प्रचण्ड-माधव पक्षको समायोजनमा सकस, को-को छन् प्रदेशका दावेदार ? – Nepal Press

प्रचण्ड-माधव पक्षको समायोजनमा सकस, को-को छन् प्रदेशका दावेदार ?

काठमाडौं । केपी ओली पक्षमा लागेका प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी हटाएर नयाँ नियुक्ति गर्ने सम्बन्धी मापदण्डमा सहमति हुन नसक्दा नेकपाको प्रचण्ड–माधव नेपाल समूहको कार्य विभाजन तथा समायोजन प्रक्रिया लम्बिएको छ ।

शुक्रवारको स्थायी कमिटी बैठकबाटै ओली पक्षमा लागेका प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव हटाएर आफ्नो पक्षमा राख्ने तयारी थियो । तर मापदण्डमा सहमति नभएपछि प्रदेश १ बाहेक अन्य प्रदेश र जिल्लाको टुंगो नलागेको एक नेताले बताए ।

शुक्रवारको बैठकले प्रदेश १ को अध्यक्षबाट ओली पक्षका देवराज घिमिरेलाई हटाई घनेन्द्र बस्नेतलाई जिम्मा दिने निर्णय गरेको छ । बस्नेत केपी ओलीसँगै जेल बसेका पूराना नेता हुन् ।

त्यस्तै प्रदेश सहइन्चार्जबाट शेरधन राईलाई हटाएर राजेन्द्र राई र जयन्ती राइलाई थपिएको छ । बस्नेत र राईद्धय तीनै जना भोजपुरका हुन् । उनीहरु तीनै जना पूर्व एमालेका हुन् । प्रदेश इन्चार्ज भीम आचार्य पनि पूर्व एमालेकै हुन् ।

सबै पदाधिकारी ओली पक्षमा लागेपछि खाली रहेको प्रदेश २ मा भने प्रचण्ड–माधव पक्षले पदाधिकारी टुंगो लगाउन सकेको छैन । प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल,अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल तीनै जना ओली पक्षमा छन् ।

इन्चार्जमा पूर्व माओवादीका गिरिराजमणी पोखरेल र मातृका यादवको दावी छ । अध्यक्षमा भने पूर्व माओवादीका रामचन्द्र झा र पूर्व एमालेका धर्मनाथ साह,नागेन्द्र चौधरी, सत्रुघन महतो,रामचन्द्र यादव,श्रीप्रसाद साहको दावी छ ।
सचिवमा लक्ष्मण पौडेल र पुरुषोत्त पौडेल दाबेदार छन् । उनीहरु दुवै पूर्व एमालेका हुन् । प्रदेश २ को पदाधिकारी चयन पेचिलो बनेको नेताहरु बताउछन् ।

त्यस्तै वागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेल ओली पक्षमा रहेकाले उनको ठाउँमा रसुवाका माधव अर्यालको नाम प्रस्ताव गरिए पनि निर्णय भएको छैन ।

गण्डकी र लुम्बिनीमा भने यसअघिनै ओली पक्षका पदाधिकारी हटाएर प्रचण्ड माधव पक्षका नेताहरुलाई जिम्मेवारी दिइसकिएको छ । लुम्बिनीमा पनि जिम्मेवारी हेरफेर भइसकेको छ ।

कर्णालीका अध्यक्ष गोरखवहादुर बोगटी ओली पक्षका हुन् । प्रचण्ड–माधव पक्षको बलियो मानिएको कर्णाली प्रदेशको अध्यक्ष कसलाई बनाउने भन्ने बारेमा एकमत भएको छैन । इन्चार्ज जनार्दन शर्मा शुक्रवारको बैठकमा उपस्थित नभएकाले त्यसबारे टुंगो नलागेको एक नेताले बताए ।

कर्णालीको अध्यक्षमा पूर्व एमालेबाट प्रकाश ज्वालाको नाम माधव नेपाल पक्षले प्रस्ताव गरेको छ । तर प्रचण्ड पक्षले भने मायाप्रसाद शर्मालाई अघि सारेको छ । शर्मा साबिक नेकपाको प्रदेश कमिटीका सचिव हुन् ।

सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण वहादु थापा ओली पक्षमा लागेपछि उनको ठाउँमा कसलाई बनाउने भन्ने टुंगो लागेको छैन । त्यहाँ पनि साबिक जुन पार्टीले जिम्मेवारी पाएको हो,त्यहि समूहको अर्को नेतालाई जिम्मेवारी दिदा राम्रो सन्देश जाने भन्दै नेताहरुले केन्द्रको ध्यानाकर्षण गराएका छन् । सुदूरपश्चिम प्रदेशको अध्यक्षको दाबेदार पूर्व एमालेबाट झपट रावल छन् ।

मापदण्डमै भएन मतैक्य
प्रचण्ड–माधव पक्षका एक स्थायी कमिटी सदस्यले व्यक्ति को बनाउने भन्दा पनि पहिले विधि तय गर्नुपर्ने भएको छ । ओली पक्षमा लागेका पदाधिकारीको ठाउँमा साबिक कमिटीका त्यो भन्दा तल्लो पदका पदाधिकारीलाई बढुवा गर्ने कि पूर्व एमालेको ठाउँ खाली भएका ठाउँमा सोही पूर्व समूहका पदाधिकारी बनाउने भन्नेबारे टुंगो लागेको छैन ।

प्रदे र जिल्ला कमिटीका पदाधिकारी जो ओलीतर्फ छन् उनीहरु प्रायः सबै पूर्व एमाले हुन् । पूर्व माओवादी तर्फबाट ओली पक्षमा लाग्ने प्रदेश पदाधिकारी प्रभु साह मात्रै हुन् । स्याङ्जा,कञ्चनपुर,सिन्धुपाल्चोक लगायत जिल्ला कमिटीका केही अध्यक्ष र सचिव पूर्व माओवादीका ओली पक्षमा लागेका छन् ।

ती नेताले नेपालप्रेससँग भने–अध्यक्ष ओली पक्षमा लागेको ठाउँमा अहिले जो सचिव छ उसलाई अध्यक्ष बनाउने कि भन्ने छलफल पनि भइरहेको छ । तर त्यसो गर्दा पूर्व एमाले पक्षले ठाउँ नपाउन सक्छ । बरिष्ठता,पूर्व समूहको मनोविज्ञान समेयतलाई ध्यानमा राखेर समायोजन गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर