संयुक्त संसदीय अनुगमन समिति बनाउँदै सकियो गण्डकीको विशेष अधिवेशन – Nepal Press

संयुक्त संसदीय अनुगमन समिति बनाउँदै सकियो गण्डकीको विशेष अधिवेशन

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन संयुक्त संसदीय अनुगमन समिति गठन गर्दै मंगलबार सकिएको छ । सर्वदलीय सहमतिमा सभामा प्रस्तुत साझा संकल्प प्रस्ताव कोभिड-१९, महंगी नियन्त्रण आदि नियन्त्रण गर्न ९ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा विभाजित नेकपा ओली समूहका मायानाथ अधिकारी, मित्रकुमारी गुरुङ सुवेदी र रोशन गाहामगर, प्रचण्ड–माधव समूहका आशा कोइराला, चन्द्रबहादुर बुढा, राजमोका खिमविक्रम शाही, जसपाकी धनमाया लामा पोखरेल, कांग्रेसका मणिभद्र शर्मा र सरिता गुरुङसहितको संसदीय समिति गठन भएको हो ।

प्रदेश सभा नियमावलीको नियम १५२ अनुसार संसदीय अनुगमन समिति गठन गर्न सक्ने उल्लेख छ । समितको कार्यकाल ३ महिनाको हुनेछ भने समितिले नै निर्धारण गर्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिएका छन् ।

प्रतिनिधि सभा विघटनपछि विभाजित बनेको सत्तारुढ दल नेकपा विवादका कारण अन्य प्रदेशमा सभा बस्न सकेको छैन । तर, गण्डकी प्रदेशमा भने विपक्षी दलहरूकै आग्रह र मागमा विशेष अधिवेशन डाकिएको थियो । जसमा कोभिड नियन्त्रणबारे १३ बुँदे साझा संकल्प प्रस्ताव पेश भएको थियो ।

सर्वदलीय सहमतिमा विशेष अधिवेशनको पाँचौं बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेले प्रस्ताव पेश गरेका थिए । प्रस्तावको समर्थकमा जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य, नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा सांसद गायत्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा थिए ।

संसद गफ गर्ने थलो होइन : मुख्यमन्त्री

सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदलाई गफ गर्ने थलो नबनाउन आग्रह गरेका छन् । अधिवेशनमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले भने, ‘जनताका समस्या समाधान गर्ने थलो हो । यहाँ क्रियटिभ छलफल हुन जरुरी छ । सरकार र सबै सांसद मिलेर प्रदेशलाई भिन्न बनाऔं ।’

कोरोना महामारी नियन्त्रणमा प्रदेशले उल्लेख्य काम गर्दागर्दै विपक्षी पार्टीभन्दा पनि आफ्नै पार्टीबाट विरोध आएको मुख्यमन्त्री गुरुङको गुनासो थियो । ‘पार्टीभित्रै बाट बढी विरो आयो । जहिले यो भएन, त्यो भएन भनियो । तर, यत्रो महामारी हुँदा पनि त्योबारे छलफल कहिल्यै भएन,’ उनले भने ।

अन्य प्रदेशमा आर्थिक वृद्धिदर ऋणात्मक हुँदा भने गण्डकीको धेरै आर्थिक वृद्धिदर रहेको दाबी मुख्यमन्त्री गुरुङ थियो । उनले भने ‘प्रदेशमा केही महंगी बढेको भएपनि आर्थिक वृद्धिदरमा हामी नै अघि छौं ।’ उनले आर्थिक वृद्धिदर बढाउने र गरिबीको रेखा घटाउने गरी काम गरिरहेको सुनाए ।

हालै नेपालमा पनि देखा परेको नयाँ प्रजातिको कोरोना भाइरस फैलिन नदिन प्रदेशले संघीय सरकारसँग समन्वय गरी अघि बढ्ने बताएका छन् । उनले प्रदेशका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको सघन कक्ष बनाउन लागेको भएपनि जनशक्ति अभावका कारण काम अघि बढ्न नसकेको दु:खेसो पोखे । उनले भने, ‘प्रदेशका सबै जिल्लामा भेन्टिलेटरसहितको सघन उपचार केन्द्र बनाउन लागेका छौं । तर, जनशक्ति अभावले कामै शुरू गर्न सकेका छैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर