प्रदेश १ विरुद्ध एपिएफको सहज जित, अविनाश बोहराले लिए ५ विकेट – Nepal Press

प्रदेश १ विरुद्ध एपिएफको सहज जित, अविनाश बोहराले लिए ५ विकेट

काठमाडौं । अविनाश बोहराको पाँच विकेट प्रेरित सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा शनिबार प्रदेश नम्बर १ लाई १३५ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सशक्त बलिङ गरेका अविनाशले १० ओभरमा ६ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिएका हुन् । एपिएफविरुद्ध २ सय ४४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर १ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्रै बनाउन सक्यो ।

घातक बलिङ अट्याक गरेको एपिएफका लागि किशोर महतोले ६ ओभरमा २२ खर्चेर १ विकेट लिए । त्यस्तै, बसन्त रेग्मीले १० ओभरमा तीन मेडनसहित १३ रन मात्रै खर्चिएर दुई विकेट लिएका थिए ।

ठूलो लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश १ का लागि ओपनरद्वय दीपक पासवानले १३ तथा मिनाश थापाले १८ रन बनाएका थिए । त्यस्तै फिर्दोस अनसारीले १७, दिपेश कँडेलले १६, रबिन मगरले ३ तथा कप्तान सिद्धान्त लोहनीले ९ रन मात्रै बनाउन सके ।

शुभन्कर उराओ ४ तथा श्रावण यादव १ रनमा सीमित हुँदा सोनु मण्डलले खाता खोल्न सकेनन् । जोसक खड्का १२ रनमा अविजित रहँदा हेमन्त राई २ रन बनाएर पेभेलियन फर्के ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफका लागि आशिफ शेखले ३२ बलमा ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए भने बसन्तले ५२ बलमा ४० रन जोडेका थिए ।

त्यस्तै सन्दीप जोराले ३०, कप्तान शरद भेसावकरले २० तथा सुवाष खकुरेलले १९ रन जोडेका थिए ।

प्रदेश नम्बर १ का लागि फिर्दोस अनसारी, दिपेश कँडेल, हेमन्त राई र श्रावण यादले २/२ विकेट लिए । त्यस्तै सोनु मण्डल र जोसक खड्काले १/१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर