गफ चुटेर दिन काट्दै शिक्षक – Nepal Press
सामुदायिक विद्यालयमा बेथिति

गफ चुटेर दिन काट्दै शिक्षक

जनकपुरधाम । कोरोना संक्रमणदर घटेर जनजीवन सामान्य बन्दै गर्दा जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय संचालनमा आइसकेको छ । तर, एकातिर पढ्न आउने विद्यार्थी थोरै छन् भने शिक्षक गफ चुटेर दिन कटाउँछन् ।

जनकपुरधाम ४ स्थित श्रीराजर्षि जनक बाल राष्ट्रिय प्राथमिक विद्यालया १३ शिक्षक कार्यरत छन् । तर, बिहीवार विद्यालयमा १८ विद्यार्थी मात्र उपस्थिति थिए । विद्यालयको अभिलेखमा ११३ विद्यार्थी अध्ययनरत छन् । कोरोनाको त्रास र चिसो बढेकाले विद्यार्थी विद्यालय आउन छाडेको शिक्षकहरूको दाबी छ ।

कक्षा ४ मा उपस्थित २ विद्यार्थीलाई पढाइरहेका शिक्षक केबलकुमार राईले भने, ‘यस कक्षामा १७ विद्यार्थी छन् । जाडो याम भएकोले आज १५ विद्यार्थी आएका छैनन् ।’ विद्यालयमा शिक्षक बढी भएकाले एउटा शिक्षक कक्षामा पुग्दा अर्का शिक्षक बसेर समय विताउने गरेको उनले सुनाए । उनले नेपालप्रेससँग भने, ‘विद्यार्थी बढी भएको बेला एकजना हेरचाह गर्ने र अर्कोले पढाउने गरेका थियौं ।’

२०५६ माघ २० मा यो विद्यालय भवन तत्कालीन अमेरिकी राजदूत राफ फ्रैन्कले गरेका थिए । यहाँ आफ्ना छोराछोरी पठाउन अभिभावक मरिहत्तै गर्थे । तर, विस्तारै पठनपाठनको अवस्था खस्किँदै गयो । अहिले यहाँ अन्यत्र भर्ना गर्न नसकिएका निम्न वर्गका बालबालिका मात्र अध्ययनरत छन् ।

बिहीवार प्रधानाध्यापक बनारसीदेवी यादव पनि अनुपस्थित थिइन् । स्थानीयका अनुसार शिक्षकहरूले एक/एक दिन गरेर पालो लगाएका छन् । पूर्व प्राथमिक तहदेखि ६ कोठामा कक्षा ५ सम्म पठनपाठन हुन्छ । तर, शिक्षक १३ रहेकाले ६ जना शिक्षक जुन दिन आउँछन्, त्यो दिन ७ जना आउँदैनन् । ८/९ जना आइहाले भने गफ गरेर समय बिताउने अभिभावको गुनासो छ ।

अधिकांश विद्यालयमा शिक्षक अभाव रहेको गुनासो आइरहँदा यहाँ दोब्बर शिक्षक छन् । उपमहानगरपालिकाले पटक पटक शिक्षक समायोजन गर्ने भन्यो । तर, शिक्षक समायोजन नहुँदा सामुदायिक विद्यालयको अवस्था खस्किFदै गएको छ । शिक्षक पायक पर्ने ठाउँमा बस्न रुचाउने गरेका कारण उपमहानगरपालिकाले समायोजन गर्न नसकेको एक कर्मचारी बताउँछन् ।

महिला शिक्षक शिला यादव भन्छिन्, ‘शौचालय र खानेपानीको सुविधा नभएकाले धेरै समस्या झेल्नुपर्छ । दिशा-पिसाव लाग्दा कक्षा छाडेर विद्यार्थी घर पुग्छन् ।’ खानेपानी र शौचालयका लागि उपमहानगरपालिकालाई पटक-पटक आग्रह गर्दा पनि वास्ता नगरेको उनले गुनासो गरिन् ।

शौचालय अभावमा विद्यार्थी खुल्ला ठाउँमा दिसा-पिसाव गर्छन् । पोखरीको डिलमा रहेको यो विद्यालय फोहोरले दुर्गन्धित बनेको छ । पोखरी डिलमा घुम्न जाने सर्वसधारण पनि विद्यालय भवनकै पर्खालमा टाँसिएर पिसाव गर्दा दुर्गन्ध फैलिएको छ । यहाँ सार्वजनिक शौचालयको आवश्यकता देखिएको शिक्षकहरू बताउँछन् ।

जनकपुरधाम उपमहानगरपालिका-१० स्थित सीताराम राष्ट्रिय प्राथमिक विद्यालयमा पनि ७६ विद्यार्थी अध्ययनरत् छन् । बिहीबार १७ जनामात्र विद्यार्थी उपस्थित थिए । कक्षा ५ का १, ४ का २, ३ का ६, २ का १, १ का ३ र पूर्वप्राथमिक कक्षाका ३ जनालाई उपस्थित १६ विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँदै थिइन् महिला शिक्षक सिमा यादव । अन्य ३ शिक्षक चौरमा घाम तापिरहेकी थिए । प्रधानाध्यापक रेणु मिश्र अनुपस्थित थिइन् ।

महिला शिक्षक मिनु कर्णले भनिन्, ‘चिसो बढेको र कोरोना भाइरसको डरले आज थोरै विद्यार्थी आएका छन् । त्यसैले सबैलाई एउटै कक्षामा राखेर पढाइरहेका छौं । महामारी शुरू हुनुअघि ५० विद्यार्थी नियमित आउँथे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *