विश्वविद्यालयको सम्पदाप्रेम – Nepal Press

विश्वविद्यालयको सम्पदाप्रेम

विश्वविद्यालय ज्ञान, प्रज्ञान र विचारको संगम हो । यसको कार्यक्षेत्र विस्तृत छ । यद्यपि नेपालको सन्दर्भमा विश्वविद्यालयहरूले औपचारिक अध्ययनलाई नै केन्द्रमा राख्दै आएका छन् । उसको काम केवल विद्याको सर्टिफिकेट वितरण गर्ने निकायजस्तो बन्दै गएको देखिन्छ ।

तर, काठमाडाै‌ विश्वविद्यालय औपचारिक अध्ययनको परिधिबाट निकै पर फैलिएको छ । राष्ट्रका प्रमुख सम्पदा संरक्षण र कलाको विकासमा निरन्तर काम गर्दै आएको छ । जीर्ण बनेका सम्पदा संरक्षण, लोकबाजा, साहित्यकारका घर संरक्षणमा विश्वविद्यालय नेतृत्व नै लागिपरेको छ ।

युरोपबाट सुरु भएको ‘म्युजिकोलोजी’ भन्ने विषय विस्तारै संसारभर लोकप्रिय हुन थालेको अवस्था छ । जब यस विषयको सुरुवात भयो त्यतिबेला केही ऐजेन्डाहरू निर्मित भएका थिए । संगीतको विकास र वृद्धिकै निम्ति सुरु गरिएको यस विषयको मूल लक्ष्य भनेको नै सांगितिक बाजा तथा विविध सांगीतिक विधाहरूको संरक्षण थियो । त्यसैको लागि अनेकौं अनुसन्धान हुन थाल्यो ।

यही उद्देश्यका साथ काठमाडौं विश्वविद्यालयले कला तथा संगीतको लागि छुट्टै विभाग बनायो । जसको अभिभाकत्वद्धारा अहिले नेपालमै हालसम्म नगरिएका कामहरू भइरहेका छन् । विभागको प्रमुखको रूपमा डा।लोचन रिजालले कार्यभार सम्हालेको निकै लामो समय भइसकेको छ । विश्वविद्यालयका निवर्तमान उपकुलपति डा। रामकण्ठ मकजु श्रेष्ठको निर्णयक भूमिका रहेर कला संरक्षणका विविध कार्य अघि बढेको पाइन्छ ।

त्रिपुरेश्वरमा रहेको ललित त्रिपुरा सुन्दरीद्वारा र्निमित त्रिपुरेश्वर महादेवको मन्दिर निकै जीर्ण अवस्थामा थियो । महाभूकम्प २०७२ पश्चात् झनै जीर्ण भएको त्यस स्थलको नेपाली संस्कृति र संगीतमा ठूलो महत्त्व छ । त्यसै अनुरूप काठमाडौं विश्वविद्यालय र डा।श्रेष्ठकोे अगुवाइमा यसको पुनर्निर्माण कार्य सुरु भयो । दुईसय वर्षको इतिहास बोकेको त्रिपुरासुन्दरी मन्दिर क्षेत्र अब संस्कृति र संगीतको आधुनिक थलो हुने भयो ।

संगीत केबल मञ्चमा बजाउनको लागि मात्र होइन भन्ने अभिप्रायका साथ म्युजिकोलोजीले यसका धारहरू बनाएको हो । यसको सम्बन्ध समय काल र परिस्थितिसँग उत्तिकै प्रगाढ रूपमा गाँजिएको छ भन्ने कुरा आम मर्मज्ञहरूले बुझ्न जरुरी देखिन्छ । समय फेरिन्छ यस सँगै संगीतका प्रकारहरू रूचाउने सिमित वर्ग फेरिन्छन् तर संगीत भने यदाकदा बाँचिरहन्छ ।

त्यसै कुराको आधार लिएर संगीतका मानवशास्त्रहरू बारे आजभोलि अध्ययन भइ नै रहेको छ । मानिसहरूले कुन कालखण्डमा कुन किसिमका संगीत रूचाइरहेका छन् भन्ने कुरालाइ नै संगीतको मानवशास्त्रसँग जोड्न सकिन्छ । शास्त्रीय रूपमा समाज, मानव सबैसँग मिश्रित रहेर बाँच्ने माथिल्लो ओहोदाको विधा हो संगीत ।

यस्तै बुँदागत महत्त्व तथा ऐतिहासिक महत्त्व बोकेको सम्पदाहरूमा जीवन हालिरहेको छ काठमाडौं विश्वविद्यालय । ‘ललित त्रिपुरा सुन्दरी’द्वारा र्निमित त्रिपुरेश्वर महादेवको मन्दिर निर्माणधीन छ । यसको लागि विश्वविद्यालयले आर्थिक, सामाजिक, भौतिक हरेक कोणबाट अनुसन्धान गरी सो काम गरिरहेको छ । हाल ७० प्रतिशत काम सकिएको र आगामी ११ महिनाभित्र पूर्ण काम सकाउने विश्वविद्यालयको लक्ष्य छ । यो जानकारी दिँदै गर्दा काठमाडौं विश्वविद्यालय संगीत विभाग प्रमुख डा. रिजाल निकै भावुक देखिन्थे । उपकुलपति डा‍. रामकण्ठ मकजु श्रेष्ठप्रति नतमस्तक हुँदै रिजाल सम्मान भावहरू प्रकट गर्ने बिन्दुमा उभिएका थिए ।

उपकुलपति डा. श्रेष्ठ आफैंमा एक वरिष्ठ सर्जन हुन् । मेडिकल विषयका मानिस भएर कला, संस्कृति र इतिहासप्रतिको यो मोह र काम गर्ने अठोट हामी सबैको निम्ति निकै सुखद आश्चर्य पनि हो । उहाँकै पहलमा यस मन्दिर पुनर्निर्माणको निम्ति थाइ सरकारबाट निकै बलियो आर्थिक सहयोग पनि भएको छ । यसको डिजाइन, सम्पूर्ण विस्तृत विवरण र डिपिआर तयार गर्नको निम्ति केभिपिटिको सहयोग रहेको छ । केभिपिटि अर्थात् ‘काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट’ ।

अमेरिकी मातहतमा रहेको यस कम्पनीलाई अहिले डा। रोहित रञ्जितकरले आफ्नो अगुवाइमा चलाइरहेका छन् । यस कार्यको निम्ति लाग्ने जनशक्ति, खर्च र समयको अनुमानित विवरणहरू सो कम्पनीकै सहयोगमा बनेको हो ।

सम्पदा जोगाउन यदि विश्वविद्यालयहरू नै लाग्ने हो भने कार्य सम्पन्न भएपश्चात् पनि निकै राम्रो हेरचाह यी सम्पदाहरूले पाउँछन् भन्ने कुरामा खास दुविधा रहँदैन पनि । कुन अर्थमा भने, विश्वविद्यालयहरू यसको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बुझ्न सफल हुन्छन् ।

करिब दुई वर्षदेखि निरन्तर रूपमा त्यहीँ बसेर संयोजकको भूमिका निर्वाह गरिरहेका छन् विभागीय प्रमुख डा।रिजाल । संगीतकार तथा प्राध्यापक रिजालले यस कार्यलाई उद्घाटन गर्नकै निम्ति केही पूँजी संकलन गरे । कन्सर्ट, सांगितिक विर्मशहरूबाट केही पूँजी संकलन गरेका डा।रिजाल यो कार्य सम्पन्न गर्नको निम्ति आफ्नो सर्वस्व समय लगानी गरिहेका छन् ।

समयको कालखण्डमा केही चिजहरू केहीभन्दा कम हुँदैनन् । तर यी कुराहरू बारे जानकारी भएन भने हामीले डा।श्रेष्ठ र डा।रिजालजस्ता व्यक्तिहरूलाई सम्मान गर्न पाउँदैनौं । प्रचारबाजीमा तल्लीन हुने निकै ठूलो जमातले मात्र वाहावाही पाउँछन् । यद्यपि, यस्तै छ समाज ।

बन्दैछ बालकृष्ण समको जीर्ण घर

नाट्यसम्राट बालकृष्ण समको जीर्ण भएको घरलाई ‘सम सेन्टर’ बनाउने अभिप्राय लिएर अघि बढेको छ काठमाडौं विश्वविद्यालय । त्रिपुरेश्वरको काम अन्तिम चरणमा रहँदै गर्दा हालै काठमाडौ विश्वविद्यालयले बालकृष्ण समको जीर्ण भएको घरलाई पुरानै ढाँचामा सम सेन्टरमा रूपान्तरण गर्न लागेको हो । तमाम कलाप्रेमीहरूको निम्ति यो अत्यन्तै सुखद समाचार ठहरिएको छ । समको घरलाई आम कलाप्रेमीहरू समक्ष खडा गर्नको निम्ति ‘केयू’ले गरिरहेको काम अत्यन्तै प्रशंसनीय छ ।

भोलि हरेक कलाप्रेमीहरूको लागि खुला रहने स्थल बन्नेछ, सम सेन्टर । कार्यशाला, सांगीतिक विमर्श तथा अनेक कार्यको निम्ति सधैं खुला रहने सम सेन्टरले जीवन पाउनु भनेको आम कलाप्रेमीले आनन्दमय सास फेर्नु हो ।

आइतबार भएको भेटघाटमा यस ठाउँले कला प्रर्बधनको निम्ति नेपाली वाङ्मयमा ठुलो सहयोग पुर्याउने तर्क राख्दै देखिनुभयो कलाकार सुनिल थापा । लेखक कुमार नगरकोटी, कलाकार सुनिल थापा, गौरव पहाडी, डा. रिजाल र उपकुलपति ड. श्रेष्ठलगायत पत्रकारहरूको उपस्थिति रहेको सो भेलामा काठमाडौ विश्वविद्यालयको काम निकै उल्लेखनीय रहेको सबैले आफ्नो मन्तव्य राख्दा बताए । यी आदरणीय समुदायको उपस्थिति रहेर यस्ता कामहरू हुने हो भने हाम्रो इतिहास र संस्कृतिको भविष्य निकै राम्रो हातमा छ भनेर हामी सुनिश्चित हुन सक्छौं ।

यसरी काठमाडौं विश्वविद्यालय, निवर्तमान उपकुलपति डा। श्रेष्ठ र विभागीय प्रमुख डा। रिजाललाई मनभरिको कृतज्ञता ज्ञापन गर्दै सम्पदा संरक्षणको कामको सफलताको निम्ति हार्दिक बधाई तथा शुभकामना !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.