कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागेको भन्दै सम्पदाप्रेमीको आपत्ति – Nepal Press

कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागेको भन्दै सम्पदाप्रेमीको आपत्ति

काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित ऐतिहासिक कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागिएको भन्दै सम्पदा बचाउ अभियानले बिरोध जनाएको छ ।

महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेतले निर्माण गर्नुअघि प्रस्तुत गरेको योजनाभन्दा उल्टो गरी कमलपोखरी बनाउन लागिएकामा अभियानले आज स्थलगतरुपमै बिरोध जनाएको हाे ।

अभियानका युवाले सिमेन्ट र कङ्क्रिटको कमल जताततै फुलाउन सकिने भएकाले कमलपोखरी प्राकृतिकरुपमै विभिन्न प्रजातिका कमल फुलाउनुपर्नेमा जोड दिएको हो ।

कमलपोखरी निर्माणका लागि दशैँअघि नै पानी सुकाएकामा अझै काम अघि बढ्न सकेको छैन । लामो समयदेखि पानी निकाल्दा पोखरीमा चिरा–चिरा परेको छ ।

लामो समयसम्म पानी नहाल्ने हो भने पोखरीको अस्तित्व नै सङ्कटमा पर्ने भएकाले बिरोधमा उत्रनुपरेको अभियानकर्मी सुसन वैद्यले बताए । अभियानकर्मीले पोखरीको माटो अनुहारमा दलेर सम्पदा जोगाउने ‘प्ले कार्ड’सहित प्रदर्शन गरेका थिए ।

पोखरी निर्माणका लागि विसं २०७६ असार १९ गते शिलान्यास गरिएको थियो । शिलान्यास असार १९ गते गरिए पनि कार्यादेश भने असार ६ गते नै दिइएको थियो ।

विसं २०७७ असार १५ गते नै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकामा कमलपोखरी निर्माण अझै अलपत्र छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर बस्नेतले ढुङ्गाको अभाव भएर काममा ढिलाइ भएको जिकिर गरे।

लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीमा अध्ययन विना नै सिमेन्ट र कङ्क्रिटको प्रयोग गरिएकामा पनि सम्पदाप्रेमी एवं स्थानीयवासीले बिरोध जनाएका छन् ।

गहनापोखरी, बच्चापोखरी, नागपोखरी, हिटीपोखरी, हाँडीगाउँपोखरी पनि नौ पोखरीमध्येमा पर्ने बुढापाकाको मुखबाट सुन्दै आएको सामाजिक अभियानकर्मी दिवस ढुङ्गेल बताए ।

कमलपोखरीका सम्बन्धमा अर्को भनाइ पनि स्थानीयवासीमाझ प्रचलनमा छ । यहाँका लालदरबार र सीता दरबार निर्माणका क्रममा कमलपोखरीको माटो निकालिएको थियो । माटो निकालेपछि वर्षाद्मा परेको पानी जम्मा भएर पोखरी बन्यो । पोखरीमा एक वृद्धले टौदहबाट कमलको फूल ल्याएर रोपे ।

अर्को वर्ष कमलले पोखरी ढाकिएकाले पोखरीको नाम कमलपोखरीमा परिणत भएको भन्ने भनाइ यहाँ सुन्न पाइन्छ । यसलाई नै आधार मान्ने हो भने पोखरीको इतिहास १०० वर्षभन्दा पुरानो हुने भएकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।

एक वर्षअघिसम्म प्राकृतिकरुपमा रहेको कमलपोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाइ पोखरीको आकारसमेत घटाइएको स्थानीयवासी रोशन श्रेष्ठको गुनासो छ । निर्माण गर्दा पुरातात्विक तरिकाले प्राचीन निर्माण सामग्री नै प्रयोग गरेर गर्नुपर्नेमा त्यसो हुन नसकेको सम्पदा बचाउ अभियानका वैद्य बताउँछन् ।

“कमलपोखरीमा सबै प्रजातिका कमल फुलाउने योजना हुनुपथ्र्यो, सिमेन्ट र कङ्क्रिटको कमल राखेर यसको महत्व कम गर्न खोजिएको छ, कङ्क्रिटको कमल जताततै फुलाउन सकिन्छ, यसैले यो निकृष्ट डिजाइन हो, यसको बिरोधमा हामी लागेका छौँ”, उनले भने ।

कमलपोखरी सिमसार क्षेत्र भएकैले वर्षामा जमेको पानी वर्षभर बसेर प्राकृतिक सौन्दर्य कायम गरेकामा यसको महत्व योजनाकर्ताले बुझ्न नसकेको अभियानकर्मी दिवस ढुङ्गेल बताउँछन् । निर्माण व्यवसायीले चाइनिज इँटा ल्याएर दचि इँटा भनेकामा पनि उनको आपत्ति छ । यसको गुणस्तर परीक्षण गर्न स्थानीयवासी र सम्पदा बचाउ अभियानले माग गरेको छ ।

कमलपोखरी निर्माणका लागि २०७६ फागुनमै महानगरीय प्रहरी वृत्त कमलपोखरी मालीगाउँमा सरेको हो । वृत्त सरेको एक वर्ष हुन लाग्दा पनि काम भने अझै अलपत्र छ ।

महानगर प्रमुखको ‘ड्रिम प्रोजेक्ट’ कमलपोखरी

महानगरपालिकामा २०७४ मा जनप्रतिनिधि निर्वाचित भएपछि त्यसै वर्ष छठ पर्वमा नगर प्रमुख विद्यासुन्दर शाक्य कमलपोखरी पुगेका थिए ।

छठमा अव्यवस्थित कमलपोखरी देखेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आकर्षक बनाउन निर्देशन दिए । सोअनुसार महानगर प्रमुख शाक्यले ‘ड्रिम प्रोजेक्ट’का रुपमा अघि बढाउन काम शुरु गरेअनुसार  नौ करोड ४६ लाख ९९ हजार ५०२ को लागत स्टमेट तयार भयो ।

निर्माण कम्पनी जय धनञ्जय÷कँडेल जेभीले छ करोड ३६ लाख ५९ हजार ६०४ मा ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले लिएको रकममा महानगरका प्रमुख इञ्जिनीयर बस्नेतले सम्पदाप्रेमीसहित सरोकार भएका निकायका अधिकारी राखेर गरेको प्रस्तुति अनुसारको कमलपोखरी बन्न नसक्ने स्थानीयवासीको भनाइ छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *