जर्मन चान्सलर एन्जेला मर्केलद्धारा सत्ता त्याग्ने घोषणा – Nepal Press

जर्मन चान्सलर एन्जेला मर्केलद्धारा सत्ता त्याग्ने घोषणा

सीएनएन –विश्वकै सफल राजनीतिज्ञको छवि बनाएकी जर्मन चान्सलर एन्जेला मर्केलले सन् २०२१ को अन्त्यमा सत्ता त्याग्ने घोषणा गरेकी छिन् । उनको सत्ता कार्यकालमा बेलायतमा पाँच प्रधानमन्त्री फेरिए, फ्रान्समा चार राष्ट्रपति र इटालीमा सात प्रधानमन्त्री ।

विहिबार राष्ट्रपतिको सपथ लिन लागेका जो बाइडेनसहित चार अमेरिकी राष्ट्रपतिसँग मर्केलको सहकार्य अनुभव हुनेछ ।

विश्वकै चौंथो ठूलो अर्थतन्त्रलाई नेतृत्व गरेकी मर्केलले आफ्नो शासन अवधिभर आफ्ना मूल्यहरुलाई स्थापित गर्न डटिरहिन् । उनका समकक्षीले उनलाई सत्ताच्युत गर्न र अपमान गर्न धेरै प्रयास गरे ।

कुकुरदेखि डराउने स्वभावकी मर्केलसँगको एक बैठकमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफूसँगै कुकुर लगेर अपमानको प्रयास गरेका थिए । डोनाल्ड ट्रम्पले त बदमास भन्दै टिप्पणी गरेका थिए । सिल्भियो बर्लुस्कोनीले एकछिन पर्खनूस भन्दै फोनमा १५ मिनेट वेट गराएका थिए ।

सन् २००५ मा जर्मनीलाई नेतृत्व गर्ने पहिलो महिला चान्सलर भएलगत्तै उनलाई आलोचकले अनुभव नभएकी र राम्रो छवि नभएकी महिलाको रुपमा लिएका थिए । जर्मनीमा सबैभन्दा बढी पढिने बाइल्ड नामक अखबारले एकपटक मर्केलको ठूलो फोटो पहिलो पृष्ठमा छाप्दै ‘मिस जर्मनी’ हेडलाइन लेखेको थियो ।

१५ वर्ष लामो राजनीतिको करियमा राजनीतिज्ञ, त्यसमा पनि पुरुषले सिक्नुपर्ने पाठ भनेको कहिल्यै महिलालाई कमजोर नठान्नू भन्ने हो । मर्केलले अहिले जर्मनीमा चौंथो पटकको कार्यकालमा शासन गरिरहेकी छिन् । मर्केलले आफ्नो दललाई १८ वर्षसम्म नेतृत्व गर्दै सन् २०१८ बाट पदबाट हटेकी थिइन् । बर्लिन पर्खाल ढलेपछि पूर्वी जर्मनीबाट उच्च नेतृत्वमा पुग्ने राजनीतिज्ञ पनि हुन् उनी ।

तर, उनका आलोचक चाहिँ के कुरामा सहमत छन् भने जब संकट आइपर्छ, त्यसलाई व्यवस्थापन गर्ने कुरामा मर्केल सक्षम हुने गर्छिन् । उनी खासगरि वित्तिय संकटसँग जुधिरहेको जर्मनी, युरोपेली ऋण संकट, आप्रवासी समस्या र कोरोनाभाइरस महामारी व्यवस्थापनमा सफल रहिन् ।

पाँचौंपटक पुनः चान्सलर बन्ने सम्भावनालाई भने स्वयम मर्केल नकार्छिन् किनभने उनी स्वयम आफ्नो प्रतिबद्धतामा अडिग छिन् । चान्सलर पदबाट हटेपछि आफू आलुको सुप लगायतका खानेकुरा पकाउन व्यस्त हुने उनले बताइन् । अर्को ठूलो पद लिने सम्भावनालाई पनि उनले नकारिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर