प्रचण्डले सूर्य चिन्ह मागेको माधव नेपालको चित्त बुझाउन मात्र हो – Nepal Press
नेपाल टक

प्रचण्डले सूर्य चिन्ह मागेको माधव नेपालको चित्त बुझाउन मात्र हो

बेलैमा एमाले दर्ता गरेर ठिकै भएछ, अरु कसैले दुरुपयोग गर्न पाउदैनन्

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई जस्तोसुकै परिस्थितिमा पनि आडभरोसा दिने र आँखा चिम्लेर समर्थन एवं बचाउ गर्ने नेता–कार्यकर्ताको एउटा बलियो पंक्ति छ । त्यही पंक्तिभित्रका एक चर्चित हस्ती हुन् महेश बस्नेत

संसद विघटन र नेकपा विभाजनपछि बस्नेतलाई अहिले निकै दौडधुप छ । उनले पछिल्ला केही दिनमै दुई दर्जनभन्दा बढी जिल्लाको दौडाहा गरे । ओलीले चालेको कदम कसरी बाध्यात्मक थियो, र ओली नेतृत्वको समूह नै नेकपाको मूलधार हो भन्ने स्थापित गर्न उनी खटिएका छन् ।

हामीसँगको कुराकानीमा बस्नेत निकै उत्साही देखिन्थे । आफूहरूले पहिले सोचेजस्तो ओलीविरोधी माहोल ‘ग्राउन्ड’ मा नरहेको निष्कर्ष सुनाउँदै उनले भने, ‘तल हाम्रो शक्ति खासै क्षय नभएको पाएँ, कार्यकर्ता निकै उत्साहित ढंगले परिचालित छन् ।’

बस्नेतले पार्टी विभाजन नहुँदै नेकपा एमाले दर्ता गर्न आफ्नो भूमिका रहेको परोक्ष रूपमा स्वीकारेका छन् । त्यसबेला पार्टी दर्ता गरेको ठीकै भएछ भन्ने अहिले लागिरहेको उनले बताए ।

प्रस्तुत छ, बस्नेतसँग गरिएको विस्तृत कुराकानीको सम्पादित अंशः

प्रचण्डकै भाषामा भन्ने हो भने तपाईं हाँस्दै, मुस्कुराउँदै, उत्सव मनाउँदै हिंड्नुभएको छ । तपाईं आफैं विघटित प्रतिनिधिसभाको सदस्य पनि, अलिकति पनि गलत भयो भन्ने लाग्दैन ?

प्रधानमन्त्रीसामु प्रतिनिधिसभा विघटनको जुन बाध्यात्मक अवस्था सिर्जना भयो, त्यसका पछाडि कारणहरू के–के थिए ? त्यसको गर्भमा कस्ता खालका षड्यन्त्र, जालसाजी र चलखेल थिए भन्ने कुरा हिजो पार्टी एकताबद्ध भइरहँदा ‘एक्सपोज’ गर्न सकिरहेका थिएनौं । यी तमाम यथार्थ बाहिर नआएका कारण कतिपय मिडिया, सोसल मिडियाले त्यसलाई अझ धेरै विस्तार र प्रचार गरेको अवस्था थियो ।

प्रारम्भिक चरणमा प्रधानमन्त्रीको कदमको पक्षमा बोल्ने मान्छेहरूको साँच्चिकै अभाव थियो । जतिसुकै तीतो भए पनि अब हामीले यथार्थ कुरा स्वीकार गर्नुपर्छ र जनताको बीचमा त्यो विषयसँग जोडिएका भ्रम चिर्नुपर्छ भन्ने हिसाबले एउटा अभियान चलाइयो ।

भ्रम चिर्ने अभियान हो कि पार्टी विभाजनपछिको पुनर्गठन अभियान ?

दुवै कुरा सँगसँगै जान्छ । प्रारम्भिक चरणमा हामीले भ्रम चिर्ने अभियानका रूपमा लग्यौं । तर, हाम्रो सोचाइ भन्दा ‘ग्राउन्ड’ मा बिल्कुल फरक रहेछ । २०५४ सालमा एमाले विभाजनपछि हामी गाउँ–गाउँमा जाँदा महाकाली सन्धिदेखि लिएर मदन भण्डारी हत्याकाण्डसम्मका धरै प्रश्न कार्यकर्ताका मनमा थिए । अहिले हामी तल जाँदा प्रश्नहरू खासै छैनन् । सारमा मान्छेहरूले बुझेका छन्– केपी ओलीले समृद्ध नेपालको नेतृत्व गरेका थिए, भ्रष्टाचार नियन्त्रण गर्न खोजेका थिए र अपराधीलाई तह लगाउन खोजेका थिए ।

माधव नेपाल र प्रचण्डलाई जेल हाल्न पनि खोज्नुभएको रहेछ नि ?

त्यो चाहिं उहाँहरूलाई ‘वनको बाघले होइन मनको बाघ’ ले खाएको जस्तो लाग्छ । कतै काम गर्ने दौरानमा गल्ती, कमजोरी गर्नुभएको छ भने मनको बाघले खाएको हुन सक्छ । केपी शर्मा ओलीले कुनै त्यस्तो योजना बनाउनुभएको भन्ने मलाई लाग्दैन ।

अल्पमतमा परेपछि नेतृत्व छोड्ने कि पार्टी फुटाउने भनेर जनताले सोधेका छैनन् ?

केपी अल्पमतमा पर्नुभयो भन्ने कुरा प्रचण्ड र माधव कमरेडले कुनै तथ्यले पुष्टि गर्न सक्नुभएको छैन ।

उहाँहरूले भनेअनुसार निर्वाचनमा ३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउनुभएको छ । र, संसद विघटन हुँदाका दिन उहाँहरूले संसद सचिवालयमा पेश गरेको ९० जना सांसदको हस्ताक्षर पनि प्रमाण होइन ?

जो कुरा बाहिर आएको छ, त्यसलाई भोलि निर्वाचन आयोगले सनाखत गर्ला, छलफल गर्ला । एकदम सरल भाषामा बुझ्दाखेरी संसदीय दलमा उहाँहरूको बहुमत थियो भने अविश्वासको प्रस्ताव प्रधानमन्त्रीलाई होइन कि संसदीय दलको नेतालाई हाल्नुहुन्थ्यो । संसदीय दलको नेतालाई अविश्वासको प्रस्ताव नराखी प्रधानमन्त्रीलाई राख्ने भनेको गैरसंसदीय अभ्यास हो ।

संसदीय व्यवस्था, लोकतन्त्रको उहाँहरूले वकालत गर्दै हुनुहुन्छ । पार्टीभित्रको गतिरोध हल गर्न उहाँहरूले संसदीय दलको नेता फेर्नुपर्ने हो । कांग्रेस र जनता समाजवादी पार्टीको विद्रोही पक्षसँग साँठगाँठ गर्ने कोशिश गर्नुभयो । यसरी अलोकतान्त्रिक विधि र पद्धति अपनाउन खोज्नुले उहाँहरू चाहिं अल्पमतमा हुनुहुन्छ भन्ने स्पष्ट हुन्छ । केन्द्रीय कमिटीमा उहाँहरूले बहुमत भन्दै हुनुहुन्छ, तर मलाई लाग्छ, आधिकारिकता पेश गर्नुपर्ने बेलासम्म उहाँहरूको बहुमत रहँदैन ।

साविकको केन्द्रीय कमिटीमा पनि उहाँहरूको बहुमत पुग्दैन त ?

मेरो तर्क हो यो । किनभने हिजो महाधिवेशनबाट आएको कमिटी होइन । कुनै लोकतान्त्रिक विधि अनुसार वा अधिवेशन, सम्मेलन, भेलामार्फत अनुमोदित होइन । पार्टी एकताको बेला दुइटा अध्यक्षले (माधव कमरेडलाई समेत भाग दिएर) बाँडेको हो । त्यो आधारमा व्यक्तिसँग जोडिएका, व्यक्तिका पुच्छरहरूसमेत जोड्दाखेरी बहुमत पुग्छ भन्ने उहाँहरूको तर्क होला । जब पार्टी विभाजनको एउटा गम्भीर मोडमा हामी पुग्यौं, मलाई लाग्छ माधव–प्रचण्ड कमरेड तत्कालीन नेकपाको बहुमत ‘होल्ड’ गर्ने स्थितिबाट हट्दो अवस्थामा हुनुहुन्छ । जस्तो, एक नम्बर प्रदेश, वागमती प्रदेशमा परिस्थिति एक ढंगले विकास भइरहेका छन् । आन्तरिक रूपमा मैले धेरै घटनाक्रम विकास भइरहेको देख्छु ।

दुई-चार जना सांसदले, एक-दुई जना केन्द्रीय सदस्यले हस्ताक्षर गरे होलान् । तर, यो त १००/१५० संख्याको कुरा पो हो त ! त्यसो हुने भए अहिले किन केपी ओलीले १५००/१९०० को केन्द्रीय कमिटी बनाउनुपथ्र्यो र ?

महाधिवेशन आयोजक कमिटीको हैसियतले केन्द्रीय कमिटीको विस्तार भएको हो । पार्टी, आन्दोलन र राजनीति बचाउनुपर्ने दायित्व केपी ओलीमा आइसकेपछि चालिएको कदम हो । तीन वर्षदेखि हाम्रा कार्यकर्तालाई ‘फ्रिज’ गरेर राखिएको थियो । गतिहीन, भूमिकाहीन पार्टी पंक्तिलाई चलायमान बनाउन र नयाँ गति दिनका लागि यो विस्तार गरिएको हो । यो एउटा सामान्य प्रचलन पनि हो ।

तपाईंहरूको चाहना भनेको सके सूर्य आफैं लिने, नसके ‘फ्रिज’ गराउने नै होइन त ?

सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले नै प्राप्त गर्छ । प्रचण्डले पार्टीको नयाँ नाम र नयाँ चिन्ह लिएर जाने हो भने राजनीतिमा अझै इमानदारिता बाँकी रहेछ भन्ने देखिन्छ । उहाँले लोकलाजको लागि अथवा माधव नेपालको चित्त बुझाउनका लागि सूर्यको पक्षमा वकालत गरिरहनुभएको पनि होला ।

प्रचण्डले सूर्य चिन्ह नपाए त कयामत ल्याउँछु भन्नुभएको छ नि ?

उहाँले कयामत ल्याउँछु भन्नुभयो । धेरैले उहाँको यो भनाइलाई हाँसोको विषय बनाए । उहाँले कुण्ठा पोखिरहनुभएको छ । कहिले कयामतको कुरा आइरहेको छ, कहिले टाउको फुटाउन मन लागेको कुरा गरिरहनुभएको छ । यो अराजकतावाद अवसरवादमा र अवसरवाद पलायनवादमा परिणत हुन्छ । यो श्रृंखलाको अन्तिम अवस्थामा कमरेड प्रचण्ड हुनुहुन्छ । हिजो मान्छे काट्ने कुरा गर्नुहुन्थ्यो । त्यसपछि खुट्टा काट्ने चरणमा प्रवेश गर्नुभयो । अहिले कुरा काट्ने चरणमा पुग्नुभएको छ । मलाई लाग्छ, प्रचण्ड कमरेडको उग्रवाद र अराजकतावादको अन्तिम श्रृंखलाका दृश्य हामी देखिरहेका छौं ।

माथि हेर्दाखेरि पूर्वएमाले सर्लक्कै फुटेको देखियो । ‘ग्राउन्ड’मा जाँदा पनि त्यही स्थिति हो कि फरक छ ?

पहिले कुरा त माथिल्लो तहमा पनि साविक एमाले ५०–५० प्रतिशतको हिसाबले फुटेको छैन । यो ८०–२० प्रतिशत, ७०–३० प्रतिशत देख्छु म । तल त अझ त्यो पनि छैन । जस्तो कर्णाली प्रदेशमा माधव कमरेडहरूले आफूलाई बलियो दाबी गर्नुभएको छ । त्यो पनि एकल हिसाबले बलियो होइन कि माओवादीका संगठनको बलले । त्यहाँ पनि हामी त्यति धेरै कमजोर छैनौं । प्रदेश–२ मा हिजो हामी निकै कमजोर थियौं । मलाई लाग्छ, अहिले हाम्रा लागि त्यो धेरै बलियो प्रदेशका रूपमा रूपान्तरित हुँदैछ ।

म तपाईंलाई केही परिदृश्य बताउँछु । माओवादीका शहीद परिवार, पूर्व जनमुक्ति सेनाका ठूलो संख्याले हामीसँग काम गर्न चाहेका छन् । अलिकति विश्वासको वातावरण खोजिरहेका छन् र ठूलो पंक्ति अहिले तटस्थ भएर बसिरहेको छ ।

माधव कमरेडसँग भएका धेरै साथीहरू प्रचण्ड कमरेड हरेक कमिटीमा बहुमत र हामी हरेक कमिटीमा अल्पमतमा परेका छौं भन्न थालेका छन् । प्रचण्ड कमरेडको बहुमतको पेलान खाइसकेपछि माधव नेपाल फर्केलान्न/फर्केलान्, हामी चाहिं फर्किन्छौं भनिरहेका छन् । यो पार्टी जोगाउनुपर्छ भन्ने लागेका नेता-कार्यकर्ता साथीहरूको कुराकानी आउन थालिसकेको छ ।

मलाई लाग्छ– निर्वाचनको बेलासम्म पार्टी विभाजन गरेर जुन हिसाब गरिरहनुभएको छ, तल्लो ग्राउन्डमा त्यो बिल्कुल छैन । केपी ओली पक्षको अवस्था धेरै राम्रो छ ।

हिजो रामहरि श्रेष्ठ हत्याको विरोध गर्दै कालीबहादुर खामलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर कोटेश्वर आन्दोलनको अगुवाई तपाईंले गर्नुभयो । आज रामहरिका परिवार चाहिं तपाईंहरूबाट टाढा, खाम नजिक भइरहेको अवस्था हो ?

माओवादी जनयुद्धमा भएका कुरा १२ बुँदे सम्झौता भइसकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर सेटल गरियो । त्यो बारेमा हामीले धेरै चासो राखेनौं । राज्य पक्ष र माओवादी पक्षबीच भएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ भन्ने नै हाम्रो बुझाइ रह्यो । त्योबाहेक २०६४ सालपछि जब माओवादी एउटा ठूलो शक्तिका रूपमा उदय भयो, त्यसपछाडि मरेको बाघको जुँगा उखेल्ने प्रवृत्ति जुन देखियो, त्यसको हामीले सशक्त ढंगले प्रतिरोध गरेकै हौं ।

रामहरि श्रेष्ठको पनि द्वन्द्वकालमा होइन कि पछि हत्या भएको हो । त्यसलाई हामीले बढो सशक्त ढंगले उठाएकै हौं । त्यो घटनामा संलग्न कालीबहादुर खामलगायतका साथीहरूलाई कारबाहीको कुरा पनि गरेकै हो । माओवादी द्वन्द्वको व्यवस्थापनका लागि पूर्वलडाकूको नाममा शिविरमा भएको हिनामिनामाथि पनि हामीले प्रश्न उठाएकै हो । त्यो शान्ति प्रक्रियाको अंग होइन । त्यो पछाडि भएको हिनामिना हो । त्यसविरुद्ध अख्तियारमा हामीले मुद्दा हालेकै हो । मलाई के लाग्छ भने शान्ति प्रक्रियामा टुंगो लागेका, निरुपण भएका विषय हामी नउठाउँला, त्यसलाई राज्यले सम्बोधन गर्ला । तर, त्यस पछाडि भएका आपराधिक कर्मको हिसाब गर्नैपर्छ र राज्यले कारबाहीको दायरामा ल्याउनै पर्छ । क्रान्तिका नाममा कुनै पनि अपराधी र भ्रष्टचारीलाई संरक्षण दिनुहुँदैन ।

कालीबहादुर खामको व्यक्तिगत कुरा म जान्दिनँ । तर, पूर्व लडाकुहरू र शहीद परिवारको ठूलो पंक्ति सरकारबाट आश गरेर बसेको छ । राहतका लागि लविइङ गरिरहेको छ । उहाँहरूको प्रचण्ड कमरेडप्रति आस्था धुमिल भएको छ । उहाँहरू प्रचण्ड कमरेडलाई साथ नदिने मूडमा हुनुहुन्छ ।

भनाइको मतलब अब तपाईंहरूले पूर्व लडाकुलाई संगठित गर्दै हुनुहुन्छ ?

पूर्व लडाकु, शहीद परिवारको ठूलो टिमले राजनीतिक रूपमा हामीसँग नजिक भएर आउने प्रतिबद्धता जनाउनुभएको छ । मधेशलगायतका हिजो विभिन्न क्षेत्रीय, जातिवादी, अतिवादी मुद्दा बोकेका साथीहरू त्यो विचारबाट मुक्त भएर केपी ओलीको यो राष्ट्र निर्माणको अभियानमा, समृद्ध नेपाल निर्माणको अभियानमा आउने चरण शुरू भएको छ । यो निकै राम्रो लहरका साथ आउँछ ।

पार्टी त फुट्यो । केपी ओली सबैतिर हिंड्न सक्नुहुन्न । अब हिंड्ने, संगठन गर्ने मान्छे तपाईंहरूसँग छैन भनिन्छ । कार्यकर्ता चाहिं कुन ढंगले विभाजित भएका छन् ?

जति तल गयो, त्यति विभाजनको असर कम देखिन्छ । जति माथि आयो, त्यति विभाजित जस्तो देखिन्छ । पिरामिड मोडलमा हाम्रो पार्टीको संगठन छ । प्रधानमन्त्रीको समर्थनमा देखिएका जुलुस र विरोध/आन्दोलनका जुलुसबीच फरक छुट्याउन सकिन्छ । म औपचारिक रूपमा १८ जिल्ला पुगें । ती जिल्ला जाने क्रममा अनौपचारिक ढंगले म २६/२७ जिल्ला पुगेर आएँ । तल हाम्रो जुन पंक्ति, शक्ति थियो त्यो खासै क्षय भएको, क्षति भएको, अलमलमा परेको छैन । त्यो निकै उत्साहित ढंगले परिचालित छ ।

पार्टी दुई फ्याक भइसकेपछि कार्यकर्ता उत्साहित हुँदैमा चुनाव जित्न त सकिन्न होला नि ?

हामीले प्रतिस्पर्धा कांग्रेससँगै गर्ने हो । हिजो जुन जल्दो, जाग्दो कांग्रेस थियो, लामो समय सत्ता स्वाद चाखेको तथा मासमा प्रभुत्व जमाएको कांग्रेसको सांगठनिक अवस्था अहिले कमजोर भएको हुनाले हामीलाई चुनौती दिनसक्ने हैसियत छैन कि जस्तो लाग्छ । डेमोक्र्याट भएका नाममा, कांग्रेससँग जोडिएका नाममा सैद्धान्तिक रूपले कांग्रेसलाई भोट हाल्न जनमत त छँदैछ । तर, आजको कांग्रेसको संगठन र आजका कांग्रेसी नेताको ऊर्जाले हामीलाई मैदानमै आएर टक्कर दिन सक्ने अवस्था म देख्दिनँ ।

तपाईंकै नेतृत्वमा कतिपय ठाउँमा पार्टी कार्यालयहरू कब्जा भए । केन्द्रमा हेर्दा धुम्बाराहीमा तपाईंहरूले ताला लगाइदिनुभयो भन्ने गुनासो माधव नेपालले गर्दै हुनुहुन्छ । तपाईंहरू पार्टीको सम्पत्ति बलजफ्ती कब्जा गर्ने रणनीतिमा हो ?

पहिलेको एमालेका लिगेसी स्वाभाविक रूपमा केपी ओलीसँग हुनेभयो । त्यसो हुनाले साविक एमालेका कार्यालय र सम्पत्ति केपी ओलीको पक्षमा छ । उहाँहरूले सहज रूपमा छोड्नुभएको छ । अलिकति हैसियत भएका ठाउँमा निहुँ खोज्नुभएको हो । उहाँहरूको बुझाइ के छ भने पेरिसडाँडादेखि हिजोको माओवादीको सम्पत्ति र कार्यालयहरू उहाँहरूको हुन्छ र हिजोको एमालेको भौतिक सम्पत्ति केपी ओली समूहको हुन्छ । यसमा एउटा अघोषित सहमति जस्तै भएको छ । भीम रावल कमरेडले तीस लाख झिकेको बाहेक धेरै समस्या होला जस्तो मलाई लाग्दैन ।

त्यो तीस लाख चाहिं माया मार्नुभएको हो ?

त्यो पैसा भीम रावल कमरेडले एमालेको खातामा फिर्ता गर्नुपर्छ भन्ने लाग्छ, यदि नैतिकता हुने हो भने ।

माधव नेपालले भन्नुभएको छ– एमालेको लिगेसी केपी ओलीले होइन, म बोक्छु । छुट्टिंदै गर्दा अंश त लाग्ला नि ?

अंश लाग्ने गरी विभाजन भएन । साविक एमालेभित्रको द्वन्द्वमा प्रचण्डले खेल्नुभयो । मैले कतिपय ठाउँमा उदाहरण पनि दिने गरेको छु– हाम्रो चेलीलाई लिएर जानुभयो, त्यसो गर्दा हाम्रो गोत्र र थर त लिन पाइँदैन । माधव कमरेड प्रचण्ड कमरेडको माओवादी लिगेसीसँग जोडिन जानुभएको हो । त्यसैले साविक एमालेभित्र उहाँहरूले धेरै र्‍याल चुहाउनु र आँखा गाड्नु चाहिं स्वाभाविक नहोला ।

त्यसो भन्ने हो भने त रामबहादुर थापा, टोपबहादुर रायमाझी र प्रभु साहहरू पनि त तपाईंतिर आउनुभएको छ नि ?

हामीले माओवादीको सम्पत्तिमाथि दाबी गरेका छैनौं नि त ! बादल कमरेड र टोपबहादुर कमरेड यता आइरहँदा साविक एमालेको सम्पत्तिबाटै उहाँको व्यवस्थापन गर्छौं । हामीले साविक माओवादीको सम्पत्तिमा कहींकतै आँखा लगाएका छैनौं ।

निर्वाचन आयोगमा तपाईंहरूकै मान्छेले एमाले दर्ता गराएको भन्ने छ । आयोगका सबै प्रक्रिया सकिएपछि अब एमाले ब्युँतिने हो त ?

पार्टीभित्र गम्भीर मतभेद र विभाजनको अवस्थामा आइसकेपछि एमालेलाई माया गर्ने तथा एमालेको लिगेसी भएका साथीहरूले त्यसको रक्षाका लागि त्यो पार्टी दर्ता गरे । दर्ता गर्ने सिलसिलामा मसँग व्यक्तिगत रूपले नजिक भएका साथीहरू पनि त्यहाँ रहनुभयो । तर, त्यो यति ठूलो सोचाइ गरेर गरिएको थिएन । अहिले ठीकै गरिएछ भन्ने लागेको छ । किनभने, साविक एमालेको लिगेसी (अहिले माधव कमरेडले आफू नै ओरिजिनल एमाले हुँ भन्नुभयो) पनि जाने अवस्था रहेछ । साविक एमालेको लिगेसीलाई बचाउनका निमित्त त्यो ठीकै भएको छ ।

तर हामी नयाँ एमाले बनाउन जान परेन । एमाले लिगेसी भएको नेकपा नै केपी ओली नेतृत्वको आधिकारिक पार्टी हुन्छ । यो कुरामा दुईमत छैन ।

भनेपछि एमाले नाम ‘रिजर्भ’ हो ?

रिजर्भ भन्दा पनि एमालेलाई अरूले दुरुपयोग नहोस् भनेर साथीहरूले सुरक्षित तरिकाले राख्नुभएको छ होला जस्तो लाग्छ ।

देश यत्रो संकटमा छ । संविधान नै संकटमा पर्छ कि भन्ने छ । यस्तो अवस्थामा पनि केपी ओलीदेखि तपाईंहरूसम्म केही नै भएको छैन र सबै चिज आफ्नै फेभरमा हुन्छ भनेजस्तो आत्मविश्वास देखाइरहनुभएको छ । यो उत्साहको स्रोत के हो ?

यो मुलुकलाई हामीले गम्भीर ढंगले चिरफार गर्नुपर्ने थियो । भ्रष्टाचार र भूमाफियाको संजाललाई तोड्नुपर्ने नै थियो । कम्युनिष्ट आन्दोलन विकृति, विसङ्गतिमुक्त बनाउनु नै पर्ने थियो । हामीलाई उपेन्द्र देवकोटा, भगवान कोइराला टाइपको सर्जन चाहिएकै थियो । त्यसका लागि केपी ओली उपयुक्त पात्र हुन् भन्ने आम कार्यकर्ता र जनताका बीचमा विश्वास उत्पन्न भइरहेको अवस्था थियो । यस्तो बेलामा प्रचण्ड कमरेडहरूलाई समेत सच्याएर लैजाउँ भन्ने केपी ओलीको अभियानमा बाधा हालिसकेपछि हामी ठूलो साहसका साथ यो आन्दोलनलाई बचाउन जुटेका हौं । मुलुकलाई समृद्धितिर लैजानका लागि गम्भीर चिरफार गर्नै पर्छ, जनताले हाम्रा एजेन्डालाई अनुमोदन गर्छन् भनेर विश्वासका साथ अगाडि बढिरहेका छौं ।

मानौं प्रतिनिधिसभा पुनस्र्थापित भयो र तपाईंहरूको पार्टीलाई आधिकारिकता पनि प्राप्त भएन भने त केपी ओलीले नाङ्गै खुट्टा पनि हिंड्न नपाउने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा तपाईं जस्ता मान्छेहरूको के हुन्छ ?

केपी ओलीलाई दूधको तरबाट झिंगो फाले जसरी फाल्छु भन्ने कल्पना सम्भव छैन । हिजो साविक नेकपाभित्रै रहेर प्रचण्ड र माधव कमरेडले त्यो कोशिश गर्नुभएको हो । आज त्यसमा असफल भएर उहाँहरू सडकमा हुनुहुन्छ । भोलि संसद पुनस्र्थापना भएर ओलीलाई सडकमा पुर्‍याउनु भनेको स्यालले साँढेको पछि–पछि लाग्दा साँढेका अण्डकोष झर्लान् र खाउँला भने जस्तो हो ।

अहिले फेरि दुइटा कोणबाट विश्लेषण गरेको सुनिंदैछ । वामदेव गौतम, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल कमरेडहरू पनि कुनै न कुनै रूपमा अदालतलाई ‘कन्भिन्स’ गरी पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने ढंगले पहल गर्न थाल्नुभएको छ । एकता प्रक्रिया नजोगाउने हो भने हामी कसैको भविष्य जोगिंदैन भन्ने निष्कर्षमा उहाँहरू पुग्नुभएको छ रे भन्ने सुनेको छु । अर्को कोण चाहिं, प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर गर्नुभयो । प्रदेश सरकार बाँडफाँट गरेर चलाउँ भन्न थाल्नुभयो । प्रचण्ड र माधव नेपाल कहिले कांग्रेस कार्यालयमा, कहिले जसपाको कार्यालयमा, कहिले बुद्धिजीवीहरूको माझमा, कहिले पत्रकार साथीहरूको माझमा गएर नयाँ ढंगले आन्दोलन र चुनावमा जानुपर्याे भनेर प्रस्ताव गरिरहनुभएको छ ।

त्यसबाट के बुझिन्छ भने संसद पुनस्र्थापना भयो भने हामी २०५२ सालको बाटोमा जान्छौं । देश फेरि राजनीतिक अस्थिरतातर्फ जान्छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भयो भने केपी ओली सिद्धिन्छन्, नेकपा खर्लप्पै हाम्रो हुन्छ भन्ने विश्लेषण प्रचण्ड–माधवहरूको छ नि ?

उहाँहरूले के आधारमा त्यस्तो विश्लेषण गर्नुभयो मलाई थाहा भएन । एकातिर उहाँहरू केपी ओलीको अदालत, निर्वाचन आयोगसँग पनि ‘सेटिङ’ छ, भारतसँग पनि सेटिङ छ, युरोप र इन्डियाले त वक्तव्य समेत निकालेन भनेर भन्नुहुन्छ । अर्कोतिर उहाँहरू केपी ओलीको राजनीति सकियो, अब संसद पुनर्स्थापना हुन्छ भनेर फलाकिरहनुभएको छ । यो उहाँहरूमा उत्पन्न भएको निराशा, कुण्ठा र पलायनवादको लक्षण हो । अलिकति ‘राजनीतिक डिप्रेसन’ पनि भन्छु, उहाँहरूले प्रयोग गर्ने शब्दलाई विश्लेषण गर्दा । केपी ओलीलाई हराउने, राष्ट्रपतिलाई महाभियोग लगाउने, झलनाथ खनाललाई राष्ट्रपति बनाउने, प्रचण्ड प्रधानमन्त्री बन्ने भनेर मनको लड्डु घिउसँग खान खोज्नुभएको थियो । अहिले पनि म बरु प्रधानमन्त्री छोड्छु, शेरबहादुरलाई प्रधानमन्त्री बनाउँछु भनेर नयाँ लड्डु खान लाग्नुभएको छ । यो सफल होला भन्ने मलाई लाग्दैन ।

त्यसो त केपी ओलीले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्नुहोला नि ?

पछिल्लो समय शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई भेटेर नेकपासँग सहकार्यको प्रस्ताव गर्नुभएको कुराहरू आइरहेको छ । मलाई जहाँसम्म लाग्छ, कम्युनिष्ट आन्दोलनको नाममा लोकतन्त्रलाई समाप्त पार्ने, अधिनायकवाद लागू गर्ने र भ्रष्टाचार, आपराधिक कर्मलाई मान्यता दिने प्रचण्डपथ भन्दा लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात् गरेर जाने कांग्रेससँगको सहकार्यलाई स्वाभाविक रूपमा लिनुपर्छ ।

तपाईंको भनाइलाई सार–संक्षेपीकरण गर्दा प्रतिनिधिसभा पुनर्स्थापना भए पनि नभए पनि केपी ओली नै निर्णायक हो ?

निश्चितै रूपमा । हामीले हिजोका महेन्द्रको कुरा सुन्यौं, बीपीको कुरा सुन्यौं, पृथ्वीनारायणको कुरा सुन्यौं । हामीले भोग्न पाएका थिएनौं । तर, पछिल्लो समकालीन राजनीतिमा केपी ओली यस्तो राजनीतिक पात्र हो, जसका वरिपरि राजनीति घुमिरहेको छ ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा केपी ओलीले आफ्नो व्यक्तित्वको विकास गर्नुभएको छ । छिमेकी राष्ट्रसँगको सम्बन्धलाई समधुर बनाउनुभएको छ । संवैधानिक निकायसँगको सम्बन्धलाई पनि कार्यपालिकाको प्रमुखको हैसियतले व्यवस्थित बनाउनुभएको छ । आज नेपाली राजनीतिको महानायक भन्नुहोस् वा राजनीतिक प्रमुख पात्र केपी ओली नै हो । प्रचण्ड र माधव कमरेड चाहिं अब खलपात्र हुन्छन् कि सहायक पात्र । सहायक पात्र भएर जाँदा भोलि उहाँहरूको राजनीति सुरक्षित हुन्थ्यो । त्यसो नहुँदा खलपात्रमा परिणत हुने हो कि भन्ने आशंका छ ।

पार्टीभित्र दुईतिहाइ ‘होल्ड’ गर्छु भन्ने शक्तिलाई अवमूल्यन गरेको भएन र यो त ?

केपी ओलीको लचकताले, केपी ओलीले दिएका कारणले, केपी ओलीले बाँडेका कारणले उहाँहरूले आफूसँग बहुमत दाबी गरिरहनुभएको छ । यदि केपी ओलीले नदिएको भए नेकपा एमालेभित्र उहाँ बहुमतमा हुनुहुन्थ्यो, माओवादीभित्र प्रचण्ड बहुमतमा हुनुहुन्थ्यो ।

दुई पक्ष मिल्दामिल्दै बहुमत हुन्छ भनेर जान्दाजान्दै दुइटैलाई लात्ती किन हानेको ?

उहाँहरूले राजनीतिक बेइमानी गरिसकेपछि, आक्रमण भइसकेपछि प्रत्याक्रमण त भैहाल्छ नि ! प्रचण्डले साविक एमालेको अन्तरविरोधमा खेलेर माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउको हान्न थालेपछि केपी ओली निरीह भएर बस्छन् त ? केपी ओलीले दुवैको टाउकोमा एकैचोटि हान्दिएजस्तो लाग्छ मलाई चाहिं ।

सिंगो संविधानकै टाउकोमा हान्नुभयो नि !

संविधानकै टाउकोमा हान्नुभएको भन्न मिल्दैन । संसदलाई निर्वाचनबाट पुनस्र्थापना गर्ने अभियान हो यो । त्यो बाहेक संविधानका कुनै पनि धारालाई असर गर्ने काम वर्तमान सरकारले गरेको छैन । आवधिक निर्वाचनलाई स्वीकार नगर्ने र जनताको मतलाई अलिकति अगाडि (पाँच वर्षमा हुने निर्वाचन साढे तीन वर्षमा) गर्न सकिंदैन भन्ने साथीहरू कसरी लोकतन्त्रवादी ? यो विकृति र विसंगति निर्मूल पार्न जनताको मत लिउँ भन्ने चाहिं कसरी अलोकतान्त्रिक ?

मानौं अदालतले पनि केपी ओलीको कदमलाई नै सदर गर्‍यो र वैशाखमा चुनाव हुनेभयो भने तपाईंहरूको पार्टीको अवस्था के होला ?

जति चाँडो चुनाव भयो, त्यति केपी ओलीलाई फाइदा हुन्छ । माधव कमरेडहरू वैशाखमा चुनाव नगराउने हिसाबले पनि लाग्नुहोला । निर्वाचन आयोगमा उहाँहरूले आवेदन नै गर्नुभयो निर्वाचनका प्रक्रिया रोक्नका लागि । त्यो भनेको आफ्नो ग्राउन्ड कमजोर भएरै हो । वैशाखमा निर्वाचन हुँदा केपी ओलीको एजेन्डालाई बहुमत आउँछ, भएन भने सबैभन्दा ठूलो पार्टी हुन्छ । कांग्रेस दोस्रो पार्टी हुन्छ । प्रचण्ड र माधव कमरेडहरूको प्रतिस्पर्धा चाहिं तेस्रो र चौथो पार्टीका लागि हुने अवस्था म देख्छु ।

मान्छेहरू केपी ओलीले हार्ने चुनाव गराउँछन् र भन्ने आशंका गरिरहेका छन् नि ?

चुनाव हुन्छ नै । लोकतन्त्रमा हार–जीतको कुरालाई त हामीले स्वीकार गर्नुपर्छ नि ! जनता एउटा हातमा लड्डु र अर्को हातमा लट्ठी लिएर बसेका छन् । लट्ठी प्रचण्डको टाउँकामा हानेर लड्डु केपी ओलीलाई दिए पनि स्वीकार गर्नुपर्‍यो । होइन, केपी ओलीलाई लट्ठी हानेर प्रचण्डलाई लड्डु दिए पनि स्वीकार गर्नुपर्‍यो । यो त लोकतान्त्रिक विधि हो । अर्को पाँच वर्ष फेरि हामीले मिहिनेत गनुपर्छ । त्यसो भएको हुनाले निर्वाचन चाहिं सहज ढंगले जान्छ । केपी ओली निर्वाचनमा कमजोर हुनुहुन्छ भन्ने मलाई चाहिं लाग्दैन ।

चुनावपछि फेरि उहाँलाई प्रधानमन्त्री बनाउने लक्ष्य हो ?

अबको निर्वाचन पछाडि हाम्रो प्रधानमन्त्रीको उम्मेदवार भनेको केपी ओली नै हो ।

उहाँले त अब फेरि प्रधानमन्त्री बन्दिनँ भन्नुभएको थियो त ?

उहाँले दोहोरिन्न भन्नुभएको छ । चैतमा महाधिवशेन हुँदा म पार्टी अध्यक्षको उम्मेदवार पनि होइन भन्नुभएको हो । जब त्यो कोर्सलाई चुनौती दिएर प्रचण्ड–माधव नेपाल जाने अवस्था बन्यो, अब केपी ओलीले शुरू गरेका बाँकी अधुरा काम पूरा गर्नका लागि उहाँलाई कमसेकम एक कार्यकाल चाहिं नेतृत्वमा जानुपर्छ भन्ने हामी सबैले सुझाव दिएका छौं ।

वामदेव गौतमलाई त तान्न सक्नुभएन होइन ?

वामदेव गौतम अन्तिम अवस्थासम्म पनि एकता प्रक्रियालाई नै जोगाउने भूमिकामा रहनुहुन्छ होला । यसमा भित्री रूपले घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतको पनि भूमिका छ जस्तो लाग्छ । अन्ततोगत्वा वामदेव कमरेडले माधव र प्रचण्ड कमरेडतिर लागेका कतिपय साथीहरूसहित केपी कमरेडको नेकपासँग एकता गरेर अगाडि बढ्नुहुन्छ भन्ने मेरो बुझाइ हो ।

केपी ओलीको पक्षमा नेपालको मूलधारको मिडिया छैन । विचार निर्माण गर्ने प्रबुद्ध वर्ग छैन । अदालतमा बहस गर्ने चर्चित अनुहार पनि विपक्षमा छन् । अर्कोतिर उहाँहरूले साइबर सेना खडा गरेर सामाजिक सञ्जालमा हुर्मत लिइएको आरोप लगाउनुभएको छ । अरू केही उपाय नलागेपछि यतातिर लागिएको हो ?

पहिलो कुरा त म तपाईंको के कुुरामा सहमत छैन भने केपी ओलीको पक्षमा वैचारिक बहस गर्ने मान्छे छैनन् । पार्टीभित्रको अनुहार हेर्नुभयो भने पनि ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतका साथीहरू केपी ओलीतिरै हुनुहुन्छ । र, अग्नि खरेल, सुवास नेम्वाङलगायत कानूनी ज्ञान भएका नेता केपी ओलीको पक्षमा हुनुहुन्छ ।

साइबर सेना चाहिं किन हामीले ल्यायौं भने विशेषगरी प्रचण्ड कमरेडले प्रायोजन गरेका कतिपय मिडियाले केपी ओलीविरुद्ध जबरजस्त अभियान चलाए । सोसल मिडियामा फेक आइडी बनाएर केपी ओलीका विरुद्ध विषवमन गर्ने काम भयो । त्यसैले सूचनाप्रविधिको अधिकतम उपयोग गरेर युवा पंक्तिले कम्युनिष्ट आन्दोलन संरक्षण गर्नुपर्छ र कतिपय अवस्थामा कानूनको साथ लिएर न्याय–निरुपणका चरणमा पनि जानुपर्छ भन्ने सन्दर्भमा साइबर सेनाको कुरा आएको हो । यो कुनै व्यारेकमा बस्ने, कम्ब्याट लगाउने खालको सेना होइन । त्यसैले यसबाट कसैले डराउनुपर्ने अवस्था छैन ।

पार्टी एकता भएदेखि कायम हुँदासम्म तपाईं एकप्रकारले ओझेलमा हुनुहुन्थ्यो । विभाजन आउने बित्तिकै तपाईंको देश दौडाहा शुरू भयो । कार्यकर्ता तपाईंको पछि–पछि लागेका छन् । पार्टी विभाजनले तपाईंलाई फाइदा पुगेको हो ?

आ–आफ्नो स्वभाव र आचरण हुँदोरहेछ । हिजो म युवा संघको अध्यक्ष हुँदा मैले देशभरि अभियान चलाएँ । साथीहरूलाई संगठित गरें । नयाँ–नयाँ साथीहरूलाई प्रवेश गराएँ । युवाहरूलाई उत्पादन र रोजगारीसँग जोड्ने अभियान चलाएँ । र, त्यसपछि पार्टीले मलाई भक्तपुरको जिम्मा दियो । भक्तपुरमा चौथो अवस्थामा रहेको पार्टीलाई पहिलो बनाएँ । चुनाव जितिसकेपछि पनि एउटा सांसदको हिसाबले विकास निर्माणका काम गरें । पार्टीमा फेरि विभाजन र समस्या आइसकेपछि हिजो मैले नै संगठित गरेका, गोलबन्द गरेका, प्रवेश गराएका साथीहरूलाई फेरि समेटेर केपी ओलीको अभियानलाई साथ दिनुपर्छ भनेर लागेको हुँ ।

तपाईंले भनेजस्तो व्यक्तिगत रूपमा मलाई फाइदा पनि भएको छ । मेरो तल ग्राउन्ड छ कि छैन भन्ने प्रश्न कतिपय साथीहरूले पार्टीभित्रै उठाउँथे । वास्तवमा महेश बस्नेतको ग्राउन्ड बिगे्रको छैन भन्ने यसले पुष्टि गरेको छ ।

तपाईंसँग संगठन निर्माणको क्षमता त छ । तर, बेला–बेला अराजक अभिव्यक्ति दिएर विवादमा आउनुहुन्छ । आफ्नो ‘इमेज’ को चिन्ता लाग्दैन ?

(लामो हाँसो) आपराधिक शक्तिहरू एकोहोरो आइरहेको बेलामा हामीले व्यालेन्स गरेनौं, शक्ति टकरावको स्थिति भएन भने राज्य संयन्त्र पनि कमजोर हुँदोरहेछ । हिजो वाईसीएलको ज्यादतीविरुद्ध युथफोर्स बनाएर हामीले टकराव दिएका थिएनौं भने राज्यले नियन्त्रण गर्न सक्दैनथ्यो । भीम रावल गृहमन्त्री हुँदाको मनोबल र प्रहरी प्रशासनको मनोबल शायद युथफोर्स विना सम्भव थिएन । कहिलेकाहीं राज्य–शक्तिलाई ‘च्यालेन्ज’ दिने गरी आपराधिक शक्तिहरू जागे भने सिंगो जनमत त्यसको विपरीत उभ्याउनुपर्छ । त्यसलाई दीर्घकालीन रूपमा लैजानु पनि हुँदैन । त्यसले राज्यले गर्ने अभ्यास पनि गर्नुहुँदैन ।

प्रचण्डले ‘मांसहारी आन्दोलन’ गर्ने कुरा गर्नुभएको थियो । अब तपाईंहरूको प्रतिरोध पनि मांसहारी नै हुन्छ ?

सामान्यतया युवासंघ भनेको पार्टीभित्रको एउटा सुरक्षाकवच पनि हो । राज्यको प्रहरी, सेना जस्तै हो । उहाँहरूले आफ्ना कार्यकर्ता उचालेर हाम्रा नेता कार्यकर्तामाथि आक्रमण गर्नुभयो भने टकरावको अवस्था त हुन्छ नै ।

प्रचण्ड कमरेडले आफू बूढो भएको कुरा पनि महसूस गर्नुभएको छैन । तन बूढो भए पनि मन बूढो हुँदैन मान्छेको । र, माओवादी पनि बूढो भएको महसूस गर्नुभएको छैन । उहाँले २०५२–२०६२ को युद्धकालीन माओवादी र त्यसपछि राज्यशक्तिमा हालिमुहाली गरेको माओवादी ठान्नुभएको छ । तर त्योभन्दा उहाँहरूको हैसियत धेरै गलेको छ । आज प्रचण्ड तरुणो र माओवादीको तन्नेरी नेता हुनुहुन्न । उहाँ बूढो माओवादीको बूढो नेता हुनुहुन्छ । उहाँको मुख मात्रै चल्ने हो । जिब्रो मात्रै चलेर केही हुने होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर