एपिएफले प्रदेश १ लाई दियो २४४ रनको लक्ष्य, आशिफको अर्धशतक – Nepal Press

एपिएफले प्रदेश १ लाई दियो २४४ रनको लक्ष्य, आशिफको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश नम्बर १ लाई २ सय ४४ रनको विजय लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रनको योगफल तयार गर्‍यो ।

एपिएफका लागि ओपनरद्वय आशिफ शेख र सुवाष खकुरेलले ७१ रनको साझेदारी गर्दै सुखद् सुरुआत दिलाएका थिए । सोही क्रममा आशिफले ५९ रनको अर्धशतकीय इनिङ खेल्दा आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

त्यस्तै सुवाष ४१ बलमा १९ रन जोडेर पेभेलियन फर्किँदा कप्तान शरद भेसावकरले ३९ बलमा २० रन जोडे । प्रदीप ऐरीले ७ रन बनाउन १४ खेल्दा एक चौका प्रहार गरेका थिए । सुमित महर्जन २० बलमा १ चौकासहित १४ रन बनाएर आउट हुँदा सन्दीप जोराले ३९ बलमा चार चौकासहित ३० रन बनाए ।

त्यस्तै बसन्त रेग्मीले ५२ बलमा चार चौका र दुई छक्कासहित ४० तथा भुवन कार्की ७ रन बनाएर आउट हुँदा कमल ऐरी ५ रन बनाएर आउट भए । त्यस्तै किशोर महतो २३ बलमा २ चौकासहित १९ रन बनाएर आएट हुँदा अविनाश बोहरा ६ रनमा अविजित रहे ।

प्रदेश नम्बर १ का लागि दिपेश कँडेलले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै हेमन्त राईले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै  श्रावण यादवले ६ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए ।

फिर्दोस अन्सारीले १० ओभरमा ४० रन खर्चिएर २ विकेट लिँदा जोशक खड्काको नाममा एक विकेट रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर