कुन टीमविरुद्ध शतक हानेको भन्ने कुराले खुशी र उत्साह निर्धारण गर्छ : कप्तान विनोद – Nepal Press

कुन टीमविरुद्ध शतक हानेको भन्ने कुराले खुशी र उत्साह निर्धारण गर्छ : कप्तान विनोद

काठमाडौं । कोरोना भाइरसको महामारीले झण्डै एक वर्ष तहसनहस बनेको नेपाली क्रिकेट बिस्तारै पुरानो लयमा फर्किदै छ । यसै क्रममा आजदेखि प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता पनि सुरु भएको छ । तर, कोरोना भाइरस महामारीबाट नेपाली खेलकुद उम्किन खोजे पनि यसको प्रभावबाट मुक्त हुन सकेको छैन ।

आज त्रिवि त्रिक्रेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा गण्डकीविरुद्ध शतक बनाएका त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीको अभिव्यक्तिबाट पनि त्यो पुष्टि हुन्छ ।

अविजित १११ रन बनाउन ७६ बल खेलेका कप्तान विनोदले आफू कोरोना भाइरसबाट भर्खरै मुक्त भएकाले खेल्ने मनसायमा नरहेको बताए ।

“म कोरोना भाइरसको संक्रमण मुक्त भएको भर्खरै ८/१० दिन मात्रै हुँदैछ । त्यसैले खेल्ने पक्षमा थिइँन,” उनले भने, “लिग चरणका खेलहरू नखेल्ने योजनमा थिएँ ।”

तर, आर्मीका तीन महत्त्वपूर्ण खेलाडीहरू कुशल मल्ल, सोमपाल कामी र करण केसी अवुधावी टी–१० लिग खेल्न दुबई जाने भएकाले आफू मैदानमा उत्रिनु परेको उनले बताए ।

“उनीहरू (तीन खेलाडी) पनि नभएकाले मैले पनि नखेल्दा गाह्रो हुन्छ भनेर आज जर्बजस्ती खेलेको हुँ,” उनले भने । आजको खेलमा फिल्डिङमा कमजोरी देखिनुको कारण पनि कोरोनाका कारण लामो समयदेखि खेल्न नपाउनु भएको उनले बताए ।

पहिलो खेलमा गण्डकीलाई ९८ रनले पराजित गर्दा शतक प्रहार गरेका विनोदको प्रतिक्रिया

शतकको खुशी

शतक हान्दा खुशी नै लाग्छ , अहिलेसम्म खुशी नै लागेको छ , अब अगाडिका गेमहरू हेरौं ।

हामी फाइनलसम्म पुग्ने सोचेर खेलिरहेका छौं । फाइनलसम्म पुग्नका लागि अगाडिका खेलहरू कस्ता हुन्छन् । मुख्य कुरा हामीसँग अहिले प्लेयिङ सेटका तीन जना खेलाडीहरू छैनन् ।

त्यसैले गर्दा अलिकति गाह्रो भइरहेको छ, सबैलाई ।

आजको खेल राम्रो भयो

आजका खेल राम्रै भयो अब अगाडिका खेलहरू हेरौं । तीन जना खेलाडी नभएर टप अर्डरमा ब्याटिङ गर्न आएको होइन, तयारी नै त्यसै अनुसार गरेको हो । किनभने, ५० ओभरको खेलमा आफूलाई समय दिनुपर्छ । त्यसैले हाम्रो टीम नै त्यहिअनुसारको छ । पछाडिको ब्याटिङ लाइनअपमा त्यति धेरै सोच्नु पर्ने छैन ।

तर, पछाडि ठूला सटहरू खेल्नुपर्छ भन्ने सोचेर खेल्थेँ । अहिले लोकश बम आएपछि पछाडिको लाइनअप पनि बलियो भएको छ ।

शतकाका लागि पर्याप्त समय

म खेल्न जाँदा टोली दबाबमा थियो । टप अर्डले खासै राम्रो प्रदर्शन गर्न सकिरहेको थिएन । २०, २५, ३० रन बनाइरहेको भए पनि लामो इनिङ कसैले खेलिरहेको थिएन । त्यसैले म क्रिजमा उत्रिँदा मलाई पर्याप्त समय थियो ।

२२/२३ ओभरमा ब्याटिङको पालो आएको थियो । मलाई दबाब लिएर खेल्नु पर्ने थिएन । त्यसैले गर्दा सुरुमा समय लिएर खेलिरहेको थिएँ, जसले अन्तिममा सजिलो भयो ।

आजको खेलमा आफ्नो खेल शैली प्रदर्शन गरेको होइन । ५० ओभरको इनिङमा हानेरै खेल्नुपर्छ भन्ने हुँदैन । आफूलाई समय हुन्छ । त्यसो हुँदा खेलाडीहरूले खेलअनुसार आफूलाई डाल्नुपर्छ । र, मैले पनि आज त्यसैअनुसारले खेलेँ ।

मुख्य बलरले विकेट लिन नसक्नु र पार्ट-टाइम बलरको प्रभाव

त्यसमा धेरै सोच्नु पर्ने कुरा छैन । किनभने, दोस्रो इनिङ खेल्दा ब्याटिङको लागि राम्रो भइरहेको थियो । हामीले आफैँलाई गाह्रो कुरा रोजेर पहिले ब्याटिङ गर्ने निर्णय गरिएको हो ।

बलरहरूको सम्बन्धमा साहब आलमलाई हामीले विश्राम दिएका थियौं । सबै सेटले नै पछि सम्म खेलोस् भन्ने सोचेर हामीले सबैलाई खेलाएर चेक गरिरहेका छौं । हेरौं अगाडिका खेलहरूको नतिजा कस्तो हुन्छ ।

आजको खेलमा अन्त्यतिर मिडियम पेसरहरूलाई प्रयोग नगर्नुको कारण जोखिम मोल्न नचाहेका हौं । किनभने, चिसो मौसम छ, त्यसले फिटनेसमा समस्या निम्त्याउन सक्छ ।

त्यसमाथि हामीसँग अगाडिका तीन जना खेलाडी पनि छैनन् । त्यसैले गर्दा यीनै १४ जना खेलाडीलाई लिएर खेल्नुपर्ने बाध्यतालाई ध्यान दिएका हौं । प्रतियोगिता पनि लामो भएकाले खेलाडीहरूलाई बचाउँदै खेलेका हौं ।

तीन खेलाडीले भ्याउने खेल पनि नखेल्नुको कारण

तीन जना खेलाडीले सुरुआती तीन खेल खेल्न भ्याउँथे । तर, सुरुआती तीन खेल नै प्रदेशका टोलीहरूसँग छ । विभागसँग भएको भए उनीहरू खेल्थे । तर प्रदेशसँग खेल्दा उनीहरू तीन जना हुने र विभागीय टोलीसँग खेल्दा तीनै जना नहुँदा एकदमै गाह्रो हुन्छ । त्यसैले विभागीय टोलीसँगका खेलसम्म पुग्दा टोलीमा सन्तुलन मिलाउने उद्देश्यले उनीहरूलाई समावेश नगरेका हौं ।

तीन जना फास्ट बलर किन ?

पिचको अवस्था त्यस्तो भएकाले तीन जना फास्ट बलर खेलाइएको हो । पिचमा ‘ग्रास’ छ । जुनसुकै टोलीले पनि मिडियम पेसर लिएर खेल्नु नै पर्छ । त्यसमाथि पनि त्रिवि क्रिकेट मैदानमा खेल्दा पाँचै जना मिडियम पेसर लिएर खेल्दा पनि हुन्छ । त्यस्तो पिच छ ।

गण्डकीले ५० ओभर खेल्न चाहेको थियो

सुरुआतदेखि नै गण्डकीले ५० ओभर खेल्ने हिसाबले नै खेलिरहेको थियो । गण्डकीले विकेट गुमाउँदैन र जित्नलाई धेरै जोखिम मोलेर पनि खेल्दैन भन्ने हामीलाई थाहा भइसकेको थियो । हामीले मुख्य बलरलाई विश्राम दिनुको कारण पनि त्यही थियो ।

अभ्यास कम भएर फिल्डिङ कमजोर

कसैले पनि फिल्डमा क्रिकेट खेल्न नपाएको दश–एघार महिनाभन्दा धेरै भइसक्यो । त्यसले गर्दा पनि गाह्रो भएको हो । हामीले ट्रेनिङ नै राम्रोसँग गर्न पाएको छैन । र, सुरुमा नै ५० ओभरको प्रतियोगिता भयो । त्यसैले लयमा फर्किन केही समय लाग्छ र गाह्रो पनि हुन्छ ।

मुख्य खेलाडी बिना विभागीय टोलीको सामना

तीन जना खेलाडी नुहँदैमा जित्नै सकिँदैन भन्ने होइन । किनभने, त्रिकेटमा दुई जना राम्रो खेलाडी हुने बित्तिकै पनि जित्छ । त्यो दिनमा कसले राम्रो खेल्छ त्यसमा पनि भरपर्ने कुरा हो । तर, राम्रो खेलाडीको कमी महसुस हुन्छ । त्यसमा पनि टोलीका नियमित सदस्य भएकाले कमी महसुस पक्कै भएको छ ।

तर, अरू खेलाडीलाई पनि जबरजस्ती खेलाएको होइन । सबै खेलिरहेकै खेलाडीहरू छन् । विभागीय टोलीसँग पनि त्यति धेरै गाह्रो नहोला ।

शतकबारे

म अहिलेसम्म पाँच नम्बरभन्दा पछाडि नै खेल्दै आएको थिएँ । छ नम्बर, सात नम्बर र आठ नम्बरसम्म पनि खेलको हुँ । र, त्यो स्थानमा खेलेर शतकबारे सोच्नु भनेको एकदमै गाह्रो कुरा हो । तर, आज चार नम्बरमा खेलेको हुँदा पर्याप्त समय मिलेको थियो । त्यसैले शतक बनाउन सजिलो भएको हो ।

किनभने ५० ओभरको खेलमा पर्याप्त समय हुन्छ । एकदिवसीयमा शीर्ष चार ब्याट्सम्यानले नै शतक हान्ने उच्च सम्भावना हुन्छ । यसअघि मैले लामो समयदेखि अगाडि खेलेको थिइँन । धेरैपछि अगाडि खेलेको हो, त्यसैले शतक बनाउन सजिलो भयो ।

कुन टोलीविरुद्ध शतक हानेको हो भन्ने कुराले खुशी र उत्साह निर्धारित गर्छ । खेल्दा राम्रो खेलियो त्यो आफ्नो ठाउँमा छ । तर, त्यति धेरै खुशी भइँन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर