लुम्बिनीविरुद्ध साविक विजेता पुलिस ७४ रनले विजयी – Nepal Press

लुम्बिनीविरुद्ध साविक विजेता पुलिस ७४ रनले विजयी

काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको आफ्नो तेस्रो खेलमा विभागीय महारथी पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले ३११ रनको विजय लक्ष्य पाएको थियो । जारी सिजनकै सबैभन्दा ठूलो लक्ष्य पाएको लुम्बिनीले निर्धारित ५० ‌ओभरमा ७ विकेट गुमाएर २३६ रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीका लागि शानदार ब्याटिङ गरेका सौरभ खनालले ६० बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै इनिङको सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै कप्तान कृष्ण कार्की ४० रनमा अविजित रहँदा देव खनालले ४९, सन्दीप रजालीले ४० तथा राजविर सिंहले २४ रन जोडे ।

अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा लुम्बिनीले प्रतियोगितामा पहिलो हार बेहोर्नु पर्‍यो ।

पुलिसका लागि रासिद खान र पवन सर्राफले २/२ तथा ललित राजवंशी, सागर ढकाल र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३१० रनको विशाल योगफल तयार गरेको थियो ।

पुलिसका लागि १४५ बलको सामना गरेका धमलाले ७ चौका र १ छक्कासहित १०४ रन बनाए । त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ६१ बलमा १ चौका र ६ छक्कासहित ८५ रन बनाएका थिए । आक्रामक ब्याटिङ गरेका पवन सर्राफले १३ बलामा १ चौका र ६ छक्कासहित अविजित ५० रन बनाए । आरिफ शेखले १४ बलमा अविजित २९ रन जोड्दा अमित श्रेष्ठले २८ रन बनाएका थिए ।

पुलिसको सम्हालिएको ब्याटिङसामु संघर्षरत लुम्बिनीका लागि कप्तान कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले १/१ विकेट लिएका थिए ।

पहिलो खेलमा बाग्मतीसँग ७ विकेटले पराजित भएको पुलिसले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको थियो । त्यस्तै, पहिलो खेलमा प्रदेश २ लाई ७७ रनले हराएको लुम्बिनीको यो दोस्रो खेल हो ।

तीन खेलबाट ४ अंक जोडेको पुलिस समूह ‘बी’ को दोस्रो स्थानमा छ । शीर्ष स्थानको बाग्मतीको पनि दुई खेलबाट समान ४ अंक छ । दुई खेलबाट २ अंक जोडेको लुम्बिनी तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर