अन्धविश्वासको पराकाष्ठाः झाँक्रीले तातो पन्यूले डामेर बिरामीको मृत्यु – Nepal Press

अन्धविश्वासको पराकाष्ठाः झाँक्रीले तातो पन्यूले डामेर बिरामीको मृत्यु

रुपन्देही । नागरिकको स्वास्थ्य चेतलाई प्रतिनिधित्व गर्ने गरी गुल्मीमा एउटा पाशविक घटना सार्वजनिक भएको छ । बिरामी भएपछि अस्पतालको सट्टा झारफूकका लागि झाँक्रीको शरणमा जाँदा गुल्मीको इस्मा गाउँपालिकाका एक बृद्धको मृत्यु भएको खुलासा भएको छ ।

इस्मा–३ दर्लामचौरका ६३ वर्षीय रामबहादुर मुखिया ढाड दुख्ने समस्याबाट लामो समयदेखि पीडित थिए । अस्पताल जानुपर्ने उनी दुई छोरालाई साथमा लिएर रेसुंगा नगरपालिका–१ मा रहेका कथित धामी ३८ वर्षीय रामप्रसाद श्रेष्ठको शरणमा पुगे ।

मृतकका छोरा हुमबहादुरका अनुसार उपचार प्रक्रिया भन्दै रामबहादुरलाई चार दिनसम्म खाना निइएन । बरु पन्यू, फलामको रड, स्टिलको झाँझर तथा प्लास्टिकको पाइप तताएर रामबहादुरको शरीरमा जताततै प्रहार गरे । भोक र पीडा सहन नसकेर अचेत बनेका रामबहादुरको केहिबेरमै निधन भयो, यो हिजो बुधबारको घटना हो ।

बुबाको मृत्यु भएपछि उनका छोराहरुले कथित धामीको नियतमाथि प्रश्न गर्न थाले । धामीले उल्टै ३४ वर्षीय हुमबहादुरलाई पनि पन्यूले प्रहार गरे र आफ्नो घरमा होहल्ला गरेको भन्दै आफैंले प्रहरीलाई खवर गरे ।

प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरी टोलीले धामीको प्रहारबाट रामबहादुर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो । मृतक रामबहादुरको शरीरभरि डामहरु छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठले धामीको विश्वासमा लागेर बृद्धको ज्यान गएको जानकारी दिए ।

कथित धामी श्रेष्ठले रेसुङ्गा नगरपालिका–५ भुवनपानीकी ४० बर्षिय टोपला दमाई र मृतक रामबहादुरका छोरा हुम बहादुरलाई पनि यसैगरी तातो पन्यूले हानेर घाइते बनाएको पत्ता लागेको छ । अहिले घाइतेको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने शवको पोष्ट मार्टमको लागि अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न ३८ वर्षीय रामप्रसाद र उनकी श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर