संसद विघटनविरुद्ध जसपाको प्रदर्शन, नेता राजकिशोर यादवद्वारा बहिष्कार – Nepal Press

संसद विघटनविरुद्ध जसपाको प्रदर्शन, नेता राजकिशोर यादवद्वारा बहिष्कार

जनकपुर । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले शनिबार सिरहा सदरमुकाममा आयोजना गरेको प्रदर्शन तथा भेला नेता राजकिशोर यादव बहिष्कार गरेका छन् ।

वरीयताक्रम मिचेर कार्यक्रम गर्न लागेको भन्दै नेता यादवले बहिष्कार गरेका हुन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार नेतृ रेणु यादवको नेतृत्वमा त्यहाँ संसद विघटनविरुद्ध प्रदर्शन गरिएको छ ।

नेतृ यादवको प्रमुख आतिथ्यमा शुरु भएको सभामा जसपा नेता प्रकाश अधिकारी र प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव समेत वक्ता तोकिएका छन्।

प्रदर्शन तथा सभाका लागि पार्टीले गरेको परिपत्रमा सबभन्दा अन्तिममा राजकिशोर यादवको नाम राखेको थियो । तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका राजकिशोर पार्टी एकीकरण पश्चात बनेको जसपाको मर्यादाक्रममा नेतृ रेणुभन्दा अगाडि छिन्।

तर मर्यादाक्रम मिचेर नेतृ यादवलाई प्रमुख अतिथि बनाएको भन्दै नेता राजकिशोर असन्तुष्ट छन् । यही कारण उनले कार्यक्रम बहिष्कार गरेको बुझिएको छ । राजकिशोर पक्षका कार्यकर्ता राजाराम यादवले मर्यादाक्रम विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नै फोनमा थर्काएका थिए ।

प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी भएको थियो ।

प्रदेश २ को मलंगवा, कलैया र रौतहटमा समेत आजै जसपाले संसद विघटनविरुद्ध प्रदर्शन र सभा गरेको छ । मलंगवामा जसपा वरिष्ठ नेता राजेन्द्र महतो, कलैयामा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल र रौतहटमा नेता अनिल झाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर