काभ्रेमा नेकपा जनप्रतिनिधिको कित्ता खुल्दै- स्थानीय तहमा ओलीपक्ष हावी – Nepal Press

काभ्रेमा नेकपा जनप्रतिनिधिको कित्ता खुल्दै- स्थानीय तहमा ओलीपक्ष हावी

काठमाडौं । नेकपा विभाजनपछि काभ्रेपलाञ्चोक जिल्लाका नेकपाका नेता तथा जनप्रतिनिधिहरू प्रायःले आफ्नो कित्ता प्रष्ट पारेका छन् । केही जनप्रतिनिधि भने अझै पनि कतै खुलेका छैनन् ।

तटस्थ मध्ये कोही सूर्य चिह्नको पर्खाइमा छन् भने कोही पार्टी एकताको पक्षमा लागेका छन् । जिल्लाका स्थानीय तहका जनप्रतिनिधिमा ओली पक्षको बाहुल्यता देखिन्छ प्रदेशसभा सांसदहरु प्रचण्ड माधव पक्षमा बढी छन् ।

काभ्रेमा गोकुल बास्कोटाको प्रभाव तल्लो तहसम्म देखिएको छ ।

को कता ?

दुई निर्वाचन क्षेत्र रहेको काभ्रेमा विघटित प्रतिनिधिसभाका प्रत्यक्षतर्फ निर्वाचित सांसदमध्ये क्षेत्र नम्बर १ का गंगाबहादुर तामाङ प्रचण्ड-माधव पक्षमा लागेका छन् भने पूर्व सञ्चारमन्त्री तथा क्षेत्र नम्बर २ का गोकुल बास्कोटा ओली पक्षमा छन् ।

नेकपा एकता हुनुअघि गंगावहादुर पूर्व माओवादीमा थिए । विघटित प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व गर्ने अनेरास्ववियुकी पूर्व अध्यक्षसमेत रहेकी नेता नविना लामा ओली पक्षमा छिन् ।

काभ्रेबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये चन्द्र लामा र गोमा भूर्तेल ओली पक्षमा छन् भने प्रदेश सांसद बसुन्धरा हुमागाईं, रत्न ढकाल, लक्ष्मण लम्साल प्रचण्ड-माधव पक्षमा छन् ।

हुमागाईं पहिले ओली पक्षका थिए । रत्न ढकाल पूर्व माओवादी हुन् भने लक्ष्मण लम्साल पूर्व एमालेमा माधव नेपाल गुटका थिए ।

विघटित प्रतिनिधिसभा

प्रत्यक्ष
क्षेत्र नम्वर १–गंगावहादुर तामाङ (प्रचण्ड-माधव)
क्षेत्र नम्वर २– गोकुल बास्कोटा (ओली)

समानुपातिक 
नविना लामा (ओली)

प्रदेश सांसद
चन्द्रवहादुर लामा– (ओली)
रत्न ढकाल (प्रचण्ड–माधव)
लक्ष्मण लम्साल (प्रचण्ड–माधव)
बसुन्धरा हुमागाई (प्रचण्ड–माधव)
गोमा भुर्तेल (ओली)

स्थानीय तहमा ओली पक्ष हाबी

काभ्रेमा ६ नगरपालिका र ७  गाउँपालिका गरी १३ स्थानीय तह छन् । ती मध्ये गत स्थानीय तहको निर्वाचनमा पाँचखाल नागरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो ।

बाँकी ८ स्थानीय तहमा पूर्व एमालेले ६ र पूर्व माओवादीले २ तह जितेका थिए । चौंरी देउराली र महाभारत गाउँपालिकामा प्रमुख र उपप्रमुख पूर्व माओवादीले जितेको थियो भने धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका, भुम्लु गाउँपालिकामा पूर्व एमालेले जितेको थियो ।

पार्टी विभाजित भएसँगै ८ स्थानीय तहमा रहेका अधिकांश नेकपाको प्रमुख र उप–प्रमुखले आफ्नो कित्ता प्रष्ट गरेका छन् । तर, केही भने अझै खुलेका छैनन् ।

बनेपा नगरपालिकाको मेयर लक्ष्मी नरसिंह वादे र उपमेयर रेखा दाहाल ओली पक्षमा छन् । धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जु र उपमेयर विमला शर्मा चौलागाई ओली पक्षमा छन् । नगरपालिका संघका अध्यक्ष समेत रहेका व्याञ्जु नेकपा काभ्रेको अध्यक्ष हुन् ।

पनौती नगरपालिकाका मेयर भीम न्यौपाने र उपमेयर गीता बन्जारा पनि ओली पक्षमा छन् । नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना ओली पक्षमा छन् भने उपमेयर रामदेवी तामाङ तटस्थ छिन् ।

उनी कुनै पनि पक्षको कार्यक्रम, बैठक तथा भेलामा सहभागी भएकी छैनन् । काभ्रे नेकपा स्रोतका अनुसार पूर्व एमालेमा उनी माधव गुटकी थिइन् ।

। खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाल र उपाध्यक्ष रूक्मेणी गुरुङ ओली पक्षमै छन् ।

मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबा प्रचण्ड–माधव पक्षमा छन् । उपमेयर निर्मला कुमारी शाही भने ओली पक्षमा छिन् । मेयर वाइबा तत्कालीन एमालेको जिल्ला अध्यक्ष र एकतापछि सचिव हुन् ।

भुम्लु गाउँपालिकामा अध्यक्ष गुमानध्वज कुँवर र उपाध्यक्ष कल्पना श्रेष्ठ दुवै तटस्थ छन् । स्रोतका अनुसार उनीहरू तटस्थ बस्नुको कारण सूर्य चिह्न हो ।

‘सूर्य चिह्न कता जान्छ भनेर उहाँहरू खुल्नुभएको छैन । अर्कोचाहिं पार्टी एकताको पक्षमा पनि उहाँहरू देखिनुहुन्छ,’ निकट स्रोतले नेपालप्रेसलाई बतायो ।

चौंरी देउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतम र उपाध्यक्ष तारा कुमारी चौलागाईं प्रचण्ड–माधव पक्षमा छन् । उनीहरू दुवै पूर्व माओवादी हुन् । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र उपाध्यक्ष चेत कुमारी माझी प्रचण्ड–माधव पक्षमा छन् । उनीहरू दुवै पूर्वमाओवादी हुन्

धुलिखेल नगरपालिका
मेयर– अशोक व्याञ्जु (ओली)
उपमेयर– विमला शर्मा (ओली)

वनेपा नगरपालिका
मेयर– लक्ष्मीनरसिंह वादे (ओली)
उपमेयर – रेखा दाहाल (ओली)

पनौती नगरपालिका
मेयर– भीम न्यौपाने (ओली)
उपमेयर – गीता बञ्जारा (ओली)

नमोबुद्ध नगरपालिका
मेयर– टिपी शर्मा तिम्सिना (ओली)
उपमेयर –रामदेवी तामाङ (तटस्थ)

मण्डन देउपुर नगरपालिका
मेयर– टोकवहादुर वाइबा (प्रचण्ड–माधव)
उपमेयर– निर्मला शाही (ओली)

भुम्लु गाउँपालिका
अध्यक्ष– गुमानध्वज कुँवर (तटस्थ)
उपाध्यक्ष– कल्पना श्रेष्ठ (तटस्थ)

खानीखोला गाउँपालिका
अध्यक्ष–कृष्णबहादुर खुलाल (ओली)
उपाध्यक्ष– रूक्मेणी गुरुङ (ओली)

चौंरी देउराली गाउँपालिका
अध्यक्ष– दिनानाथ गौतम (प्रचण्ड–माधव)
उपाध्यक्ष– तारा कुमारी चौलागाई (प्रचण्ड–माधव)

महाभारत गाउँपालिका
अध्यक्ष–कान्छा लाल जिम्बा (प्रचण्ड–माधव)
उपाध्यक्ष चेत कुमारी माझी (प्रचण्ड–माधव)

जिल्लाका नेता को कता ?

जिल्लाका नेतामध्ये पूर्व सांसद कृष्ण प्रसाद सापकोटा, कमला दोङ, तेजबहादुर मिजार, रेणुका चौलागाई, विदुर सापकोटा, सूर्यमान दोङ प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् भने संविधानसभा सदस्य रामहरि सुवेदी ओली पक्षमा छन् ।

पूर्व उद्योगराज्यमन्त्री रेशम बहादुर लामा पनि अहिले ओली पक्षमा देखिएका छन् । राप्रपा पूर्व सह–महामन्त्री समेत रहेका लामा ०७४ सालको दोस्रो चरणको प्रतिनिधि सभाको चुनावमा एमाले प्रवेश गरेका थिए । उनलाई माधव नेपालले एमाले प्रवेश गराएका थिए । बिगतमा काभ्रेबाटै निर्वाचित भएर मन्त्री बनेका स्थायी कमिटी सदस्य केशव बडाल ओली पक्षमाा छन् ।

जिल्ला कमिटीमा ओली पक्षकै बाहुल्यता देखिन्छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र एकता भएपछि १ सय २० जना जिल्ला कमिटी सदस्यको टीम थियो । पार्टी विभाजन हुँदा ६७ जना ओली पक्षमा छन् ।

जनवर्गीय संगठनमा पनि ओली पक्षकै बाहुल्यता देखिन्छ । वाइसिएलको जिल्ला इन्चार्ज समेत भइसकेका पूर्व माओवादी लडाकु राजकुमार श्रेष्ठ अहिले ओली पक्षमा देखिएका छन् । माओवादी निकट अखिल क्रान्तिकारीको साबिक जिल्ला अध्यक्ष सुन्दर खड्का पनि अहिले ओली पक्षमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर