चित्रबहादुरको चिन्ताः संसद विघटनपछि विदेशी चलखेल बढ्यो – Nepal Press

चित्रबहादुरको चिन्ताः संसद विघटनपछि विदेशी चलखेल बढ्यो

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन भएसंगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेको बताएका छन् ।

भारत, अमेरिका र युरोपियन युनियनको चलखेल बढेको उनले दावी गरे । अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हितविपरीत रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दावी केसीको छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष केसीले सत्तासीन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताएका छन् ।

नेता केसीले भने– ओली र प्रचण्डको स्वार्थ पूरा नहुँदा देश दुर्घटनातर्फ उन्मूख भएको छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरीत हुँदैछ, उनीहरु जनताका लागि होइन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बाँडफाँड नमिलेका कारण यस्तो अवस्था आएको हो ।

सिद्धान्त, नीति र विचारका आधारमा एकता नभएकाले छोटो समयमा नै नेकपामा विवाद आएको उनको तर्क छ ।

पूर्वउपप्रधानमन्त्री नेता केसीले सर्वोच्च अदालतसमेत निष्पक्ष हुन नसक्नु दुःखद पक्ष भएको भन्दै संवैधानिक इजलास गठन गर्नुनै नीतिगत कमजोरी भएको बताए ।

केसीले संविधान बनाउँदा नीतिगत बदमासी भएकाले अहिले देशले सुमस्या भोग्नुपरेको बताउँदै भने– हालसम्मका उपलव्धीहरुको रक्षा गर्नु प्रमुख दायित्व हो, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता प्रगतिशील व्यवस्थालाई संस्थागत गर्नु हाम्रो उद्देश्य हो ।

संघीयता असफलसिद्ध भैसकेको बताउँंदै हिजो संघीयता ल्याउन मरिहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिंड्न थालेको भन्दै केसीले बताए ।

भेलामा वामपन्थी नेता सुरेश थापा, बुद्धिजिवी दुर्गानाथ खरेल, बद्रे आलम, नेत्र आचार्यलगायतले सरकारको असंवैधानिक कदम, संघीयताविरुद्व र राष्ट्रियता, धर्मनिरपेक्षताको पक्षमा राष्ट्रिय जनमोर्चाको अभियानलाई निरन्तरता दिन माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर