पौडेल निवास पुगे देउवा, वान टु वान वार्तामा के भयो ? – Nepal Press

पौडेल निवास पुगे देउवा, वान टु वान वार्तामा के भयो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसंग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेललाई ‘फकाउन’ प्रयास थालेका छन् । सोमबार वरिष्ठ नेता पौडेलको बोहोराटारस्थित निवासमै पुगेर सभापति देउवाले सहमतिको प्रस्ताव गरेका छन् ।

अपरान्ह साढे ४ बजे एक्लै बोहोराटार पुगेका देउवा र पौडेलबीच सवा एक घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । भेटमा सभापति देउवाले पार्टीको महाधिवेशन विलम्व गर्ने आफ्नो चाहना नरहेको भन्दै विवाद समाधानका लागि ‘लचिलो’ बन्न पौडेलसंग आग्रह गरेका छन् । ‘क्रियाशील हेर्ने समिति टुंग्याउनुपर्‍यो । समायोजनको विवाद पनि कसरी मिलाउने हो भन्नुपर्‍यो’, भेटमा देउवाले भनेका छन् ।

सभापति देउवाले क्रियाशील सदस्यताको छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गर्ने प्रस्ताव गरेका थिए । वरिष्ठ नेता पौडेलले भने देउवाको प्रस्ताव अस्वीकार गरेका छन् । पौडेलले १३ औं महाधिवेशनमा क्रियाशील सदस्यताको छानबिन समितिको नेतृत्व गरेका नेता नरहरी आचार्यकै संयोजकत्वमा समिति बनाउनुपर्ने बताएका छन् ।

‘रमेश लेखकको संयोजकत्वमा समिति बन्दा निष्पक्ष हुनेमा शंका रहेकोले नरहरी आचार्यकै समितिलाई निरन्तरता दिनुपर्ने सुझाव सभापतिलाई वरिष्ठ नेताले दिनुभएको छ’, बोहोराटार स्रोतले भन्यो ।

भेटका क्रममा सभापति देउवाले सिन्धुपाल्चोक, बारा र सप्तरीमा पार्टी समायोजनका क्रममा देखिएको विवाद समाधान गर्न पनि आफू तत्पर रहेको बताएका थिए । बैठकमा पार्टीका आन्तरिक विषयमा दुवै नेताबीच खुलस्त छलफल भएपनि कुनैपनि विषयमा सहमति भने बनेन ।

भेटमा सभापति देउवाले प्रदेश सभामा पेश भएका अविश्वास प्रस्तावबारे के गर्दा उपयुक्त होला ? भनेर पौडेलको सुझाव लिएका थिए । वरिष्ठ नेता पौडेलले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएपछिको अवस्था हेरेर उपयुक्त निर्णय लिनुपर्ने बताएका थिए । भेटका क्रममा पौडेलले सभापति देउवालाई सत्ताको मात्रै लोभ नगरी लोकतन्त्रका लागि आन्दोलनको नेतृत्व गर्न सुझाएका थिए । सभापति देउवाले पनि आफू आन्दोलनसंग डराएको नभई अदालतको निर्णय मान्ने धारणा मात्रै राखेको बताएका थिए ।

दुई नेताबीचको ‘वान टु वान’ वार्तामा महाधिवेशन कार्यतालिका संशोधन र समसामयिक राजनीतिबारे बढी छलफल भएको थियो । कांग्रेसमा सभापति देउवाले अदालतको आदेश मानेर जानुपर्ने बताउँदै आएका छन् भने पौडेलले अदालतको आदेश जे भएपनि पार्टीले संविधान जोगाउन आन्दोलन गर्नुपर्ने बताउँदै आएका छन् । सोमबार नै ठोस सहमति नबनेपनि सभापति र वरिष्ठ नेताबीचको भेटलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर