दीपक मनाङ्गे बने नेकपा मिलाउने बामदेव अभियानको केन्द्रीय सदस्य – Nepal Press

दीपक मनाङ्गे बने नेकपा मिलाउने बामदेव अभियानको केन्द्रीय सदस्य

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) विभाजित दल नेकपाको कुनै पक्षमा नलाग्ने भएका छन् । बरु बामदेव गौतमले थालनी गरेको राष्ट्रिय एकता अभियानलाई उनले समर्थन जनाउने घोषणा गरेका छन् ।

मनाङ ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका उनी गतवर्ष नेकपा प्रवेश गरेका थिए र प्रदेश सभामा सत्तारुढ दलकै लहरमा बस्दै आएका थिए । आफू पार्टी विभाजनको पक्षमा नरहेको उनले बताए । ‘यो विभाजनले कसैलाई फाइदा गर्दैन’ उनले भने, ‘त्यसकारण पार्टी एक बनाउने प्रयास गर्दैछु ।’ आफ्नो अभियानमा साथ दिन भन्दै बामदेवले शुक्रबार बिहान मनाङ्गेलाई फोन गरेका थिए ।

बामदेवको कुरा आफूलाई चित्त बुझेको भन्दै उनले पार्टी एकताको पक्षमा आफू रहेको समेत बताए । नेताहरुलाई स्वार्थ त्यागेर देश विकासतर्फ लाग्न दबाब दिन पनि आफू केन्द्रित हुने उनले बताए । कुर्सीको झगडामा पार्टी फुटाउने गलत कार्य भएको उनको भनाई छ । बामदेव स्रोतका अनुसार मनाङ्गेलाई बामदेवको राष्ट्रिय एकता अभियानको केन्द्रिय सदस्यमा मनोनयन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर