ट्रम्पको बिदाइ सम्बोधनमा छोरीहरूको आँसु – Nepal Press

ट्रम्पको बिदाइ सम्बोधनमा छोरीहरूको आँसु

एजेन्सी । अन्तिम समयसम्म आफ्नो उत्तेजक र कठोर छवि कायम राख्दै निवर्तमान अमेरिकी राष्ट्रसित डोनाल्ड ट्रम्प हिजो ह्वाइट हाउसबाट विदा भए । उनको बहिर्गमनमा अमेरिकाभित्र र बाहिर त्यति ठूलो सहानुभूति नदेखिए परिवारजनको लागि पक्कै यो भावुक क्षण थियो ।

ट्रम्पले आफ्नो बिदाइ सम्बोधन गर्दै गर्दा उनका सन्तानले आफ्नोे संवेदना लुकाउन सकेनन्, खास गरी छोरी इभान्काले । उनी आँसु खसालेरै रोइन् । उनी सुँक्सुकाएको दृष्यले अरुलाई पनि भावुक बनायो ।

चुनावी नतिजा उल्टाउन अन्तिम समयसम्म गरेको कसरत असफल भएपछि ट्रम्पले ह्वाइट हाउस छोड्नुपरेको थियो । अराजनीतिक चरित्र देखाउँदै उनी नवनियुक्त राष्ट्रपति जो बाइडेनको सपथग्रहणमा समेत सहभागी भएनन् । आफ्नो निजी बिमानको फ्लोरिडातर्फ उड्नुअघि उनले ह्वाइट हाउसमा बिदाइ सम्बोधन गरेका थिए ।

ट्रम्पका तीन श्रीमतीबाट पाँच छोराछोरी र १० नाति-नातिना छन् । उनको बिदाइ सम्वोधनमा समर्थकहरूका अतिरिक्त परिवारजन उपस्थित थिए । इभान्का ट्रम्पकी पहिलो श्रीमती इभानातर्फी छोरी हुन् र उनका एक दाजु डोनाल्ड जुनियर र भाइ एरिक छन् । दोस्रो श्रीमतीबाट एक छोरी टिफानी ट्रम्प छन् भने हालकी श्रीमती मेलानियाबाट एक छोरा बारोन छन् ।

३९ वर्षिया इभान्का आफ्ना श्रीमान र छोराछोरीसँग थिइन् । दाजु डोनाल्ड जुनियर र सौतेनी बहिनी टिफानी पनि उनीसँग थिए । इभान्का भावविव्हल हुँदा टिफानी (२७) ले उनलाई सम्हालेकी थिइन् । तर, उनको आँखा पनि आँसुले भरिएका थिए । कार्यक्रममा सहभागी हुँदा उनीहरू कसैले पनि अनुहारमा मास्क लगाएका थिएनन् । इन्भान्काका तीन छोराछोरीले चाहिँ अनुहार र नाक छोपिने लुगा लगाएका थिए ।

बिदाइको क्षणमा पनि टिफानीले आफ्नो फेसन सेन्स देखाउन कुनै कसर छोडिनन् । उनले बाहुला नभएको कोट लगाएकी थिइन् । एक दिनअघि मात्रै आफ्नो प्रेमी मिचाइल बोलससित विवाह गर्न लागेको घोषणा गरेकी उनले आफ्नो ईगेजमेन्ट रिंग पनि देखाइन् ।

जेठा छोरा डोनाल्ड जुनियर (४३) एयरफोर्स बेसमा आफ्नी गर्लफ्रेन्ड किम्बर्ली गुइलफोइलसँग बसेर बाबुलाई सुनिरहेका थिए । अर्का ३७ वर्षीय छोरा एरिकले श्रीमती लाराको हात समातेका थिए । जब ट्रम्प उनीहरु नजिक आए त्यतिबेला भने एरिकले ‘अकवार्ड मोमेन्ट’ को सामना गर्नुपर्यो ।

ट्रम्प र लाराले गालामा चुम्बन आदानप्रदान गरे, तर जब एरिकले बुबालाई गालामा किस गर्न मुख उघारे, ट्रम्प भने अगाडि बढिसकेका थिए । उनी मुख बाएको बायै भए । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आफ्नो अन्तिम सम्बोधनमा ट्रम्प आफैँ भने भावुक देखिएनन् । उनले आफ्ना समर्थकहरूसामू पहिलेकै शैलीमा आत्मविश्वासी कुरा गरे ।

ट्रम्पले भने, ‘म सधैँ तपाईंहरूका लागि लड्ने छु । म हेरिरहेको हुनेछु र सुनिरहेको हुनेछु । म भन्न चाहन्छु कि यो देशको भविष्य योभन्दा उज्ववल कहिल्यै थिएन । म नयाँ प्रशासनलाई सफलताको शुभकामना दिन चाहन्छु । उनीहरुलाई केही गर्नका लागि आधारशीला बनेको छ जुन पहिले थिएन ।’

उनले थपे, ‘यो चार वर्ष निकै शानदार रह्यो । हामीले मिलेर धेरै कुराहरू हासिल गर्यौं । म आफ्नो परिवार, साथीहरू, कर्मचारी र अन्य मानिसहरूलाई धन्यवाद दिन चाहन्छु ।’

त्यसपछि उनले आफ्नै बखान गरे ।

‘मानिसहरूलाई थाहा छैन कि यो परिवारले कति कडा मिहिनेत गरेको छ । उनीहरुले तपाईंका निम्ति काम गरेका छन् । उनीहरूको जीवन योभन्दा सहज हुनसक्थ्यो । तर, उनीहरुले… उनीहरूले गज्जब गरे । सबैलाई धन्यवाद दिन चाहन्छु ।’

ट्रम्पले टेलिप्रोम्प्टर प्रयोग नगरी अनौपचारिक तवरमा भाषण गरेका थिए । उनले आफ्नो सरकारले हासिल गरेका उपलब्धिहरू सुनाउन पनि समय खर्चिए ।

‘हाम्रा जनता खुशी छन्, सेना दंग छ । हामीले करमा भारी कटौती गर्यौं । आशा छ कि अब उनीहरूले बढाउँदैनन्,’ उनले भने ।

ट्रम्पले चुनावमा आफूले पाएका भोटहरू उल्लेख गरे, तर अर्थपूर्ण रूपमा यसपालि विजेता भएको दावी गरेनन् ।

‘अनेकन व्यवधानका बाबजुद बहालवाला राष्ट्रपतिको इतिहासमा हामीले ७ करोड ५० लाख भोट ल्यायौं । यो अहिलेसम्मै उच्च रेकर्ड हो । मेरो लागि ठूलो सम्मान हो,’ ट्रम्पले भने ।

उनले आफू फर्किने दावी गरे, तर कहाँ भन्ने प्रष्ट्याएनन् ।

‘हामी फर्किने छौं, कुनै रूपमा । तपाईंहरूको जीवन राम्रो होस्,’ ट्रम्पले भने ।

(डेलीमेलको समाचारमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर