कोभिसिल्डबारे ८ तथ्यः ७० प्रतिशत मात्र प्रभावकारी, घरकै फ्रिजमा राख्न सकिने – Nepal Press

कोभिसिल्डबारे ८ तथ्यः ७० प्रतिशत मात्र प्रभावकारी, घरकै फ्रिजमा राख्न सकिने

डा. दीक्षित भन्छन्ः सामान्य साइड इफेक्ट देखिँदा डराउनु पर्दैन

काठमाडौं । सरकारले भारतबाट १० लाख डोज खोप भित्र्याएसँगै कोरोनाको कहरबाट मुलुकले त्राण पाउने आशा बढेको छ । साथै, यस खोपलाई लिएर विभिन्न संशय पनि देशवासीमा छन् ।

सुरुमा कोभिसिल्डबारे १० तथ्यहरु पेश गर्दैछौं, जसले तपाईंलाई यो खोपको विषयमा जान्न मद्दत मिल्नेछ ।

१. भारतीय खोप होइन
नेपालले भारतबाट ल्याएको खोप कोभिसिल्डलाई धेरै भारतीय उत्पादन ठानेका छन्, जुन सत्य होइन । स्वीडेनको विश्वविख्यात बहुराष्ट्रिय फर्मा कम्पनी एस्ट्राजेनिसाले बेलायतको अक्सफोड विश्वविद्यालयसँगको सहकार्यमा यो खोप विकास गरेको हो । आफ्नै देशको औषधी उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेकाले भारतले यसको नाम कोभिसिल्ड राखेको हो । सिरम विश्वकै ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो ।

२. दर्जन देशमा अनुमति
भारतसहित बेलायत, ब्राजिल, बंगलादेश, भुटानलगायत एक दर्जनभन्दा बढी देशले यो खोपलाई आपतकालिन प्रयोगमा अनुमति दिएका छन् । नेपालको सरकारले पनि आपतकालिन प्रयोगका लागि मात्र कोभिसिल्ड खोपलाई प्रयोगको अनुमति दिएको हो ।

३. प्रभावकारिता ७० प्रतिशत मात्र
कुनै पनि भ्याक्सिनको सबैभन्दा महत्वपूर्ण पाटो हो यसको प्रभावकारिता । यो पाटोमा कोभिसिल्ड कमजोर छ । कोभिसिल्डको ट्रायलका क्रममा भेटिएको एउटा तथ्यले झन् अलमलमा पार्छ ।

ट्रायलका क्रममा त्रुटीवस जो व्यक्तिलाई कम डोज दिइएको थियो, उनीहरुमा खोपले बढि काम गर्यो । बढि डोज दिइएकालाई कम काम गर्यो । भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो डोज थोरै दिइएकाहरुमा यो खोप ९० प्रतिशत प्रभावकारी दखिएको थियो भने बढि डोज दिइएकाहरुमा ६२ प्रतिशत मात्रै प्रभावकारी देखियो, जुन आश्चर्यजनक नतिजा हो ।

दुईथरि नतिजालाई मिलाएर समग्रमा कोभिसिल्डको नतिजा ७० प्रतिशत रहने विश्लेषण गरिएको छ, जुन फाइजरको भन्दा कम हो । फाइजरका प्रभावकारिता ९४ प्रतिशत अनुमान गरिएको छ । त्यसो त ५० प्रतिशतभन्दा बढि प्रभावकारिता भएका भ्याक्सिनलाई विज्ञहरुले प्रयोग गर्नयोग्य मान्छन् ।

४. यस्ता छन् साइड इफेक्ट
कोरोना विरुद्धका अन्य खोपका तुलनामा कोभिसिल्डको साइड इफेक्ट कम हुने दावी गरिएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डियाका अनुसार कोभिसिल्डका सम्भावित साइड इफेक्टहरुमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने र चिलाउने, थकान महसुस हुने, टाउको दुख्ने, हाड जोर्नी दुख्ने, सिँगान बग्ने, खानामा अरुची हुने आदि हुन सक्छ । प्रत्येक १० जनामध्ये एक जना अलि कडा साइड इफेक्ट हुन सक्ने बताइएको छ ।

‘यी कुुरालाई सामान्यरुपमा लिनुपर्छ, आत्तिनु जरुरी छैन’ जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले नेपाल प्रेससँग भने, ‘कसैलाई एलर्जी छ र कोही भर्खर संक्रमणबाट मुक्त भएको छ भने तुरुन्तै खोप नलगाउँदा वेश हुन्छ ।’

कोरोनाविरुद्धको खोपले भारतमा केही मानिसहरुको मृत्यू भएकाले धेरैमा त्राश पनि छ । तर, कोभिसिल्डले कसैको ज्यान लिएको छैन । भारतमा कोभ्याक्सिनको ट्रायलमा दुईले ज्यान गुमाएका थिए । गतसाता फाइजर खोप लगाउँदा उत्पन्न साइड इफेक्टले युरोपेली राष्ट्र नर्वेमा २९ जनाले ज्यान गुमाएका थिए ।

‘खोप लगाउँदा एलर्जी देखिनु स्वभाविक हो’ जनस्वास्थ्यविद डा. समीरमणि दीक्षित नेपालप्रेससँग भन्छन्, ‘सामान्य एलर्जी देखिदैंमा यसबारे भ्रम फैलाउनु राम्रो होइन ।’ आपतकालिन प्रयोगका लागि ल्याइएको भ्याक्सिनमध्ये कोभिसिल्ड सबैभन्दा सुरक्षित रहेको उनले बताए ।

५. यसरी गर्छ काम
चिम्पाम्जीमा पाइने सामान्य रुघाखोकीको भाइरस एडेनोभाइरसको कमजोर संस्करण मिलाएर कोभिसिल्ड खोप विकास गरिएको हो । कोभिसिल्ड लगाएपछि यसले एन्टीबडी बनाउन थाल्छ र कोरोना संक्रमणविरुद्ध काम गर्न थाल्छ ।

६. लगाउने तरिका
कोभिसिल्ड खोप ४ देखि १२ साताभित्र दुई डोज लगाउनुपर्ने हुन्छ । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने भएकाले नेपालजस्ता मुलुकका लागि आपूर्ति र वितरणमा सजिलो हुन सक्नेछ । घरकै रेफ्रिजेरेटरमा पनि राख्न सकिन्छ । फाइजर खोपलाई माइनस ७५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले वितरणमा चुनौति थियो ।

७. बेलायत र ब्राजिलमा परिक्षण
कोभिसिल्डलाई बेलायत र ब्राजिलमा तेस्रो चरणको परिक्षण गरिएको थियो । ब्राजिललाई त भारतले व्यवसायिकरुपमै खोप निर्यात गरेको हो । यो खोपलाई फेब्रुअरीमा भारतमा ‘ब्रिजिङ स्टडी’ गर्ने सिरम इन्स्टिच्युटले जनाएको छ । अहिले भारतमा मात्र ६ वटा कम्पनीले खोपका लागि ट्रायल गरिरहेका छन् ।

८. अरुभन्दा सस्तो
कोभिसिल्ड विश्वकै सस्तो मूल्यको कोरोना भ्याक्सिनमा पर्छ । सेरिम इन्स्टिच्यूटका अनुसार यसको मूल्य भारत सरकारका लागि करिब चार सय ४० भारु रहेको छ भने बाहिर बजारमा ७ सय देखि ८ सय भारु पर्नेछ । सस्तो भएकाले ठूलो परिमाणमा उत्पादन गर्न सकिने मानिएको छ ।

प्रभावकारिता बढि भएका फिजर र मोडर्ना जस्ता भ्याक्सिनहरु धनी मूलुकहरुले खरिद गरिसकेका छन् । यी दुई भ्याक्सिनको मूल्य ३५ देखि ४० अमेरिकी डलर रहेको छ, जुन नेपालजस्ता गरिब देशहरुका निम्ति महंगो हो ।

नेपालका लागि कुन खोप उपयुक्त हुन्छ भन्ने जवाफ स्वास्थ्य मन्त्रालयसँग छैन । कोभिसिल्डसहित मोर्डना, फाइजर, बायोएनटेक, रुस र चीनले उत्पादन गरेका खोप अहिले आपतकालिन अनुमतिसहित विश्वमा प्रयोग हुन थालेका छन् । तर, नेपालको कोल्डचेन प्रणालीलाई हेर्दा कोभिसिल्ड सजिलो हुने तर्क स्वास्थ्य मन्त्रालयका अधिकारीको छ ।

भारतले किन दियो सित्तैमा ?
भारतले नेपालसहितका दक्षिण एसियाली मुलुकलाई निश्चित परिमाणमा भ्याक्सिन निशूल्क उपलब्ध गराएको छ । जानकारहरु यसलाई भारतको कुटनीति र छिमेकसँग सम्बन्ध सुधार्ने एउटा रणनीतिको रुपमा लिन्छन् ।

जनस्वास्थ्य विज्ञ डा. दीक्षितले चाहिँ खोपमा राजनीति गर्नु गलत भएको बताए । ‘हरेक कुरामा राजनीति जोडिन्छ’ उनी भन्छन्, ‘खोप कुटनीति हुन सक्ला तर, यसका लागि भारतलाई धन्यवाद दिनुपर्छ ।’

भारतले पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकलाई निःशुल्क खोप उपलब्ध गराएको छ । भारतभित्रै प्रतिपक्षी दलले बीजेपीको खोप भन्दै राजनीतिक रङ दिने प्रयास गरिरहेका छन् । यही आलोचनालाई खण्डन गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो चरणअन्तर्गत आफू र अन्य मन्त्रीले खोप लगाउने योजना बनाएको बताएका छन् । नेपालमा पनि नागरिकलाई खोपबारे चेतना दिन प्रधामन्त्री र शीर्ष नेताले सुरुमा खोप लगाउनुपर्ने सुझाव दीक्षितको छ ।

‘भारतले करोडौंलाई कोभिसिल्ड लगाउँदा केही नहुने तर, नेपालमा केही लाखको लागि लगाउन लाग्दा हल्ला गर्नुको तुक छैन’ उनले भने ।

‘जबसम्म शीर्ष नेताले खोप लगाउँदैनन् तबसम्म हल्लालाई चिर्न सकिँदैन र नागरिकमा विश्वास जगाउन सकिँदैन’ दीक्षितको तर्क छ । प्रधानमन्त्री स्वयम जोखिम समूहमा पर्ने भएकाले खोप लगाउनुपर्ने उनले बताए । सरकारले सार्वजनिक गरेको कोभिडको जोखिममा २० प्रतिशत जनसंख्या पर्दछ ।

खोप आएपनि जनस्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

‘खोपभन्दा महत्वपूर्ण मास्क हो’ नेपाल पे्रससँग स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘खोप आउनु शुभ समाचार हो तर, नागरिकले सामाजिक दूरी र प्रोटोकललाई पालना गर्नु जरुरी छ ।’

नेपालको कूल जनसंख्याको ८० प्रतिशतलाई खोप दिइने सरकारी योजना छ । पहिलो चरणमा फ्रन्टलाइनमा खटिने ५ लाखले खोप पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.