आन्दोलनमा देशभर ५० लाख जनता उत्रिएको कांग्रेसको दावी, अबको रणनीति के ? – Nepal Press

आन्दोलनमा देशभर ५० लाख जनता उत्रिएको कांग्रेसको दावी, अबको रणनीति के ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार विरुद्धको आन्दोलनबाट उत्साहित बनेको छ । प्रतिनिधिसभा विघटनको कदमलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन सम्पन्न गरेको छ ।

दोस्रो चरणको आन्दोलनको अन्तिम दिन बिहीबार कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वटा वडाहरुमा विरोध प्रदर्शन र सभा गरेको छ । यसअघि कांग्रेसले माघ ३ गते ७ सय ५३ वटा स्थानीय तहमा प्रदर्शन गरेको थियो । दोस्रो चरणको कार्यक्रम अन्तगर्त नै कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेशसभा क्षेत्रमा प्रदर्शन र सभा गरेको थियो ।

आन्दोलनबाट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध जनमत व्यक्त भएको ठहर कांग्रेसले गरेको छ ।

‘केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापी रुपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको छ’, सभापति शेरहादुर देउवाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संसद पुनःस्थापनाको एजेण्डा बोक्ने वा नबोक्ने भन्ने दुविधाकाबीच कांग्रेस आन्दोलनमा होमिएको थियो । सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्धामा सडकबाट नारा नलगाइने बताउँदै आएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सडक आन्दोलनबाटै भएपनि संसद पुनःस्थापना हुनुपर्ने बताउँदै आएका छन् ।

यही कारण पार्टीभित्रको भिन्न बुझाइलाई यथावत राख्दै कांग्रेसले शक्ति केन्द्रीकृत गरेर प्रदर्शन गर्ने नभई जिल्ला, संघीय क्षेत्र, प्रदेश क्षेत्र , गाउँ-नगर हुँदै वडा केन्द्रीय आन्दोलन तय गरेको थियो । आन्दोलनले कांग्रेसको संगठनलाई पुर्नजागरण गराएको कांग्रेस नेता गुरुराज घिमिरे बताउँछन् ।

‘यो आन्दोलनमा प्रत्यक्ष रुपमा ५० लाख जनता देशैभरी सडकमा उत्रिएका छन् । कम्युनिष्ट सरकारको विरोध गरेका छन् र कांग्रेसको संगठनलाई समेत पुनर्जीवन प्रदान गरेका छन्’, घिमिरेले भने ।

दोस्रो चरणको आन्दोलन सकिएसंगै कांग्रेसको अबको रणनीति के हुने ? भन्ने राजनीतिक चासो बनेको छ । पुस ७ गते सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक हाल स्थगित छ । माघ १३ गते बस्ने बैठकले पार्टीको भावी रणनीति तय गर्नेछ । सभापति देउवा अदालतको आदेश पर्खेर मात्रै भावी रणनीति बनाउनुपर्ने पक्षमा छन् । देउवा इत्तर पक्ष भने तेस्रो चरणको आन्दोलन अझ सशक्त हुनुपर्ने पक्षमा छ । ‘दुई चरणको आन्दोलनमा जनताले कांग्रेसलाई समर्थन गरेका छन् । माघ १३ गतेकै बैठकबाट हामीले तेस्रो चरणको आन्दोलन तय गरेर जानुपर्छ’, घिमिरेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर