आज माघे संक्रान्ति, थारु समुदायले नयाँ वर्ष अर्थात माघी मनाउँदै – Nepal Press

आज माघे संक्रान्ति, थारु समुदायले नयाँ वर्ष अर्थात माघी मनाउँदै

आज माघे संक्रान्ति । सूर्य मकर राशीमा प्रवेश गर्ने र आजैदेखि उत्तरायणतर्फ लाग्ने भएकाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । आज थारु समुदायले उनीहरुको प्रमुख पर्व माघी र नयाँ वर्षलाई स्नान, दान, खानपिन र रमाइलो गरेर मनाउँदैछन् ।

यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ थारुहरुले माघी मनाउँछन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।

कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्ने बैज्ञानिक कारण पनि छ ।

आजकै दिन गाउँका सबै मिलेर मुखिया छनोट गर्ने चलन छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ ।

विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । पूर्वीय मान्यताअनुसार आजदेखि दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।

आज नुवाकोट र धादिङका केहि स्थानहरुमा मनोरन्जनका लागि गोरु जुधाउने परम्परा पनि रहिआएको छ । नुवाकोटको तारुका, धादिङको खाल्टे लगायतका क्षेत्रमा गोरु जुधाएर मनोरन्जन लिने गरिएको छ ।

सरकारले माघी र माघेसंक्रान्तिको अवसरमा आज सार्वजनिक विदा दिएको छ । प्रदेशअनुसार माघी पर्व मनाउने क्षेत्रमा एकभन्दा बढी दिन बिदा दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर