गोकुल बास्कोटा भन्छन्- जनतामा विश्वास नहुनेले हाे साइबर सेना बनाउने – Nepal Press

गोकुल बास्कोटा भन्छन्- जनतामा विश्वास नहुनेले हाे साइबर सेना बनाउने

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले केपी ओली नेतृत्वको नेकपालाई साइबर सेनाको जरुरत नभएको र त्यसरी संगठित साइबर वारियर बनाउने कुरा राजनीतिक दिवालीयापनमात्र हुने बताएका छन् ।

बास्कोटाले साइबर वारियरहरु खडा गरेको विपक्षीहरुको आरोप र मिडियामा प्रश्न उठाइएपछि सामाजिक संजालबाटै ओली नेतृत्वको नेकपा साइबर सेनाको टुकडीमा होइन सम्पूर्ण जनताको विवकमाथि भर पर्ने दावी गरे ।

उनले भनेका छन्- ‘म राज्यको सेनामाथि विश्वास गर्छु, अरु कुनै नाम वा प्रकारको सेनामाथि होइन । सामाजिक सञ्जाल चलाउने स्वतन्त्रता सबैलाई छ । कसले कसलाई समर्थन गर्छ वा लेख्छ व्यक्तिको स्वविवेक र जवाफदेहीताको कुरा हो ।’

नेपालप्रेससँग कुरा गर्दै बास्कोटाले जसलाई जनतामाथि विश्वास छैन उसलेमात्र विभिन्न प्रकारका सेना गठन गर्ने भन्दै ओली नेतृत्वको नेकपाले राज्यको सेना बाहेक अरुको उपादेयता कहिल्यै नदेख्ने बताए ।

बास्कोटाले भने- ‘मलाई विभिन्न मिडियाले पनि सोधे त्यसैले प्रष्ट पार्न बाध्य भएको हुँ । खुला समाजमा सानो कोठाभित्रको टुकडीमा भर परेर षडयन्त्रका पासा फाल्ने कुरामा विश्वास छैन । जसले साइबर सेना गठन गर्छौं भन्छ त्यो राजनीतिक दिवालीयापन हो ।’

आफू राजनीतिक मान्छे भएकाले सेनामा विश्वास नरहेको भन्दै बास्कोटाले खुला समाजमा हरेक जनताले विश्लेषण गर्ने र मत प्रकट गर्ने क्षमता राख्ने बताए । ओली नेतृत्वको नेकपा ३ करोड जनताको विवेकमा विश्वास गर्ने भएकाले कुनै प्रकारका फोर्स आवश्यक नरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर