अर्थमन्त्रीको दावी– बजेट अभाव हुँदैन, कोरोनाविरुद्धको खोप नि:शुल्क लगाइन्छ – Nepal Press

अर्थमन्त्रीको दावी– बजेट अभाव हुँदैन, कोरोनाविरुद्धको खोप नि:शुल्क लगाइन्छ

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनका अनुसार सरकारले कोभिड विरुद्धको खोप आयातका लागि निश्चित आकारको बजेटको प्रवन्ध गरी खोप कोष स्थापना गरिसकेको छ । त्यस कोषमा अन्र्तराष्ट्रिय दातृ निकायले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था भएपनि देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोगको अपिल नगरिएको उनले स्पष्ट पारे ।

विश्व स्वास्थ्य संगठन लगायतका अन्र्तराष्ट्रिय स्वास्थ्य संस्थाले निर्धारण गरेको मापदण्डका आधारमा सम्पूर्ण नेपालीलाई कोभिड विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराइने उनले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनता देशको निर्णायक भएकाले उहाँहरुको निर्णयका लागि नै निर्वाचनमा जान लागेको बताए । साथै यो विषय सर्वोच्च अदालतमा भएकाले सर्वोच्चको फैसलालाई स्वीकार गरी अघि बढ्नु पर्ने उनको तर्क थियो ।

मन्त्री पौडेलका अनुसार आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधिसभाको निर्माण हुनेछ । निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर