दिल्लीमा परराष्ट्रमन्त्रीले भने– इपिजी प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नहोस् – Nepal Press

दिल्लीमा परराष्ट्रमन्त्रीले भने– इपिजी प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नहोस्

नयाँ दिल्ली –परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी)ले तयार गरेको प्रतिवेदनलाई भारत सरकारले कुनै ढिलाइ बिना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि शुक्रबार आयोजित इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सको कार्यक्रममा बोल्दै ज्ञवालीले उक्त प्रतिवेदन बुझ्नु र कार्यान्वयन गर्नु दुबै सरकारको दायित्व भएको बताए ।

प्रतिवेदनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानिरहेको सन्दर्भमा नेपाली परराष्ट्रमन्त्रीको यस्तो टिप्पणी व्यक्त भएको हो । प्रतिवेदनमा सन् १९५० को शान्ति तथा मैत्री सन्धी एवं विगतका सम्झौतालाई वर्तमान परिवेश र परिवर्तित सन्दर्भमा अपडेट एवं पुनरावलोकन गर्नुपर्ने कुरा समावेश गरिएको छ । बदलिएको राजनीतिक, सामाजिक र आर्थिक आयाममा दुबै देशले सम्बन्ध स्थापना गर्नुपर्ने बेला आएको समेत ज्ञवालीले जोड दिएका छन् ।

साथै उनले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिइने समेत बताए । दुबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध नेपालले चाहेको उनले उल्लेख गरे ‘हामी दुई छिमेकी देशसँग नेपालको तुलना गर्न चाहन्नौं तर, दुबै छिमेकीविरुद्ध नेपाली भूमि एकअर्काविरुद्ध प्रयोग गर्न दिइने छैन’ उनले भने ।

नेपाल र भारतबीचको सीमा समस्यालाई एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्ने भन्दा पनि संयुक्त संवादबाट विवाद समाधानको उपाय खोज्नुपर्छ । भारत सरकारले नक्सा जारी गरेपछि उत्पन्न विवादलाई विदेश सचिवस्तरिय तहबाट टुंग्याउन नेपालले विगतमा पहल गरेको स्मरण पनि ज्ञवालीले गरे ।

इपिजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने हुन्छ । तर भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझ्न आलटाल गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर