पत्रकारका लागि ‘मोजो’ तालिम – Nepal Press

पत्रकारका लागि ‘मोजो’ तालिम

चितवन । सञ्चार रजिष्ट्रारको कार्यालय वाग्मती प्रदेशले सोमबार चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी होमस्टेमा मल्टिमिडिया तथा मोबाइल पत्रकारिता (मोजो) तालिम शुरु गरेको छ ।

पत्रकारितामा नवितम प्रयोगलाई विस्तार र विकास गराउन वाग्मती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता विकास गर्ने उद्देश्यले २० जना पत्रकारलाई सहभागी गराएर यो तालिम आयोजना गरिएको सञ्चार रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

तालिमको उदघाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीमा बसेर मल्टिमिडिया र यहाँको समाज अध्ययन गरिदिन सहभागी पत्रकारलाई आग्रह गरे । संविधानले मौलिक हकका रुपमा प्रत्याभुत गरेको शिक्षा,स्वास्थ्य र रोजगारीलाई व्यवहारमा लागू गराउने प्रयास माडीमा थालिएको नगरप्रमुख ढकालले बताए ।

कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले पत्रकारलाई आधुनिक र दक्ष बनाउन क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको र त्यसले पत्रकारितामा पर्ने प्रभावका बारेमा जानकारी गराए ।

इन्टरनेटमा सहज पहुँचसँगै लोकल ग्लोबलमा र ग्लोबल लोकल भएको परिस्थतिमा मोबाइललाई पत्रकारले प्रयोग गर्ने ज्ञान तालिममा दिन खोजिएको सञ्चार रजिष्ट्रार सापकोटाले बताए ।

सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार आगामी दिनमा मल्टिमिडिया र डिजिटल पत्रकारिताका अन्य बिषयमा पनि तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्प ढकालले पत्रकारिता र सञ्चार माध्यमको गुणस्तर विकास गर्नका लागि यस्ता तालिम पत्रकारका लागि उपयोगी हुने बिश्वास व्यक्त गरे ।

पत्रकार बिकास कार्की र बिजय गजमेरले मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिमका बिबिध पक्षमा तालिम दिनेछन् । यो तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ ।

सञ्चार रजिष्ट्रारको कार्यालय वाग्मति प्रदेशले अघिल्लो वर्ष पनि यस्ता तीन वटा तालिम सञ्चालन गरेको थियो ।
तालिमपछि स्मार्ट मोबाइलले तस्विर र भिडियो खिच्न,सम्पादन गर्न, आवाज भर्न र पूर्ण रिपोर्ट बनाउने कला पत्रकारले सिक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *