अन्तराष्ट्रिय गायन प्रतिस्पर्धा हल अफ फेमको दोस्रो सिजन सुरु, १२ देशका नेपाली प्रतिभा सहभागि – Nepal Press

अन्तराष्ट्रिय गायन प्रतिस्पर्धा हल अफ फेमको दोस्रो सिजन सुरु, १२ देशका नेपाली प्रतिभा सहभागि

सिड्नी –अन्तराष्ट्रिय अनलाइन गायन प्रतियोगिता हल अफ फेम सिजन २ सुरु भएको छ । विदेशबाट नेपालीले पहिलोपटक डिजिटल प्लेटफर्ममा गायन कम्पिटिसन आयोजना गरेका हुन् । शुक्रबारदेखि सुरु भएको कार्यक्रममा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट ५० जना प्रतियोगीलाई प्रतिस्पर्धामा सहभागि गराइने भएको छ ।

अष्ट्रेलियाको एमएनटीभी र नेपालको हिमालय टिभीबाट एकसाथ प्रसारण गरिने जनाइएको छ । कोभिड–१९ महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अनलाइन प्रतिस्पर्धामा सयभन्दा बढी प्रतिस्पर्धीले आवेदन दिएका थिए । तर, तीमध्येबाट उत्कृष्ट पचास छानिएको हो ।

प्रतिस्पर्धामा निर्णायकको रुपमा गायक दीप श्रेष्ठ, कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमाल छन् । कार्यक्रम संचालकमा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र मिस नेपाल ओसेसनिया २०२० जेमिना श्रेष्ठ छन् । प्रतिस्पर्धामा निर्णायकको मतलाई अन्तिम मानिने भएको छ । निर्णायकको मतलाई ७० प्रतिशत र दर्शकीय प्रतिक्रियालाई ३० प्रतिशत मानिने भएको छ ।

बरिष्ठ गायक एवं निर्णायक दीप श्रेष्ठले विदेशमा रहेका सांगीतिक प्रतिभालाई पनि खुबी देखाउने अवसरको रुपमा हल अफ फेम स्थापित हुने विश्वास व्यक्त गरे । उमेरको कुनै बन्देज नलगाइएको प्रतियोगितामा १२ देशबाट नेपाली प्रतियोगी सहभागि छन् । टाइटल विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कारसहित गीत रेकर्ड, म्युजिक भिडियो निर्माणको अवसर पाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *