलो संस्करण विद्यालयस्तरीय रहेकोमा दोस्रो संस्करण रुपन्देही जिल्लास्तरीय आयोजना गरिएको थियो । तेस्रो संस्करणलाई राष्ट्रियस्तरमा आयोजना गरिएको हो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले खेल क्षेत्रको विकासमा प्रदेश सरकार सदैव दृढ भएर लाग्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर