सेजबाट चार महिनामा २२ करोडको सामान निर्यात – Nepal Press

सेजबाट चार महिनामा २२ करोडको सामान निर्यात

रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)बाट चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म २२ करोड २३ लाख मूल्य बराबरका सामान उत्पादन भई बिक्रीका लागि उद्योगबाट निर्यात भएका छन् ।

कोरोना महामारीका कारण गत चैतदेखि ४ महिनासम्म पूर्ण बन्द रहेको सेजमा त्यसपछिको समयमा बिस्तारै सञ्चालनमा आएको थियो ।

अहिले सेजमा चालु अवस्थामा रहेका शक्ति मिनरल्स प्रालि, ब्रिलियन लाइटस र बिस्तार ग्लोबल प्रालिले आफ्नो उत्पादन बढाएका छन् ।

यी तीन उद्योगले मूल्य बराबरमा सामान उत्पादन गरी भारत तथा नेपालको आन्तरिक बजारमा पठाएको भैरहवा विशेष आर्थिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख तथा सिभिल इन्जिनियर अर्जुन पाण्डेले जानकारी दिएका छन् ।

चालु आबको पहिलो पहिलो पाँच महिनामा भारत निर्यातमा १५ करोड ७७ लाख र आन्तरिक बजारमा ६ करोड ४५ लाख मूल्य बराबरका सामान गइसकेको पाण्डेले जानकारी दिएका छन्।

यहाँको शक्ति मिनरल्सले चुनढुंगा प्रशोधन गर्दै आएको छ भने ब्रिलियन लाइटसले विभिन्न किसिमका एलइडी लाइटस् र बिस्तार ग्लोबलले स्टिलका भाडा उत्पादन गर्दै आएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादन १३ सय ४४ प्रतिशतले वृद्धि भएको पाण्डेले जानकारी दिए ।
कार्यालयको ४ महिने तथ्यांकअनुसार कोरोना महामारीकै समयमा साउनदेखि कात्तिकसम्म शक्ति मिनरल्सले १६ हजार ७५ मेट्रिक टन प्रशोधित चुनढुंगा, ब्रिलियन लाइटसले १ लाख ७३ हजार ७ सय ७५ पिस एलइडी लाइट र बिस्तार ग्लोबलले ७ लाख ४४ हजार १ सय १ किलो बराबरका स्टिल सामानहरू उत्पादन गरेका छन् ।

कोभिड -१९को महामारी ४ महिना प्रभावित

कोरोना भाइरस संक्रमणसँगै देशमा भएको लकडाउनमा सेजभित्र चालु रहेका उद्योगहरू पनि बन्द भएका थिए । करिब ४ महिना उद्योगहरू बन्द रहे तापनि साउन महिनाबाट भने निरन्तर उत्पादन र निकासी गर्दै आएको भैरहवा सेज प्रमुख पाण्डेले बताए ।

अघिल्लो वर्ष नोभेम्बर २०१९ बाट उत्पादन सुरु गरेको बिस्तार ग्लोबल पनि लकडाउनसँगै करिब ४ महिना बन्द हुन पुगेको उद्योगका प्लान्ट म्यानेजर निपुण जैनले बताए ।

दैनिक उत्पादन क्षमता २६ टन रहेको बिस्तार ग्लोबलले २ सयभन्दा बढी प्रकारका स्टिलका भाँडाकुँडा (थाल, डिनर प्लेट, थाली, बाटा, परातलगायत) उत्पादन गर्दै आएको जैनले बताए ।

अझै पनि कोरोना जोखिम भारत नेपाल दुवैमा छ । तर उत्पादन र बजार दुवै राम्रो छ । गत वर्षको तुलनामा राम्रो भएको छ । उद्योगले १ सय ८० बढीलाई रोजगार दिएको छ ।

उता लकडाउन सुरु हुनु अघिसम्म जय बुद्ध मेटल क्राप्टले परीक्षण उत्पादन गर्दै आएको उद्योगका सञ्चालक प्रशान्त अग्रवालले बताए । उद्योगले तामा, पित्तल, ढलोट, स्टिल, अल्मुनियमको सजावट, पूजा तथा दैनिक प्रयोजनका सामानहरू उत्पादन गर्दै आएकोमा अहिले कालिगढ (मजदुर) नहुँदा बन्द छ ।

‘अहिले मजदुर नभएर बन्द छ, अब छिटै दक्ष मजदुर भारतबाट ल्याएर डेढ महिनामा उत्पादन सुरु गर्छौं’, सञ्चालक अग्रवालले भने ।
उद्योग बन्द हुँदा राज्यबाट कुनै सहुलियत नपाइएको विद्युत्को डिमाण्ड चार्ज, जग्गा भाडा लगायतमा दिन सकिने छुटसमेत राज्यले उपलब्ध नगर्दा निराशा छाएको बताए ।

पूर्ण क्षमतामा चल्न सकेन

भैरहवा सेजमा अहिलेसम्म ३ उद्योग पूर्णरुपमा सञ्चालनमा छन् भने अन्य जय बुद्ध मेटल क्राप्ट प्रालिले परीक्षण उत्पादन गरिरहँदा कोरोना भाइरसको संक्रमण बढेपछि लकडाउन हुँदा चैत्रबाट बन्द अवस्थामा छ भने पञ्चकन्या ग्रुपका पञ्चकन्या पिभिसी पाइप्स प्रालि, पञ्चकन्या स्टेनलेश स्टिल टेंक म्यानुफ्याक्चरिंग कम्पनी, पञ्चकन्या सिपिभिसी पिपिआर पाइप्स एण्ड फिटिंग्स प्रालि तथा पञ्चकन्या एचडिपीई पाइप्स म्यानु फ्याक्चरिंग कम्पनी उद्योग निर्माणको अन्तिम चरणमा छन् ।

सेजमा उद्योग स्थापनाका लागि जग्गा भाडामा लिएका अन्य उद्योगहरूमा एस प्लास्टिक प्रोडक्टस्, निर इण्डष्ट्रिज प्रालि, ग्रो वेल इन्नोभेशन प्रालि, एलडिएस इलेक्ट्रिक प्रालि, क्रियसन वल्र्डवाइड प्रालि, तिरुपति मेटल इण्डस्ट्रिज प्रालि, एरिवा एग्रिकल्चर प्रालि, नेशनल अग्र्यानिक प्रालि, अरिहन्त एग्रो प्रोसेसिंग इण्डस्ट्रिज, कुराकानी अनलाइन प्रालि रहेका छन् ।

सेजमा कुल १७ उद्योगले अहिलेसम्म ४८ प्लट लिएका छन् । सेजको हालको क्षमता ६८ प्लट हो । सेजमा उत्पादित वस्तुहरू ६० प्रतिशत भारत तथा तेस्रो मुलुकमा र ४० प्रतिशत नेपालमा बिक्री गर्नुपर्ने प्रावधान छ । त्यहाँ स्थापना भई सञ्चालन हुने उद्योगले भारत निर्यातमा भन्सार छुट, कच्चा पदार्थ आयातमा भन्सार छुट साथै उद्योगका लागि लिएको जग्गाको भाडामा पहिलो वर्ष ५० प्रतिशत, दोश्रो वर्ष ४० र तेश्रो वर्ष २५ प्रतिशत छुट लगायत अन्य सुविधा रहेको पाण्डेले जानकारी दिए । सेजमा जग्गा भाडा दर प्रतिस्क्वायर मिटर रु. २० रहेको छ ।

नियमावली संशोधनको माग

सेजमा उद्योग सञ्चालनका लागि केही उद्योगहरुले जग्गा भाडामा लिएर राखे पनि सम्पर्कमा आएका छैनन् । यसरी उनीहरूले ओगटेर बसेकाले व्यवस्थापनले न त उनीहरूलाई हटाउन सकेको छ न त उनीहरुसँग भाडा असुली गर्न सकेको छ ।

कार्यालयका प्रमुख अर्जुन पाण्डेका अनुसार यसको यसको नियमावली संशोधन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ । ‘केही उद्योगहरू लामो समयसम्म सम्पर्कमै आउनुभएको छैन, भाडा पनि दिनुभएको छैन, यस्तो अवस्थामा नियमावली संशोधन गरेर भएपनि अब निकास निकाल्नुपर्छ,’ उनले भने ।

यस्तो समस्याका कारण केही उद्योगलाई चाहेर पनि स्थान दिन सकिएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर