प्रसिद्ध टेलिभिजन होस्ट ल्यारी किङको कोरोना संक्रमणले निधन – Nepal Press

प्रसिद्ध टेलिभिजन होस्ट ल्यारी किङको कोरोना संक्रमणले निधन

अमेरिका- प्रसिद्ध टेलिभिजन कार्यक्रम संचालक ल्यारी किङको ८७ वर्षको उमेरमा कोरोनाभाइरस संक्रमणले निधन भएको छ ।

उनी कार्यरत टिभी ओरा मिडियाले वक्तव्य जारी गर्दै किङको निधन शनिबार विहान लस एन्जल्सस्थित सिडर्स सिनाइ मेडिकल सेन्टरमा भएको जनाएको हो ।

केही वर्षदेखि उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । साथै, मुटुको बाइपास सर्जरी पनि गरिएको थियो । सन् १९९९ मा उनलाई प्रोटेस्ट क्यान्सरको लक्षण देखिएको थियो ।

सन् २०१९ मा उनलाई बायाँ खुट्टाले हिँड्न नमिल्ने गरि पक्षघात पनि भयो जसले गर्दा उनी कहिलेकाहिँ विह्लचियरको मद्दत लिन्थे । जनवरी २ मा कोरोनाभाइरस संक्रमण भएपछि उनलाई सिडर्स सिनाइ मेडिकल सेन्टरमा भर्ना गरिएको थियो ।

उनले एउटा अन्तर्वार्तामा भनेका थिए –म ८६ वर्षको हुन्छु भनेर मलाई लागेको थिएन । ४३ वर्षको उमेरमा मेरा बुवा बित्नुभो । मैले त्यतिबेला सोचेँ, म पनि चाँडै बित्छु होला ।’

‘मलाई केही गुनासो छैन । मसँग जे आइपर्छ, त्यसप्रति म आभार व्यक्त गर्छु’ उनले भनेका थिए, ‘त्यो कुरा सुन्दा अस्वभाविक लाग्न सक्छ तर, वास्तवमै त्यो मेरा लागि सहि कुरा हो ।’

कार्यक्रम होस्टको रुपमा थुप्रै टेलिभिजन अवार्ड समेत जितेका किङ आफ्नो आवाज, सीधा र निडरतापूर्वक सोधिने प्रश्न र दशौं हजार इन्टरभ्यूज लिएर बनाएको अलग खालको छविले चर्चित थिए । न्यूयोर्ककको ब्रुकलिनमा जन्मिएका किङ सानैदेखि रेडियो जक्की बन्न चाहन्थे ।

उनको वास्तविक नाम लरेन्स हार्भे जिगर हो । तर, सन् १९५० मा मायामीमा रेडियो होस्टको रुपमा करियर सुरु गरेपछि भने उनी ल्यारी किङको नामले चिनिए । सन् १९७८ देखि उनले ल्यारी किङ सो कार्यक्रम चलाउन सुरु गरे । यही समयमा उनले टेलिभिजन करियर पनि सुरुवात गरे ।

सन् १९८५ देखि २०१० सम्म उनले सीएनएनमा ल्यारी किङ लाइभ सो चलाए । उक्त सोमा ओफरा विन्फ्रेले सन् २००८ को राष्ट्रपतिय चुनावी अभियानमा बाराक ओबामालाई चिनारी दिलाएकी थिइन् । पछिल्लो समय उनी हुलु टिभीमा कार्यक्रम चलाउँथे ।

उनी दुईवटा पिबडी अवार्ड र एक एमी अवार्डबाट सम्मानित भए । सन् १९८९ मा नेसनल रेडियो हल अफ फेम प्राप्त गरे । उनले केही पुस्तक पनि लेखेका छन् । घोस्टबस्टर्स, स्रेक २ र बी मूभिमा उनले आवाज पनि दिएका छन् ।

उनले आठपटक विहे गरे जसबाट पाँच सन्तान जन्मिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर