इलेक्ट्रोनिक स्कुटरमा बढ्दो आकर्षण: एक किलोमिटर गुड्न ५० पैसा, कुन ब्राण्डको कति ? – Nepal Press

इलेक्ट्रोनिक स्कुटरमा बढ्दो आकर्षण: एक किलोमिटर गुड्न ५० पैसा, कुन ब्राण्डको कति ?

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रूपमा अमेरिकी सहयोग नियोगको सहयोगमा सात वटा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो ।

अहिले उपत्यकामा ७०० विद्युतीय टेम्पो र त्यसका लागि ३१ वटा चार्जिङ स्टेशन छन् । एक स्टेशनमा दैनिक २० देखि ३० वटा टेम्पोको ब्याट्री रिचार्ज गर्न मिल्छ । तर, पाँच वर्षयता भने विद्युतीय टेम्पोको नयाँ दर्तामा रोक लगाइएको छ । पछिल्लो समयमा विद्युतीय बस पनि काठमाडौंमा सञ्चालन भइरहेका छन् ।

भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारी साधनहरूको विकल्पका रुपमा इलेक्ट्रोनिक सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

५० पैसादेखि ३ रुपैयाँको विद्युत्ले १ किलोमिटर यात्रा

पछिल्लो समय विश्वबजारमा विद्युतीय सवारी साधनको माग बढिरहेको छ । वायु प्रदूषण कम गर्ने भएकाले विश्वमा नै दुईपांग्रे र चारपांग्रे विद्युतीय सवारी साधनको माग र प्रयोगमा वृद्धि भएको छ ।

नेपालमा पनि विद्युतीय स्कुटरको बिक्री बढेको छ । बिक्रेता कम्पनीहरूले रु.१ लाखदेखि रु.३ लाखसम्मका विद्युतीय स्कुटरहरू बिक्री गरिरहेका छन् । एक पटक चार्ज गरेपछि ६० देखि १२० किलोमिटरसम्म गुड्ने स्कुटर नेपाली बजारमा बिक्री भइरहेका छन् ।

पछिल्लो समय काठमाडौं, पोखरा र हेटौंडालगायतका शहरमा विद्युतीय स्कुटरको प्रयोग बढेको छ । नेपालमा लोडसेडिङको अन्त्यसँगै विद्युतीय स्कुटरको माग बढ्दै गएको बिक्रेताहरू बताउँछन् ।

कुन विद्युतीय स्कुटरको कति मूल्य ?

एनआईयु

चीनको प्रसिद्ध मोटर कम्पनी एनआईयुले निर्माण गरेको विद्युतीय स्कुटरले प्रति किलोमिटर ५० पैसा मात्रै इन्धन खपत गर्छ । अर्थात् ५० पैसा बराबरको विद्युत्ले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ ।

चिनियाँ कम्पनी एनआईयुले उत्पादन गरेको विद्युतीय स्कुटर नेपालमा इको इन्फिनिटी प्राइभेट लिमिटेडले बिक्री वितरण गरिरहेको छ ।

यी स्कुटरमा दुई वर्षसम्मको मर्मत खर्च नलाग्ने सुविधा पनि उपलब्ध छ । स्कुटरको महँगो मूल्य, आकाशिंदो पेट्रोलको भाउ थेग्न नसक्ने, सर्भिस शुल्कले हैरान भएका स्कुटर चालकको लागि यो खुशीको खबर हो ।

पहिलो चरणमा दुई वटा मोडलका मात्रै विद्युतीय स्कुटर भित्रिएका थिए । एन सिरिजको मूल्य २ लाख ४९ हजार रुपैयाँ र एम सिरिजको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको इको इन्फिनिटीले जनाएको छ ।

‘४० रुपैयाँ बराबरको चार्ज गर्दा ८० किलोमिटर गुड्छ । ब्याट्री चार्ज गर्न तीनदेखि चार घन्टासम्म लाग्छ’ इको इन्फिनिटीका सिनियर मार्केटिङ एक्जुकेटिभ अनिल थापा मगर बताउँछन् ।

भिमोटो

अष्ट्रेलियाको भिमोटो कम्पनीले ३० रुपैयाँको विद्युत् चार्ज गरेर १२० किलोमिटरसम्म गुड्ने स्कुटर नेपाली बजारमा बिक्री गरिरहेको छ ।

सो स्कुटरको मूल्य न्यूनतम १ लाख १० हजार रुपैयाँ छ । ३० रुपैयाँको चार्ज गर्दा १२० किलोमिटर गुड्छ । ब्याट्री चार्ज गर्न ३ देखि ६ घन्टासम्म लाग्छ ।

अहिले पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ छ । १२० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक र स्कुटरले झण्डै ३०० रुपैयाँको इन्धन खपत गर्छ । भिमोटो नेपालका सञ्चालक सुरेन्द्र मानन्धर इलेक्ट्रिक भिमोटो भने ३० रुपैयाँमा त्यत्ति नै गुड्ने बताउँछन् ।

भिमोटो टि १.५ स्कुटरको मूल्य १ लाख १० हजार, भिमोटो एलएन स्कुटरको मूल्य १ लाख ३१ हजार, भिमोटो इम्याक्स् स्कुटरको मूल्य २ लाख १६ हजार, इकोटर स्कुटरको मूल्य २ लाख ४५ हजार र भिमोटो भिक्ड्राकस स्कुटरको मूल्य २ लाख २६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

डिजल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धेरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकोले पनि अन्यको भन्दा मूल्य सस्तो रहेको बिक्रेताहरू बताउँछन् ।

लेम्निङ

नेपालमा लेम्निङ विद्युतीय स्कुटरका पनि दुई वटा ब्राण्ड बिक्री भइरहेका छन् । सो स्कुटर पनि चीनमा निर्माण भएको हो । लेम्निङ स्कुटरको एस फाइबको मूल्य रु.३ लाख रहेको छ । सो स्कुटरमा दुई वटा व्याट्री प्रयोग भएको हुन्छ । स्कुटर फुल चार्ज गर्न तीन घन्टा समय लाग्छ । चार्ज गर्दा १.२ यूनिट विद्युत् खपत हुने लेम्निङ कम्पनीका सञ्चालक नारायण गौतमले बताए ।

लेम्निङको एक्स वान स्कुटरको मूल्य २ लाख ६० हजार पर्ने कम्पनीले जनाएको छ । यो स्कुटर पनि चार्ज गर्न तीन घन्टा लाग्नेछ भने चार्ज गर्दा १.२ यूनिट विद्युत् खपत गर्नेछ ।

बिक्री शुरु भएको दुई महिनामा २६ वटा स्कुटर बिक्री गरेको कम्पनीले बताएको छ ।

लिपियन

डाउन इन्टरनेशनल प्रा.लि.ले नेपालमा लिपियन एस जे डब्लु जी र जे जेट मोडलका विद्युतीय स्कुटर बिक्री गर्दै आइरहेको छ । यी दुईवटै मोडलका स्कुटरको मूल्य १ लाख रहेको कम्पनीले जनाएको छ ।

यी स्कुुटर चार्ज गर्न ६ घन्टा लाग्ने र एक पटक फुल चार्ज गर्दा १.५ यूनिट विद्युत् खपत हुने सेल्स हेड रोहित श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *