वालिङविरुद्ध आर्मीको गोल वर्षा, विमलाको ह्याट्रिक – Nepal Press

वालिङविरुद्ध आर्मीको गोल वर्षा, विमलाको ह्याट्रिक

काठमाडौं । विमला चौधरीको ह्याट्रिक प्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिगमा आइतबार वालिङ नगरपालिकालाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १४औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् ।

वालिङमाथि हाबी बनेको आर्मीका लागि दिपा राईले २८औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् । सर्मिला थापाले ४५औं मिनेटमा गरेको गोलसँगै विभागीय महारथी आर्मीले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पनि सम्हालिन नसकेको वालिङले थप ४ गोल खायो । आर्मीका लागि ओपनिङ गोल गरेकी विमलाले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

त्यसको ९ मिनेट नबित्दै विमलाले ह्याट्रिक पूरा गरेसँगै आर्मीको अग्रता ५–० मा पुगेको थियो । वालिङको रक्षापंक्तिमाथि हाबी बनेको आर्मीका लागि हेमा चौधरीले ८८औं तथा भुजुङ्गा राईले इन्जुरी समयमा १/१ गोल गरे ।

जितसँगै पहिलो खेलमा पुलिससँग गोलरहित बराबरीमा रोकिएको आर्मीले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा विराटनगरसँग १–१ गोलको बराबरीमा रोकिएको वालिङको पनि समान दुई खेलबाट १ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *