आर्मीको लगातार दोस्रो जित, कर्णाली सस्तैमा समेटियो – Nepal Press

आर्मीको लगातार दोस्रो जित, कर्णाली सस्तैमा समेटियो

काठमाडौं । सुसन भारीको चार विकेट प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको आर्मीले आइतबार कर्णाली प्रदेशलाई ८० रनले हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रनको योगफल तयार गरेको थियो । १९६ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ३३.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

कसिलो बलिङ गरेका भारीले ८.३ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर सर्वाधिक चार विकेट लिए । त्यस्तै किफायती बलिङ गरेका साहब आलमले १० ओभरमा ४४ रन खर्चेर १ मेडनसहित तीन विकेट लिए । आर्मीका रोहित पौडेल र हरि चौहानले क्रमशः दुई र एक विकेट लिए ।

आर्मीको आक्रमक बलिङसामु सस्तैमा समेटिएको कर्णालीका लागि कप्तान रबिन्द्र शाहीले ४२ बलमा ६ चौकासहित सर्वाधिक ३० रन बनाए । त्यस्तै, हेमन्त ओलीले १६ र दिनेश अधिकारीले १२ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीका लागि अनिल मण्डलले ११४ बलमा १४ चौकासहित ८९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । त्यस्तै कप्तान विनोद भण्डारीले ५५ बलमा ३ चौका र एक छक्कासहित ४० रन बनाएर पेभेलियन फर्किँदा राजेश पुलामी मगरले १६ र लोकेश बमले १३ रन जोडेका थिए । आर्मीका अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

कर्णालीका लागि दिनेश अधिकारी, दिवन पुन र राज साहले दुई/दुई विकेट लिएका थिए । त्यस्तै, अनुज चुनारा, युनिश सिंह र रविन्द्र शाहीले एक/एक विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *