दुर्घटना घटाउन टिप्परलाई टाइमकार्ड – Nepal Press

दुर्घटना घटाउन टिप्परलाई टाइमकार्ड

रुपन्देही । सडकमा द्रूत गतिमा गुड्ने टिप्परका कारण बढेकाे दुर्घटनाको जोखिम न्यूनीकरणका लागि लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले टिप्परको टाइमकार्ड लागू गरेको छ ।

अधिक दुर्घटना हुने गरेका कारण आमनागरिकमा टिप्पर ‘यमराज’को नामले कुख्यात छ । रुपन्देहीको बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुंगा बोकेर गुड्ने टिप्परका कारण दुर्घटनाको जोखिम बढेको छ ।

त्यसैले टिप्परहरुलाई टाइमकार्ड लागू गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बिकले बताए । सवारी चाप हुने समय, बिद्यालय क्षेत्र, कार्यालय समय र बजार क्षेत्रमा टिप्परको गतिलाई नियन्त्रणमा लिने प्रहरीको मुख्य उद्देश्य हो ।

टाइम कार्ड लागू भएपछि टिप्पर चालकहरु तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्न पाउने छैनन् । पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागो कारखानासम्म र धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाइम कार्ड लागू गरिएको छ ।

यसरी तोकिएको समयअनुसार अब दोभानदेखि धागो कारखानासम्म ११ किलोमिटरको दुरीमा प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्रै टिप्पर चलाउन पाइने छ ।

ट्राफिक प्रहरीले ११ किलोमिटरको यो दुरीमा ३३ मिनेट समय तोकेको छ । त्यस्तै धागो कारखानादेखि सुनवलसम्म २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ४६ मिनेट समय तोकिएको प्रहरी उपरीक्षक विकले जानकारी दिए ।

सबैभन्दा व्यस्त रहने दोभान भैरहवासम्मको २६ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ५६ मिनेट समय तोकिएको छ । यसअघि टिप्परलाई तोकिएको टाइमकार्डबाट दुर्घटना न्यूनीकरणमा प्रभावकारी भएकोले अब पनि टाइमकार्ड लागू गर्न लागिएको विकले जानकारी दिए ।

सडक दुर्घटना बढ्दै गर्दा ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरणका लागि राडार गनले सवारी साधनको गति मापन गर्ने र लेन अनुशासन पालना गर्ने समेतका कार्य गर्दै आएको छ ।

सडक छेऊमै चालकलाई अनुशिक्षण

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा चल्ने सवारी साधनका चालकहरुलाई सडकमै लेन अनुशासनबारे शिक्षा दिने अभियान पनि सन्चालन गरेको छ ।

लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले लेनको प्रयोग गरेर सवारी साधन संचालन गर्न आग्रह गरेको हो । आइतबार बेलहिया बुटवल ६ लेन सडकखण्ड अन्तर्गत बुटवल कालिकानगरमा मोटरसाइकल चालकहरुलाई गति अनुसारको लेन अनुशासनमा रहने विधि सिकाउन सुरु गरेको हो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्बर बिकले साना सवारी मात्र होइन यात्रुवाहक र मालवाहक सवारी कसैले पनि लेन अनुशासन पालना नगर्दा दुर्घटनाको जोखिम बढेको बताए । उनले सडक बिस्तारसँगै गति अनुसारको लेन छुट्याएको भए पनि पालना नहुँदा दुर्घटनाको जोखिम बढेको बताए । ६ लेन सडक विस्तारसँगै सवारीको चाप बढ्दै गएकोले बुटवल भैरहवा सडकखण्डमा लेनको प्रयोग अनिवार्य भएको उनको भनाइ छ ।

बिकले भने, ‘पहिलो चरणमा एक हप्तासम्म बुटवलदेखि भैरहवासम्मका विभिन्न स्थानमा चालकहरुलाई लेनको प्रयोगबारे जानकारी दिने र कार्यान्वयनमा लैजाने योजना छ, सडकमा लेन छुट्याएर रेखांकन गरिसकेको भएपनि त्यसको प्रयोग नभएकोेले हामीले यसलाई अभियानको रुपमा अगाडि लैजाने योजना बनाएका हौं ।’
लकडाउनमा पनि घटेनन् दुर्घटना

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान संचालन गरेपनि सवारी दुर्घटनाको संख्यामा भने कमी आउन सकेको छैन । कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनकै अवधिमा समेत लुम्बिनी प्रदेशमा दुर्घटनाको संख्या बढी देखिएको छ ।

प्रदेश ट्राफिक प्रहरीले दिएको तथ्यांकलाई हेर्दा साउनदेखि पुससम्म ९ सय १ वटा सवारी साधन दुर्घटनामा परेका छन् । जबकि अघिल्लो वर्ष साउनदेखि पुससम्मको अवधिमा ७ सय ७३ सवारी साधन दुर्घटनामा परेका थिए । यसवर्ष कोरोना महामारीका कारण सवारीसाधनको संचालन कम भएपनि दुर्घटनाको संख्या भने बढेको पाइएको छ ।

अघिल्लो वर्ष लुम्बिनी प्रदेशमा ५ सय ६६ दुर्घटना भएकोमा यसवर्ष भने ६ सय ३७ दुर्घटना भएका छन् । दुर्घटनाको संख्या र साधनको संख्या बढे पनि दुर्घटनामा मृत्यु हुने नागरिकको संख्या भने यस वर्ष ७.२४ प्रतिशतले कमी भएको छ ।

अघिल्लो वर्षको ६ महिनामा प्रदेशमा २ सय ७६ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए । यस वर्ष २ सय ५६ जनाको ज्यान गएको छ । यी दुर्घटनामा यस वर्ष ९ सय २४ जना घाईते भएको प्रहरीले जनाएको छ । गतवर्ष यहि अवधिमा भएका दुर्घटनाका घाईतेको संख्या ८ सय ८१ थियो । प्रदेशमा सवारी दुर्घटनाबाट ज्यान जाने घटनामा अधिकांश घटनाहरु टिप्परसँगै जोडिएको प्रहरीले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर