‘लुट’ रिलिजको नौ वर्ष : तीन ठूला उपलब्धी, जसले बदल्यो नेपाली फिल्मको सौन्दर्य – Nepal Press

‘लुट’ रिलिजको नौ वर्ष : तीन ठूला उपलब्धी, जसले बदल्यो नेपाली फिल्मको सौन्दर्य

काठमाडौं । नेपाली फिल्म क्यालेन्डरमा १३ जनवरी ऐतिहासिक तिथिको रुपमा मार्क हुनेछ । ठीक ९ वर्ष अगाडि आजकै दिनमा फिल्म ‘लुट’ रिलिज भएको थियो र एकैसाथ नेपाली फिल्मको ब्याकरणलाई पुनः परिभाषित गरिदिएको थियो । ‘लुट’ले के मात्र गरेन ? ५० वर्षे नेपाली फिल्मको इतिहासमा कथ्य, संरचना र बजारमा मानक स्थापित गरिदयो । धन्यवाद –माधव वाग्ले, नरेन्द्र महर्जन, निश्चल बस्नेत, दयाहाङ राई र सौगात मल्लको टीमअपलाई ।

जतिबेला लुट रिलिज भएको थियो । उतिबेला समीक्षक मनोज पण्डितले दुई सिरिजमा लुटको समीक्षा गरेका थिए । उनी लिखित ‘लुट’ समीक्षाको हेडलाइन थियो –लुटले लुट्छ । पण्डितको तर्क थियो –लुटले नेपाली फिल्मको परम्परागत न्यारेसन शैलीलाई परिवर्तन मात्र गरेन विषयवस्तु र कथ्य संरचनामा नयाँपन ल्यायो । रिलिजको ठीक नौ वर्षपछि पुनः ‘लुट’को उपलब्धीलाई एकपटक सिंहावलोकन गर्नु सान्दर्भिक हुन आउँछ ।

मल्टिप्लेक्स कल्चरको सुरुवात

सन् २०१२ मा लुट रिलिज हुने समय नेपालमा मल्टिप्लेक्स हलमा सिभिल र बिग मूभिज मात्र थिए । त्यसअघि सिंगल थिएटरकै जगजगी थियो । जसै, लुट रिलिज भयो, मल्टिप्लेक्समा यसको ब्यापारमा उछाल आयो ।

सिंगल पर्दामा समेत लुट हिट भयो । वास्तवमा भन्नुपर्दा लुटले दर्शकलाई यसरी हलमा तान्यो कि जो प्रायः हलमा जान आनकानी गर्थे या नेपाली फिल्मप्रति रुचि राख्ने थिएनन् । लुट कालखण्डपछि नै नेपालमा मल्टिप्लेक्स हलहरु धमाधम खुल्न थाले । फिल्म संस्कृति र मल्टिप्लेक्स कल्चर स्थापना गर्न लुटको योगदान छ ।

फिल्म ब्याकरणमा परिवर्तन
लुटअघि फिल्म समीक्षकको एउटै आलोचना हुने गथ्र्यो –फिल्मले समाजलाई कहिल्यै पनि स्वीकार गरेन । फिल्मलाई कहिल्यै साहित्यिक उत्पादनको रुपमा लिइएन ।

फिल्मलाई कहिल्यै बौद्धिक उत्पादन ठानिएन र नेपाली फिल्मले दृश्यभाषालाई पूर्णतः बेवास्ता गर्‍यो । तर, लुटले यी सबै कुरालाई आत्मसात गरेको भन्दै समीक्षकले स्वागत गरे । वास्तवमा लुट द्धन्द्ध, कथ्य संरचना, संवाद, चरित्र चित्रण र सन्देशको हिसाबले निकै अब्बल फिल्म हो ।

नेपाली सौन्दर्यको परिभाषामा नपर्ने चिम्सा आँखाहरु फिल्ममा नायक बने । हाकु काले बनेका सौगात मल्ल, दयाहाङ राईको पेट तथा काठमाडौंको गल्ली निकै हिट रहे । लुट फिल्मकै बिन्दुबाट काठमाडौंको चोभारले आकर्षण गुमाएको हो । लुट फिल्मबाटै पुरुषोत्तम प्रधान एकाएक ‘टेक्निकल हिरो’ बने । नेपाली नाट्य जगतले यही विन्दुबाट नेपाली सिनेम्याटिक परम्परामा जगजगी बसालेको हो ।

विदेशी बजारको खोजी

लुट यस्तो फिल्म थियो जसले विदेशी बजारमा नेपाली फिल्मको खोजी थाल्यो । सम्भवतः विदेशी बजारमा सर्वाधिक कमाउनेमध्येको एउटा फिल्म भएको थियो यो । स्वदेशमा ४ करोड ग्रस कमाएको ठानिएको फिल्मलाई निर्माताले निश्चित देशहरुमा ओभरसिज राइट विक्री गरेका थिए ।

अष्ट्रेलिया, युरोप र अमेरिकी बजारमा लुटले तहल्का मच्चायो । त्यसपछि मात्र चपली हाइट लगायतका अन्य फिल्मले ओभरसिज राइटको खोजी थाले । नेपाली फिल्मको इतिहासमा लुटको जस्तो विदेश डिमान्ड अरु फिल्मको भएको थिएन ।

तर, लुटको दोस्रो सिक्वेलको भने उतिसारो चर्चा भएन । समीक्षकले अघिल्लो भागजस्तो उतिसारो सौन्दर्य यसमा निहित नभएको भन्दै आलोचना गरे ।

ओपनिङ भव्य भएपनि दोस्रो सिक्वेल लामो समयसम्म हलमा चलेन । यही फिल्मदेखि माधव वाग्ले र नरेन्द्र महर्जन निर्माताको रुपमा स्थापित भए भने निश्चल बस्नेत ब्रान्डको रुपमा दरिए । तर, पछिल्लो समय कतिपयले पछिल्लो कामप्रति असन्तुष्टि जनाइरहेका छन् । ‘लुट’ फिल्म रिलिजको नौ वर्षपछि पनि अहिले सान्दर्भिक हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर