प्रदेश-२ लुम्बिनीसँग ७७ रनले पराजित – Nepal Press

प्रदेश-२ लुम्बिनीसँग ७७ रनले पराजित

काठमाडौं । अनिल खरेलको चार विकेट प्रेरणामा लुम्बिनी प्रदेशले मंगलबार प्रदेश नम्बर २ लाई ७७ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २५७ रनको योगफल तयार गरेको थियो । २५८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीको कसिलो बलिङसामु टिक्न नसकेको प्रदेश दुईका लागि ओपनर सुधिर चौधरीले सर्वाधिक ७५ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । त्यस्तै, मेहबुब आलमले ३१, हरिकृष्ण साहले २२, र दिव्यान्शु मल्लिक ९ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । तर, आठौं नम्बरमा ब्याटिङ गर्न आएका बिबेक यादवले ४९ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए ।

लुम्बिनीका लागि अनिलले १० ओभरमा २९ रन खर्चेर २ मेडनसहित सर्वाधिक ४ विकेट लिए । त्यस्तै दिपेन्द्र रावतले २ तथा बिक्रम भूसाल, अमित तामाङ, कृष्ण कार्कीले १/१ विकेट लिए ।

यसअघि सन्दीप रजाली र सौरभ खनालको अर्धशतक मद्दतमा लुम्बिनी प्रदेशले २५७ रनको योगफल बनाएको थियो ।

लुम्बिनीका लागि ओपनरद्वय सन्दीप सुनार ११ र सुशान्त थापा ६ रन बनाएर पेभिलियन फर्के पनि मध्यक्रमका ब्याट्सम्यान सन्दीप र सौरभले ९५ रनको साझेदारी गर्दै टोलीलाई सम्मान जन योगफलतर्फ डोर्‍याएका थिए ।

लुम्बिनीका लागि १०७ बलको सामना गरेका सन्दीपले ११ चौकासहित ८३ रनको महत्त्वपूर्ण इनिङ खेले । त्यस्तै, सौरभले ६४ बलमा ५ चौका र ३ छक्कासहित ५६ रनको अर्धशतकीय इनिङ खेले । बिक्रम भुसाल ३६, कप्तान कृष्ण कार्की १० रनमा आउट हुँदा अमित तामाङ ११ र दिपेन्द्र रावत शून्यमा अविजित रहे ।

बलिङतर्फ प्रदेश २ का लागि १० ओभरमा ४८ रन खचिएका हरिकृष्ण साहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, दिव्यान्सु मल्लिकले २ तथा सइफुल्लाह अनसारी, कुमार थापा र विशाल शुस्लिङले १/१ विकेट लिए ।

जितसँगै समूह ‘बी’मा रहेको लुम्बिनी २ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर