मिटरव्याजी धन्दा : १५ लाख ऋण दिएर १ करोड असुल – Nepal Press

मिटरव्याजी धन्दा : १५ लाख ऋण दिएर १ करोड असुल

विराटनगर । गुण्डागर्दीबाट मिटरब्याजमा लगानि गरि अपराधिक लाभ लिएको आरोपमा पक्राउ परेका विराटनगर–९ घोघापुल चौकका ३२ वर्षीय एजाज अहमद विरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि एजाजविरुद्ध ‘अपराधिक लाभ लिएको’ बुधबार मुद्दा मोरङ अदालतमा दर्ता गराएको हो ।

प्रहरीले एजजासहित चारजना विरूद्ध मुद्दा दायर गरेको छ । पक्राउ परेका एजाज र अन्य तीन जनालाई फरार प्रतिवादी बनाइएको छ ।

मोरङ प्रहरी प्रमूख प्रहरी उपरिक्षक सन्तोष खड्काले १ करोड १० लाख विगो मागदाबी सहित उनीहरुविरुद्ध अपराधिक लाभ लिएका भनी अदालतमा मुद्दा दर्ता गरिएको बताए ।

प्रहरीका अनुसार एजाजसँग मिलेर मिटरब्याजमा लगानी गरेको पैसा उठाउनेहरू मध्ये विराटनगरका ९ का ३५ वर्षिय तनवीर खान, सोही ठाउँका ३५ वर्षिय युसुफ भनिने फाकिरा शेख र ३२ वर्षिय सावन दास भने फरार छन् ।

उनीहरूले एजाजमार्फत मिटरब्याजमा पैसा लगाउने र लगाएको पैसाँ असुल्न यातनासम्म दिने गरेको आरोप छ । त्यही भएर उनीहरूलाई प्रहरीले प्रतिवादी बनाएको हो ।

फरार भएका उनीहरूलाई प्रहरीले खोजी कार्य तिव्र बनाएको छ । एजाज पक्राउ परेपछि उनीहरू भारततर्फ फरार भएको सुरक्षा स्रोतको भनाई छ । फरार भएका खान, शेख र दास अदालतमा अभियोग दर्ता भएपछि उपस्थित हुने तयारी गरेको बुझिएको छ ।

पुस ६ मा पक्राउ परेका मिटरब्याजी एजाजको प्रहरीले अनुसन्धान पूरा गरेकोले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

यसरी खुल्यो पोल

विराटनगर १५ का रामकिशोर ठाकुर विराट मेडिकल कलेजमा सम्पर्कमा आएका विद्यार्थीहरू पुर्‍याउने काम गर्दछन् । एक वर्ष अगाडी उनलाई १५ लाख रुपैयाँ आवश्यक परेको थियो । उनले एजाजको समूहसँग १५ लाख रुपैयाँ ऋण लिए ।

दुई लाख रुपैयाँ थपेर ब्याज सँवा ब्याज गरी १७ लाख रुपैयाँ फिर्ता गर्ने मौखिक सहमति एजाज र ठाकुरबीच भयो । तर, लिखित सहमतिमा एजाजले ठाकुरलाई परिबन्धनमा पारे । एजाजले हामी ‘साथीभाइ हो, १७ लाख तिरे हुन्छ’ भनी ४५ लाखको तमसुक गराए । वर्ष दिनमा ठाकुरले एजाजलाई पैसाँ र सुन गरेर १७ लाख रुपैयाँ ऋण बुझाइसकेको थिए । तर, समयमा ऋण नतिरेको भन्दै एजाजले लकडाउन यता दबाब लिन दिन थाले । ‘१५ लाख लिएको ऋण १७ लाख तिरसकेको थिए । थप ६० लाख चाहिन्छ भनेर मलाई दबाब दिन थाले,’ ठाकुरले भने, ‘त्यत्रो पैसाँ मैले कहाँबाट ल्याउन सक्थेँ ।’

यही विषयमा छलफल गर्न भन्दै एजाजले मंसिर २५ गते ठाकुरलाई रोडशेष चोकमा बोलाए । ‘रोडशेष चोकमा आइपुग्दा एजाजसहित तनवीर खान, फाकिरा शेख र सावन दासले अपहरण शैलीमा बां १८ च ८९९५ नम्बरको कारमा राखियो ।

कारमा राखेर दिनभरी विराटनगर घुमाए । ६० लाख रुपैयाँ बुझाउन दबाद दिइरहे । यत्रो पैसाँ आफूसँग नभएको जानकारी गराएपछि साथमा भएको २ लाख रुपैयाँ गाडी भित्रबाट खोसे,’ ठाकुरले दिएको जाहेरीमा उल्लेखछ । त्यसपछि ठाकुरको खाता रहेको कामना विकास बैंकको चेकमा १ करोड दस लाख रुपैयाँको दुई वटा चेक बनाएर हस्ताक्षर गराए । ठाकुरका अनुसार पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर सही गर्न लगाएर एजाजको समूहले साझ ६ बजे देवकोटा चोकमा छोडिदिए ।

‘उल्लेखित मितिमा बैंकमा पैसा नहाले ठिक नहुने, मार्छु, काट्छु, छप्काउँछु भनेपछि म न बाँच्नु न मर्नुजस्तो भएँ,’ ठाकुरले भने, ‘त्यसपछि ज्यानको बाजी थापेरै भए पनि प्रहरीमा उजुरी गर्न बाध्य भएँ ।’ उजुरी परेको पाँच दिनपछि एजाजलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । एजाजको समूहले ठाकुरबाट लिएको उक्त चेक प्रहरीले फेला पारेको छैन । सो चेक फाकिरा शेखले बोकेर फरार भएको स्रोतले जानकारी दिएको छ ।

यसअघि प्रहरीले मिटरब्याजी विराटनगर–९ घोघापुल चोकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई पक्राउ गरेको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् ।

मन्टुले मिटरब्याजबाट ५० करोडभन्दा बढी असुली गरेको खुलिसकेको छ । मन्टुबाट पीडित भएका विराटनगर, मोरङको धनपालथान, जहदा गाउँपालिका, रङ्गेली र रतुवामाई नगरपालिकाका १६ जनाले प्रहरीमा जाहेरी दिएका छन् । मन्टु पक्राउ परेपछि एजाज पक्राउ परेका थिए ।

पक्राउ परेका एजाज विराटनगरमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न छन् । उनी विभिन्न ठेकेदारहरूका लागि गुण्डागर्दी गर्ने र गराउन लागी पर्दछन् । एजाज मिटर ब्याजमा पैसाँ लगानी पनि गर्ने र अन्यले लगाएको पैसाँ असुल्न पनि उनी लागी पर्दछन् ।

मिटरब्याजमा लगाएको पैसाँ असुली गरेवापत एजाजले कमिसन लिने गरेको छन् । गुण्डागर्दीबाट अकुत सम्पत्ति जोडेपछि उनी आफैँ घरजग्गा र मिटर ब्याज कारोबारमा सक्रिय थिए । घरजग्गा खाली गराउन र मिटर ब्याजको रकम असुल्न उनले कमिसन र सेयर माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर