स्वास्थ्य मन्त्रालयको चेतावनी- नेपालमा कोरोनाको ‘सेकेन्ड-वेभ’ आउन सक्छ – Nepal Press

स्वास्थ्य मन्त्रालयको चेतावनी- नेपालमा कोरोनाको ‘सेकेन्ड-वेभ’ आउन सक्छ

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाभाइरस भेटिएसँगै विज्ञहरुले दोस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । नेपाल प्रेससँग कुरा गर्दै टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जनस्वास्थ्यका मापदण्डलाई झनै कडाइका साथ पालना गर्नुपर्ने बेला आएको बताए ।

‘पहिलो नै नेपालमा नयाँ कोरोना आएको अनुमान थियो तर, यो कुरा बल्ल आज पुष्टि भयो’ उनले भने, ‘पहिलेभन्दा ७० प्रतिशत बढीले जोखिमपूर्ण हुने भएकाले नयाँ कोरोनाबाट सावधान हुनुपर्ने हुन्छ किनभने यसको फैलने गति तीव्र हुन्छ ।’

नयाँ प्रजातिको भाइरसले अहिले विकसित गरिएको खोपको प्रभावकारितालाई पनि चुनौति दिने पुनले बताए ।

‘अहिले विद्यालय, सिनेमा घर र बजार खोलिएको अवस्था छ’ उनले भने, ‘अब यी थलोमा जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ । नागरिक स्वयम् सचेत नहुने हो भने भोलि कठिन पर्नसक्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पनि नयाँ जातको कोरोनाभाइरस भेटिएसँगै नागरिक थप सतर्क हुनुपर्ने बताए ।

‘यसले दोस्रो वेभको खतरातर्फ संकेत गरेको छ’ गौतमले भने, ‘किनभने अहिले बजार, विद्यालय र कार्यालय खुलिसकेको अवस्था छ र भीडभाड बढेको छ । यस्तो अवस्थामा नयाँ भाइरसको फैलावट बढी हुन्छ ।’

इटाली, जर्मनी र बेलायतमा जस्तो हताहतको स्थिती आए पुनः नियमनको दिशातर्फ सरकार जान सक्ने पनि उनले जनाए । संक्रमण घटेजस्तो देखिएपनि जोखिम चाहिँ नघटेको उनले बताए ।

‘भोलि स्थिती भयावह बन्न थाल्यो भने पुनः नियमन गर्ने स्थितीतर्फ अघि बढ्न सकिन्छ’ उनले भने, ‘अहिले खुलेका विद्यालय, फिल्म हल र कार्यालय पुनः बन्द हुनसक्छन् ।’ खोपभन्दा महत्वपूर्ण मास्क भएको समेत गौतमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *