निकुञ्जको जागिरले बनायो पर्यटकीय होटलको मालिक – Nepal Press

निकुञ्जको जागिरले बनायो पर्यटकीय होटलको मालिक

चितवन । तीन दशकसम्म वन, वन्यजन्तु र पर्यटनसँग सम्बन्धित जागिरे जीवन विताएका गणेश शर्मा पौडेललाई निवृत्त जीवनमा पनि तिनै सम्पदाप्रतिको मोहले छोडेन ।

जागिरे जीवनमा भोगेका र देखेका अनुभवलाई समेटेर उनले निकुञ्जको काखमा अहिले सुविधा सम्पन्न होटल सञ्चालन गरेका छन् ।

वन र वन्यजन्तु संरक्षणप्रतिको उनको मोह निवृत्त जीवनमा अरु थपिँदै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी किनारमा उनको जङ्गल भिल्ला रिसोर्ट रहेको छ ।

नदी छेउमा उभिएर निकुञ्जतर्फ देखाउँदै उनले भने,‘अहिले पनि मलाई निकुञ्जकै कर्मचारी झैं लाग्छ । ’ यहाँका वन र वन्यजन्तुप्रतिको माया अरु बढ्दै गएको बताउँदै उनले थपे,‘भाग्यले आज यिनै सम्पदा पर्यटकलाई देखाएर आम्दानी मात्रै गरेको छैन, यिनको संरक्षणमा पनि जुट्दै आएको छु ।’

जिल्लाकै ठूलो मध्येको होटल पौडेलको पर्दछ । विसं २०३८ मा प्रशासनको मुखियाबाट जागिरमा प्रवेश गरेका पौडेल दुई वर्ष ढोरपाटन र दुई वर्ष पर्सा राष्ट्रिय निकुञ्जको आधारमा रहेपनि बाँकी २६ वर्ष चितवन राष्ट्रिय निकुञ्जमा नै बिताए ।

भरतपुर शीतलपानी निवासी पौडेलले जागिरकै सिलसिलामा राप्ती नदी किनारको नौ जना साथीभाइ मिलेर एक बिघा १० कठ्ठा जग्गा किने । निवृत्त जीवनमा कहिलेकाहीँ घुम्न आउँदा बस्ने ठाउँ साना टहरा बनाउने सोचका साथ सो जग्गा खरीद गरेका थिए ।

निकै सस्तो मूल्यमा खरीद गरेको उक्त जग्गामा ठूलो बाढी पसेपछि साथीहरुले ‘तपाइँकै जोडबलले किनेको हो, हाम्रो लगानी फस्यो, जे जति आउँछ दिनुहोस्’ भनेपछि पौडेलले एकल स्वामित्वको बनाए ।

काठमाडौँमा बसेर काम गर्दै गरेका भाइ सविन पौडेलसँग परामर्श गरेपछि ऋण धन गरेर साथीहरुको पैसा फिर्ता गरेसँगै उक्त जग्गा उनको एकल स्वामित्वमा आयो । जग्गा आफ्नो भएपछि त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने दाजुभाइको छलफलपछि सानो होटल शुरु गर्ने निर्णयमा उनी पुगे ।

एकातर्फ होटल बन्दै गयो भने पर्यटकको आगमन राम्रो भएसँगै होटललाई विस्तार गर्ने सोच उनीमा विकास भयो । उनले भने, ‘आन्तरिक पर्यटकलाई लक्षित गरेर सानोतिना होटल बनाउने सोच थियो । विस्तारको काम गर्दै जाँदा रिसोर्ट बनाउन पुगियो ।’ सँगै रहेको जग्गा थप गर्दै अहिले चार बिघामा रिसोर्ट फैलिएको छ ।

शुरुमा २४ कोठाबाट शुरु भएको रिसोर्ट विस्तार हुँदै जाँदा अहिले ३८ कोठा पुगेको छ । तीमध्ये दुई वटा ‘स्वीट रुम’समेत छन् । विस्तारको क्रममा सभाहल, पौडी पोखरी, आकर्षक सोधपुछ कक्ष, पार्किङ, बगैँचा थपिएका छन् ।

राप्ती नदीको किनारमै रहेको होटलको बाहिरी भागबाट सजिलै वन र वन्यजन्तु देख्न पाइन्छ । त्यसो त वर्षामा नदी बढ्दा कुनै कुनै वर्ष उनको होटलमै पानी पस्नेसमेत गर्दछ ।

होटलकै परिसरमा दुर्लभ एकसिङ्गे गैँडा, हात्तीलगायतका वन्यजन्तु ओहोरदोहोर गर्दछन् भने राप्ती नदीमा घडियाल र चराचुरुङ्गी रमाएको नजिकबाट नियाल्न सकिन्छ ।

होटलमा पर्यटक घुमाउनका लागि दुई वटा हात्ती, दुई वटा जीप र दुई वटा डङ्गा छन् । उनी भन्छन्, ‘‘विसं २०७२ को भूकम्पअघि कोठा  पुर्‍याउन नसक्ने गरी विदेशी पर्यटक आउने गरेका थिए । त्यसपछि नाकाबन्दी र कोरोनाका कारण व्यवसाय शिथिल भएको छ ।’’

दशैँ तिहारपछि भने विस्तारै पछिल्ला दिनमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि भने उनमा पुनः आशाको किरण पलाएको छ । यतिबेला उनले आन्तरिक पर्यटकलाई ४० प्रतिशत छुटमा होटलको सुविधा दिँदै आएका छन् । अरुबेला ८० प्रतिशत विदेशी हुने भए पनि अहिले अधिकांश स्वदेशी पर्यटक मात्रै छन् ।

विगतका वर्षमा वार्षिक झण्डै चार हजार पर्यटकलाई सेवा दिएर पाँच करोडभन्दा बढीको व्यापार गरेको स्मरण गर्दै उनले अब पुनः व्यवसाय पूर्ववत् अवस्थामा फर्किनेमा आफू विश्वस्त रहेको बताउँछन् ।

आफ्नो होटलमा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्चपदस्थ व्यक्तिदेखि विदेशी विशिष्ट व्यक्ति समेतलाई सेवा दिन पाएको उनदे सुनाए ।

गणेशका भाइ सविनले काठमाडौंमा ट्राभल्स सञ्चालन गर्छन भने आफूले यहाँको होटल हेर्दै आएको उनी बताउँछन् । निकुञ्जको जागिरे जीवन व्यथित गर्दै गर्दा यति ठूलो होटल आफैँले सञ्चालन गर्छु भन्ने कल्पना नगरेको भए पनि परिस्थितिले आफूलाई सुविधा सम्पन्न होटलको मालिक बनाएकामा भने उनलाई गर्व छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *