बादलबाट आएको मन्त्री बन्ने अफर अश्वीकार गरेँ: पदम राई – Nepal Press

बादलबाट आएको मन्त्री बन्ने अफर अश्वीकार गरेँ: पदम राई

काठमाडौं । एक वर्षअघि विप्लव नेतृत्वको नेकपा परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका पूर्वराज्य मन्त्री पदम राईले आफूलाई मन्त्रीको गृहमन्त्री रामबहादुर थापा बादलबाट अफर आएको दावी गरेका छन् ।

विभाजित नेकपाको प्रचण्ड-माधव समूहमा रहेका राईले मन्त्री बनाउने आश्वासन आए पनि आफूले केपी ओली नेतृत्वको नेकपामा समावेश हुन नचाहेको बताए ।
नेपालप्रेससँग कुरा गर्दै राईले भने–हो, मलाई मन्त्रीसहित पार्टीमा रोजेको भूमिका दिने भनिएकै हो । तर, प्रतिगामी सरकारको मन्त्री पद र पार्टी दुबै म स्वीकार्न सक्दिनँ भनिदिएँ ।

आफू पुस ५ मा भएको संसद विघटनविरुद्धको आन्दोलनका लागि गृह जिल्ला भोजपुर पुगेको भन्दै उनले बादलसँग सहकार्य गर्न नसकिने बताए ।

उनले भने-बादलका व्यक्तिगत दुःख–सुखमा त साथ दिन सकिएला, तर उहाँजसरी नै प्रतिगमनको मतियारी गर्न सकिँदैन । हामी वैज्ञानिक समाजवादी यात्राको मोर्चामा लागेका मान्छेहरु पद र प्रतिष्ठामा लोभिदैनौँ ।

राई १९ जेठ २०७६ मा विप्लव नेतृत्वको नेकपा परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका थिए । त्यसअघि ०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य पदको उम्मेदवार रहेका हालका १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी बम प्रहार गरेको आरोपमा उनी प्रहरीद्वारा पक्राउ गरिएका थिए ।

मुद्दाको पुर्पक्षका निम्ति कारागार चलान भएका उनी ६० हजार धरौटीमा रिहा भएलगत्तै पूर्वपार्टी परित्याग गरेका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं. १ बाट निर्वाचित भएका उनी त्यही कार्यकालमा राज्यमन्त्री भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर