संचारमन्त्रीले हेरे शिव श्रेष्ठको फिल्म, भन्छन् : हल खुलेको सन्देश दिन फिल्म हेरेको हुँ – Nepal Press

संचारमन्त्रीले हेरे शिव श्रेष्ठको फिल्म, भन्छन् : हल खुलेको सन्देश दिन फिल्म हेरेको हुँ

काठमाडौं । संचारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले हलमै पुगेर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ हेरेका छन् । मन्त्री र सेलेव्रिटीका लागि निर्माता एवं अभिनेता शिव श्रेष्ठले ललितपुरको लबिम मलस्थित क्यूएफएक्स हलमा फिल्मको प्रिमियर आयोजना गरेका थिए ।

हाफटाइमसम्म फिल्म हेरेका संचारमन्त्रीले निर्माता एवं अभिनेता श्रेष्ठलाई बधाइ तथा सफलताको शुभकामना दिए । नेपाल प्रेससँग कुरा गर्दै संचारमन्त्री गुरुङले दसमहिनापछि हल खुलेको सन्देश दिन आफू फिल्म प्रदर्शनमा सहभागि भएको समेत जनाए । ‘हल खुलेको सन्देशको लागि पनि म फिल्म हेर्न गएको हुँ’ उनले भने, ‘जति समय फिल्म हेरेँ, राम्रो लाग्यो र शिवजीलाई बधाइ तथा शुभकामना समेत दिएँ ।’

अभिनेता श्रेष्ठका छोरा शक्तिले डेब्यु गरेको फिल्म भएकाले पनि आफूले पारिवारिक विरासतका लागि शुभकामना दिएको मन्त्री गुरुङले बताए । सरकारले हल फुकुवा गरेपछि फिल्म हेर्न मन्त्री पहिलोपटक हलमा पुगेका हुन् । सामाजिक दूरी कायम गर्दै लबिम मलमा स्पेसल सोको आयोजना गरिएको थियो । माघ १ गतेदेखि रिलिज भएको यो फिल्मको विशेष सोमा चलचित्र संघका पदाधिकारी पनि सहभागि थिए ।

विहिबारै भारतीय फिल्म ‘मास्टर’ समेत नेपाली हलमा रिलिज भएको छ । शिवको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ चाहिँ लकडाउनपछि रिलिज हुने पहिलो नेपाली फिल्म बनेको छ । गतसाता हलिउड फिल्म ‘मन्स्टर हन्टर’ रिलिज भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *