हजारगुणी सिमललाई किन हेलाँ ? – Nepal Press

हजारगुणी सिमललाई किन हेलाँ ?

आजभोलि हाम्रो गाउँघरतिर सिमल मासिन थाल्यो । हामी यो बुढो सिमलको बोटले बारीको खेतीपातीलाई सेप पुर्‍यायो भन्ने सोच्दै काठ बेचेर केही आम्दानी लिने लोभमा यसको लोप गराउँदै छौं।

तर, यसको अभावले के असर होला भन्ने प्रश्न यदाकदा मात्र सुनिन्छ । सिमल मात्र हैन रैथाने कुनै पनि बोट बिरुवाबारे हामी चिन्तित छैनौं । कारण हामी यसको गुण र उपयोग सँग परिचित रहेनौ । न त परिचित रहने कोसिस नै गर्दछौ ।

सिमल रुखको मैझारोले दिने वातावरण, पर्यावरण र जैविक विविधताबारे निकै चर्चा हुने गर्छ । यसले हाम्रो आफ्नै लागि दिन सक्ने औषधीय, खाद्य, औद्योगिक र दानाजन्य गुणबारे चर्चा हुँदैन । चर्चा नै गरिएछ भने यसको दाउरा र फर्निचरको मूल्यबारे मात्र चर्चा हुन्छ ।

हाम्रो गाउँ-घरमा कलिलो सिमलको जराको गुदी र डाँठको भित्री भाग हालेर सेल रोटी बनाउने चलन थियो । यसले रोटी नरम, लयालो, फूल्ने त बनाउँथ्यो नै । महत्त्वपूर्ण पक्ष यसले हाम्रा परिकारहरू औषधीय गुणयुक्त बनाउने गर्दथ्यो ।

हाम्रो गाउँ-घरमा कलिलो सिमलको जराको गुदी र डाँठको भित्री भाग हालेर सेल रोटी बनाउने चलन थियो । यसले रोटी नरम, लयालो, फूल्ने त बनाउँथ्यो नै । महत्त्वपूर्ण पक्ष यसले हाम्रा परिकारहरू औषधीय गुणयुक्त बनाउने गर्दथ्यो ।

शुद्ध घिउमा तरिने खाद्यान्‍नहरूमा सिमलको प्रयोग हाम्रो परम्परागत रैथाने ज्ञान र चलनले दिएको एक उत्कृष्ट उपहार थियो । सिमल मिसिएको खानाहरू हाम्रो परम्परागत औषधीय खानपानको शालीन परम्परासमेत हो ।

हिजो सफा सिमलको पातलाई पानीसँग पिसेर/छानेर आएको झोल पिएर रगत सफा गर्ने हाम्रो घरेलु तरिका थियो । सिमलको पातको डाँठ पानीमा उमालेर आधा घटेपछि छानेर पूरा सेलाएपछि दिनको तीनपटक पिएर पखालाको ओखती गरिन्थ्यो ।

यसले शरीरमा पानी अडिने शक्ति बढाएर पखाला लाग्दा पानीको कमी हुने समस्याबाट बचाउँथ्यो । डिसेन्ट्रीको समस्या अधिक हुन जाँदा सिमलको फूलको माथिको भाग रातभर पानीमा डुबाएर बिहान त्यसमा मह घुलेर खान दिने गरिन्थ्यो ।

पुरुषकाे शुक्रकीटमा देखिने अर्ध विकार, निदाएको बेला हुने वीर्य उत्सर्जन र तागत युक्त वीर्य उपयुक्त सङ्ख्यामा नहुनु जस्ता समस्याहरूमा समेत सिमल हाम्रो घरेलु ओखती थियो ।

सिमलको जराको पाउडर वा चुर्ण बिहान-बेलुकी पानीसँग दुईपटक पिएर योनि मार्गबाट हुने पहेँलो तथा हल्का हरियो सेतो बाक्लो र्‍यालको प्रवाहमा रोक्ने ओखतीका रूपमा प्रयोग हुने गर्दथ्यो । त्यस्तो समस्यामा सिमलको फूल गाई वा भैँसीको घिऊमा भुटेर तरकारी बनाएर खाने पनि चलन थियो ।

महिनावारी हुँदा सामान्यभन्दा धेरै रगत बहने समस्यामा सिमलको जराको पाउडर १०० ग्राम, जेठी मधुको पाउडर ५० ग्राम र शुद्ध गरी खान हुने बनाइएको २५ ग्राम रातो गेरु माटोको धुलो मिश्रित उत्पादनको पाउडर पानी वा दूधसँग लिएर ठीक गर्ने चलन थियो ।

मानिसले कमसल महसुस गर्दा सिमलको फूलको फेदको हरियो भागलाई सफा गरी ओझेलमा सुकाइन्थ्यो । सुकेको फूलको हरियो भागलाई पाउडर बनाइ, एक चम्चा पाउडरमा दुई चमचा मह र एक चमचा गाई वा भैँसीको घिउ सहित दूधमा घोलेर पिउने गरिन्थ्यो ।

पुरुषकाे शुक्रकीटमा देखिने अर्ध विकार, निदाएको बेला हुने वीर्य उत्सर्जन र तागत युक्त वीर्य उपयुक्त सङ्ख्यामा नहुनु जस्ता समस्याहरूमा समेत सिमल हाम्रो घरेलु ओखती थियो । हाम्रा पुर्खा निदाएको बेला हुने वीर्य उत्सर्जन रोक्न सिमलको कोमल जरालाई सफा गरी ओझेल परेको स्थानमा सुकाउँथे । सुकेपछि पाउडर बनाएर आफूलाई जसरी सजिलो लाग्छ त्यसरी खाएर समस्याको समाधान गर्दथे ।

शुक्रकीटमा अर्ध विकार हटाउन, तागत थप्न र सङ्ख्या बढाउन सिमलको जराको पाउडर, सक्करखण्ड, कुरिलो र मिश्री मिश्रित चुर्ण बिहान बेलुकी दिनको दुई पटक दूध सँग खाने गरिन्थ्यो ।

पुरुषमा सम्भोगको समयमा लिङ्ग उत्तेजित र कडा नहुने समस्यामा सिमलको फलको १० ग्रहण पाउडर १० ग्राम चिनी वा महसँग मिसाएर १०० एमएल पानीमा घोलेर पिउने र तागत प्राप्त गर्ने गरिन्थ्यो । दैनिक बिहान बेलुका एक देखि ३ ग्राम पानी वा मह सँग सिमलको रुखको चोप खाने गर्दा उच्च रक्तचापमा धेरै फाइदा गर्ने गर्छ । वीर्यको मात्रा, वीर्यमा शुक्रकीटको सङ्ख्या र क्रीडा शक्ति बढाउने दैनिक सिमलको बोक्राको २० एमएल रस महसँग खान सुझाइन्थ्यो ।

कलिला रुखहरूका अवस्थामा सिमलको बोक्रामा काँडा हुने गर्छ । उक्त काँडासहितको डाँठको बोक्रा र बोक्रामा काँडा भएको सिमलको जराको पानीसँग बनाएको लिस्याइलो पाउडर दलेर छालाको डन्डिफोरको ओखतीको रूपमा लगाइन्थ्यो ।

काटेको वा घाऊ निको भए पछि छालामा बस्ने दाग र छालामा हुने सङ साना छिर्काहरू हटाएर छाला चिल्लो बनाउन पनि उक्त लेदो प्रयोग हुन्थ्यो ।

सिमलको जराको पाउडरलाई कालो मरीच र अदुवाको चुर्णसँग मिलाएर बनेको मिश्रण रुघ-खोकीको दबाइ बन्थ्यो । आगोले पोलेको स्थानमा सिमलको भुवा पोलेर निक्लने खरानी दलेर बिरामीलाई शीतलता दिने र राहत पुर्‍याउने गरिन्थ्यो ।

सफा गरेको सिमलको बोक्रालाई सुकाएर धुलो बनाएको पाउडरको दूध रसाउने गुण हुन्छ । दिनको दुईपटक सेवन गरी स्तनपान गराउने महिलाको दूध बढाउने ओखती थियो सिमलको बोक्राको धुलो । छालामा भएको खटिरा तिनै धुलोको पानी सँग पेष्ट बनाएर लगाउँदा निको हुन्थे ।

शरीरमा उम्रने मुसा, त्यान्द्रो, लुर्को आदी हटाउन सिमलको पातलाई पानी सँग घोटेर बनेको लेदो नियमित लगाउँदा ती फुन्द्रा, लुर्का, मुसा सबै सानो हुँदै गएर अन्ततः बिलाउने गर्दथ्यो ।

सिमलको फूलको पत्ताको पेष्ट मानव दूधसँग पिनी पेस्ट बनाएर आँखावरपरको छालामा लगाएर पाकेको आँखाको ओखती गरिन्थ्यो । नवविवाहितहरुमा हनिमुन पिरियडमा हुने धेरै सम्भोगले उनीहरूको कम्मर दुख्ने गर्छ । सिमलको बिरुवाको जरा थिची बनाएको टनिक त्यस्ता जोडीको कम्मर दुखेको ओखती हुने गर्दथ्यो ।

शरीरमा उम्रने मुसा, त्यान्द्रो, लुर्को आदी हटाउन सिमलको पातलाई पानी सँग घोटेर बनेको लेदो नियमित लगाउँदा ती फुन्द्रा, लुर्का, मुसा सबै सानो हुँदै गएर अन्ततः बिलाउने गर्दथ्यो ।

आयुर्वेदमा सिमलको रुखलाई प्रजनन शक्ति बढाउने कामोद्दीपक टनिक बनाउन, ओठ-अनुहार फुटी रगत बगी दिने दर्द कम गर्ने लोसन बनाउन, पखाला विरुद्धको ओखती बनाउन, कमजोरी हुँदा सामान्य स्वस्थ अवस्थामा फर्काउन, डिसेन्ट्रीको ओखती बनाउन, हानिकारक जीवाणु विरुद्ध घाउहरूको लेपनमा, पिसाब लगाउने ओखतीमा, ज्वरो घटाउने ओखती र शक्तिवर्द्धक टॉनिक बनाउन उपयोगी वनस्पतिको रूपमा चित्रित गरेको छ ।

दम, पखाला, घाउ, योनि स्राव, रक्ताल्पता, स्वप्न तथा वीर्य दोष र छालाको समस्याहरूको उपचारमा प्रयोग हुने आयुर्वेदिक ओखती हरुमा सिमलको विभिन्न भाग प्रयोग भएको देखिन्छ ।

वनस्पतिको आफ्नै प्रजातिगत वंशाणुगत स्मरण वा डिएनए भएता पनि उक्त वनस्पतिमा रहेको कुन-कुन तत्त्व मानव रोगमा औषधीय मूल्यको छन् भन्ने कुराको सन्दर्भबाट हेर्दा सिमलको रुखको आफ्नै विशेषता छ । यसमा भेटिएका उल्लेखनीय फाईटोकेमिकलमा प्रोटिन, अलकोलोइड, ग्लुकोसाइड, फाईटोसटेरोल र फिनोलिक कम्पाउन्डहरू वा फ्लाभोनोईडस हुन् । फिनोलिक कम्पाउण्डहरुमा कुर्सिटिन, स्यामीमिन, मंगीफिरिन, क्यम्फरोल र नेप्थालिनका उत्पादनहरू महत्त्वपूर्ण देखिन्छन् ।

सिमलमा भेटिने स्यामिमिम सी-फ्लाभोनोईड ग्लुकोसाइड उच्च रक्तचाप घटाउने पदार्थ हो । उक्त रक्तचाप भएको बिरामीको ओखतीमा प्रयोग गर्दा प्रभावकारी बनेको हो ।

सिमलको कलिलो पात, पातको डाँठ र गेडा पिनेर निकालेको पिना गाईबस्तुको दाना बनाउन प्रयोग गरिन्छ । सिमलको फूल्दै गरेको फूलको पुच्छरको हरियो भाग खानाको रूपमा खानुको त्यही औषधीय मूल्य नै हो ।

वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सिमलको सबै भाग औषधीय मूल्यको र खाद्य मूल्यको भेटिन्छ । सिमलको फूल र फूलको हरियो भागको पौष्टिकता चुकन्दर, फर्सी, गाजर, बन्दा र मुलाभन्दा उत्तम भेटिन्छ ।

यसको फेदको हरियो भाग र माथिको फूलमा क्रमशः प्रोटिन १.५६%, १.३८ ५ कार्बोहाइड्रेट ४३.८७%, ११.९५%, खरानी १.००%, १.०९% मिली ग्राम प्रति सय ग्राम क्यसियम ९५.००, ९२.२५ मिली ग्राम प्रति सय ग्राम म्याग्नेसियम ६४.००, ५४.२४ मिली ग्राम प्रति सय ग्राम फस्फोरस ४१.००, ४९.०० भेटिएको छ ।

यसको बोक्राको चिप्लो भाग छालाको लागि र छालाको खटिरा निको गर्न उत्तम देखिएको छ । एलर्जी तथा छाला रातो हुने समस्याको लागि यसले औषधिको काम गर्ने भएता पनि खाँदा वाकवाकी लाग्न सक्छ ।

सिमलको बोक्रामा भेटिने केमिकल फ़्रिलुइक इस्टर, एपिजिन, फ़्ल्यभोन्स, भिभिनिन -२, स्यपोनारिन, कस्मीटिन, आइसोभीटेक्सिन, ज्यान्थोमिक्रोल जस्ता पदार्थहरूको मिलावट यसका उक्त औषधीय र कस्मेटिक मूल्य रहनुको कारक बनेका हुन । यसको बोक्रामा स्टार्च ७१.२%, चिनी ८.२%, प्रोटिन १.२%, चिल्लो ०.९%, मिनिरल्स २.१%, टेनिन ०.१५%, नन-टेनिन ०.९%, सेलुलोज २.०% र क्याल्सियम ९३ मिलिग्राम प्रति १०० ग्राम भेटिन्छ ।

सिमलको पातमा अत्यन्त धेरै टेनिनको मात्रा पाइन्छ । टेनिनमा छिटो रगत जमाउने, रक्तचाप घटाउने, रगतमा बोसो घटाउने, कलेजोलाई बलियो बनाएर जन्डिस हुनबाट जोगाउने, रोग प्रतिरोधी क्षमता वृद्धि गर्नेजस्ता गुण हुने गर्छ ।

यसमा हुने जेनथोनको एन्टीअक्सिडेन्ट र एनालजेसिक गुण औषधीय मूल्यको रूपमा महत्त्वपूर्ण छ ।सिमलको पातमा कार्बोहाइड्रेट १.४८%, प्रोटिन ०.७%, चिल्लो ०.७५%, फाइबर २.८५%, मिनिरल्स १३.२३%,मिली ग्राम प्रति सय ग्राम सोडियम १९.०७, मिली ग्राम प्रति सय ग्राम क्याल्सियम १७७ र मिली ग्राम प्रति सय ग्राम पोटासियम १५३.६६ भेटिएको छ ।

सिमलको पातमा अत्यन्त धेरै टेनिनको मात्रा पाइन्छ । टेनिनमा छिटो रगत जमाउने, रक्तचाप घटाउने, रगतमा बोसो घटाउने, कलेजोलाई बलियो बनाएर जन्डिस हुनबाट जोगाउने, रोग प्रतिरोधी क्षमता वृद्धि गर्नेजस्ता गुण हुने गर्छ ।

सिमलको फलभित्र भुवाको अलावा गेडामात्रै २५-२८ % हुने गर्छ । उक्त गेडाको २०-२५% कटन सिड ओएल वा सिमलको गेडाको तेल हुने गर्छ । बचेको पिनामा प्रोटिन ३६.५०%, चिल्लो ०.८०%, कार्बोहाइड्रेट २४.७०%, क्रुड-फाइबर १९.९०% र मिनिरल्स २४.७२% भेटिन्छ । तेलमा मिस्टिरिक एसिड १.२१%, लिनोलिक ७.५%, ओलीइक २३.६%, एराचिडिक एसिड २.८% को हाराहारीमा भेटिएको छ । सिमलको गेडाको तेलहरू साबुन उद्योगहरूमा प्रयोग हुने र पिना जनवारको दाना हुने गर्छ ।

सिमल गम भनिने सिमलको चोब ८.९% मिनिरल र थोरै क्याचीटोल टेनीन विभिन्न ग्यालिक र टेनिनिक सुगरको घोलमा घुलेर बसेको भेटिन्छ । जसमा चिल्लो १०.८% भेटिएको छ । यो चोबको हानिकारक जीवाणुहरूसँग जुध्ने क्षमता रहन्छ । सिमलको चोबको केमिकल सिमलको हरेक भागमा प्राय भेटिने गर्छ ।

सिमल लोप हुँदै जाँदा आयुर्वेदिक पद्दति अध्ययन गर्ने, उक्त ज्ञानको आधारमा आफ्नो वैज्ञानिक अनुसन्धानको बाटो पहिल्याएर त्यसबाट आधुनिक ओखतीहरू बनाउने तरिका सिक्ने र सक्रिय औषधीय तत्त्व निकाल्दै प्रभावकारी ओखतीहरू बनाउने काम संसारभर तीब्र भइरहेको छ ।

जसअन्तर्गत सिमलको रुखवाट प्राप्त हुने सार तत्त्वहरूबाट मोटोपन घटाउन, हानिकारक जीवाणु नियन्त्रण, उच्च रक्तचाप र रगतमा सुगरको मात्रा नियन्त्रण गर्न, रगतबाट तन्तुसम्म अक्सिजन पुर्‍याउन सहयोग गर्ने, फोक्सोको संरक्षण गर्ने, कोशिकाहरू विषाक्त हुनबाट रोक्ने एन्टीअक्सिडेन्ट, दर्दनाशक एनालजेसिक, पिसाब लगाउने, यौन शक्ति बढाउने भियाग्रा, तागत दिने टनिक र शरीरलाई पुनर्ताजकी गर्ने, छालाको ओखती र सौन्दर्य वृद्धि गर्ने कस्मेटिक आदि निर्माण गर्नेतर्फ संसार अघि बढिरहेको छ ।

हामी भने खोक्रो आधुनिक जीवन शैलीको आडम्बरमा आफ्नो सिमल कौडीको भाउमा बेच्ने अनि विदेशीको महंगा समान किन्ने ग्राहकमा आफूलाई परिवर्तन गरिरहेका छौं ।

(लेखक खाद्य तथा औषधि विज्ञ हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *