नसोचेको काम गर्नुभयो, अब यति गरेर देखाइदिनुस् त ! – Nepal Press
प्रधानमन्त्रीलाई चिठी

नसोचेको काम गर्नुभयो, अब यति गरेर देखाइदिनुस् त !

प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,

फेरि एकचोटि कसैले नसोचेको काम गरिदिनु भयो नि ! तपाईं ले भनेझैँ सरकार बन्नुभन्दा अघिदेखि सुरु भएको थियो, तपाईंको पार्टी भित्रको रडाँको । न तपाईंलाई खुरुखुरु प्रधानमन्त्री हुन दिनका लागि त्यो एकता गरिएको थियो न तपाईंलाई सहजै स्वीकारिएको थियो । तपाईंको नाममा सहमति जनाउनुपर्ने अवस्था त अरु कुनै उपाय नभएपछि वाध्यताको परिणाम थियो ।

प्रतिस्पर्धीहरुलाई तपाईँ ‘खुत्रुक्क’ भैहाल्नु हुन्छ कि भन्ने झिनो आशा पनि थियो । तर दोस्रोचोटि मृगौला फेरेर झन् ‘कडा’ भएर निस्कनु भएपछि सहयोद्धा कमरेडहरुमा चरम निराशा छायो ।

उहाँहरुमा बढेको निराशाका कारण तपाईका कमरेडहरुबाट देशलाई लगातार अनिर्णयको बन्दी बनाइएको अवस्थालाई चिर्न धेरैले सम्भावना देखेको तर कसैले विश्वास नगरेको काम ड्याम्मै गरिदिनुभयो, प्रतिनिधिसभा विघटन गरेर ।

पाँच वर्षसम्म झन्डै दुई तिहाइ बहुमतका साथ सरकार चलाउन पाउने प्रधानमन्त्रीले संसद विघटन गरी चुनावमा जानुपर्ने अवस्था तपाईंले लहडमा गर्नु भएको होइन ।

प्रतिस्पर्धीहरुलाई तपाईँ ‘खुत्रुक्क’ भैहाल्नु हुन्छ कि भन्ने झिनो आशा पनि थियो । तर दोस्रोचोटि मृगौला फेरेर झन् ‘कडा’ भएर निस्कनु भएपछि सहयोद्धा कमरेडहरुमा चरम निराशा छायो ।

धेरैले बुझेका छन्, इतिहास पनि साक्षी छ र बाँकी अन्य कुराहरु धेरैले बुझ्दै जाने छन् । तर अब ती सबैले बुझेको कुरा गरेर मात्रै पुग्दैन, तपाईंले गर्न खोजेको तर गर्न नपाएका कामहरु के के हुन् ? फेहरिस्तसहित सबै नेपाली जनतालाई प्रस्ट पार्नु पर्छ ।

तपाईंले यसबीचमा जनताले बुझ्ने र सुन्ने गरी केही बताइसक्नुभएको छ । र अब ती काम फटाफट सम्पन्न गर्नै पर्छ, हिन्दी चलचित्र नायकको ‘नायक’ले जसरी ।

नायकका ‘नायक’सित झैँ तपाईंसँग पनि धेरै समय छैन । चुनाव हुँदा पनि तपाईले नै जित्नु हुन्छ भन्ने निश्चित छैन । संसद पुनःस्थापना भयो भने त सबै मिलेर तपाईंलाई गलहत्याउने नै छन् ।

अवरोध हटाउनुभयो, अब अवसर खोज्नुस्

दुई कारणले चाहे जस्तो काम गर्न सकिनँ भन्नुभएको छ । पहिलो, अनिर्णयको बन्दी बनाए । दोस्रो, घेराउमा परेँ ।

आफ्नै पार्टीभित्र प्रचण्ड र माधव नेपालको जसरी पनि पद हत्याउने चाहनाले केही हुन दिएनन् भन्नु भएको छ । धेरै लामो समयको खिचातानी र विवाद नेपाली जनताले देखेका पनि छन् । त्यस्तै, सभामुख र संसदीय समितिहरुका मध्यमबाट हलो अड्काउने काम गरे भन्नु भएको छ । यो विषयमा अलि प्रष्ट पार्न जरुरी छ ।

अब यी दुबै अवरोध छैनन् । प्रचण्ड र माधब नेपालसँग बैठक गरेर महिनौं बिताउनु पर्ने अवस्था पनि छैन । पार्टीमा तपाईले जे चाह्यो, त्यहीं हुन्छ । संसदै विघटन गरिदिनु भयो, त्यहाँबाट पनि अवरोध हुँदैन । अब थोरै नै समय भए पनि चाहे जस्तो काम गरेर देखाउने बेला आएको छ । अब काम गर्न थाल्नुस् ।

तपाईंले बोलेर मात्रै पुग्दैन, काम गरेर देखाउन सक्नुपर्छ । कसैले नसोचेको कामको थालनी होस्, जसरी नसोचेको तरिकाबाट तपाईंले संसद भंग गर्नुभयो । आफ्नै बहुमतलाई तिलान्जली दिनसमेत डराउनु भएन ।

तपाईंले बोलेर मात्रै पुग्दैन, काम गरेर देखाउन सक्नुपर्छ । कसैले नसोचेको कामको थालनी होस्, जसरी नसोचेको तरिकाबाट तपाईंले संसद भंग गर्नुभयो । आफ्नै बहुमतलाई तिलान्जली दिनसमेत डराउनु भएन ।

हुन त पहिले पनि धेरैले नसोचेको तर देशलाई दीर्घकालीन फाइदा हुने धेरै कामको नेतृत्व गर्नु भएको थियो । विरोधी स्वरहरुले ती काम नदेख्लान् तर इतिहासमा दर्ज छन् ।

पहिलो, देशलाई जातीय राज्य हुनबाट जोगाउन तपाईंले ठूलै भूमिका खेल्नु भएको हो । त्यो बेला जातीय राज्य बनाउन दिएको भए आज राजनीतिक लडाईँ होइन, जातीय युद्ध हुन्थ्यो ।

दोस्रो, तपाईंको अडानले अहिलेको संविधान बन्न मद्धत गरेकै हो, नेपाललाई निकास दिन अहिलेको संविधान सफल छ ।

तेस्रो, भारतीय नाकाबन्दीलाई परास्त गर्न नपाईले नेतृत्व प्रदान गर्नु भएको थियो, जसकारण नेपालले लामो समयदेखि गुमाएको भूराजनीतिक अस्तित्व पुनः प्राप्त गरी छुट्टै भूराजनीतिक वातावरण निर्माण गर्ने अवसर प्राप्त भयो ।

चौथो, चीनतिर भएका पारवहन तथा व्यापार सम्झौता ऐतिहासिक र देशको अस्तित्वसंग गाँसिएको विषय हो, जुन काम तपाईको नेतृव्वमा मात्र सम्भव भयो ।

पाँचौं, चुच्चे नक्सा जारी गर्नसक्ने अवस्थामा नेपाललाई पुर्याउनु चानचुने कुरा होइन । नाकाबन्दीलाई परास्त गर्न नसकेको भए र चीनतिर थप सम्झौता नभएका भए यो अवस्था आउने थिएन । भूराजनीतिक घटनाक्रमहरु एकअर्कामा अन्योन्याश्रित हुन्छन् र परिपुरक पनि ।

त्यो बेला पनि यस्ता धेरैले नसोचेका काम गर्नु भएकै हो । जसको पुरस्कारस्वरुप तपाईंलाइ प्रस्ट बहुमतसहित सरकार बनाउने अवसर दिएका थिए जनताले ।

अब फेरि चुनावमा जानु हुनुहुन्छ । अब पनि केही नसोचेका कामको थालनी गरेपछि मात्रै फेरि नेपाली जनतामा नयाँ जाँगर आउनेछ । पन्ध्र दिन होस् वा एक महिना वा तीन महिना, जति दिन सरकारमा बस्नु हुन्छ हरेक दिन ती नसोचेका कामहरु गरेर जनतालाई देखाउनै पर्छ । तपाईंका लागि यो कठिन परिस्थितिसँगै सुनौलो अवसर पनि हो ।

के के हुन सक्छन् नसोचेका काम ?

धेरैले नसोचेका तर गर्नु पर्ने साहसिक कामहरु धेरै छन् ।

पहिलो, राजनीतिक परिवर्तनपछि देशलाई न्यायोचित र समानतामा आधारित समृद्धिको नयाँ गोरेटोमा लाने तपाईंको अभियानले धेरैलाई उत्साहित बनाएको थियो ।

भारतीय बजारतन्त्रको दबदबा बढेर देशलाई पराधीन अर्थतन्त्रमा सिमित राख्ने दलाल पुंजिवादलाई नचिनेसम्म राष्ट्रिय पुँजिवादको निर्माण हुँदैन । राष्ट्रिय पुँजी निर्माण अथवा राष्ट्रिय उद्यमशीलताको विकासबिना गरिएका आर्थिक गतिविधिहरु बालुवामा पानि खन्याए जस्तो मात्रै हो ।

देशलाई जातीय राज्य हुनबाट जोगाउन तपाईंले ठूलै भूमिका खेल्नु भएको हो । त्यो बेला जातीय राज्य बनाउन दिएको भए आज राजनीतिक लडाईँ होइन, जातीय युद्ध हुन्थ्यो ।

तपाईंले खोजेको समृद्धिको खाका कस्तो हो ? यो खाकाले दलालतन्त्रलाई कसरी चिर्छ ? अहिलेसम्म के कारणले यो अभियान प्रस्टसँग अघि बढ्न सकेन र अब कसरी अघि बढ्न सक्छ ? भन्ने कुरा नेपाली जनतालाई प्रस्ट पार्नु पर्छ । यो तपाईंको दायित्व पनि हो ।

चुनावमा भोट माग्न जानलाई मात्र होइन, तपाईंले देखेको सपना के हो ? थाहा पाउनु नेपाली जनताको अधिकार हो । अन्यथा समृद्धिको अभियान एउटा गफ मात्रै रहेछ भन्ने बुझाई हुनेछ ।

दोस्रो, नेपालको दीर्घकालीन स्वाभिमान र समृद्धिका लागि हिमालय क्षेत्रमा चीनसँगको सहकार्यमा बिआरआई लगायतका अभियान तदारुकताका साथ अघि बढ्नु पर्ने थियो । नेपाल र हिमवत् खण्डको समृद्धिको लागि कोशेढुंगा बनेका यस्ता अभियानहरु तत्कालै सुरु गराउनुस्, किन हुन सकेनन् प्रस्ट पार्नुस् ।

नेपाललाई भूराजनीतिक शक्तिहरुको खेल मैदान हुनबाट जोगाउने मुख्य मुख्य कामहरु के के हुन् ? नेपाली जनतालाई देखाइदिनुस् ।

सम्झौता र भ्रमण आदान–प्रदानमा सिमित रहेको अहिलेको अवस्थालाई चिरेर प्रस्ट खाकासहित आर्थिक कोरिडोर र कनेक्टिभिटिका काम युद्धस्तरमा अघि बढाउनु आवश्यक छ । अहिले सुरु नगर्ने हो भने यी अवसरहरु गुम्ने खतरा छ ।

तेस्रो, चुच्चे नक्सा निर्माण नेपालको इतिहासमा एउटा उदाहरणीय घटना हो । अब लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली अधीनमा ल्याउने कठिन काम तपाईंको सबै भन्दा ठूलो प्राथमिकता हुनु पर्छ । हिजो मात्रै भारतीय मिडियालाई दिनुभएको अन्तर्वार्ता अडानयुक्त, प्रस्ट र नेपाली जनताले गर्व गर्न लायक छ । भूमि फिर्ताका लागि भारतीय सरकारसँग एउटा वातावरण पनि बनाउँदै हुनुहुन्छ जस्तो देखिन्छ ।

हुन त चुच्चे नक्सा आए देखि नै तपाईंको पद धरापमा परेको हो । तर सन् २०२१ भित्र सबै सिमानाका समस्याहरु समाधान गर्छु भन्ने कुराको खाका जनतालाई बुझाउन बाँकी छ । त्यसका लागि परेका समस्याबारे पनि बताइदिनुस् ।

साँच्चै लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय सेना हटाएर नेपाली सेना राख्न सक्नु भयो भने तपाईं न चुनावमा भोट माग्दै हिँड्नु पर्छ न संगठन विस्तारको दौडधूप नै आवश्यक छ । सबै नेपाली तपाईंको साथमा हुनेछन् ।

चौथो, लामो समयदेखि राजनीतिक क्षेत्रमा बढेको भ्रष्टाचार र दलालीतन्त्रले नेपाली युवा निराश छन् । बहुदल आएदेखि नै राजनीतिक अस्थिरताको फाइदा उठाउँदै राजनीतिक, प्रशासनिक, विकास निर्माण र बजार क्षेत्रमा भ्रष्टाचार र अनियमितताले संस्थागत रुप नै लिएको छ ।

कुनै राजनीतिक पूर्वाग्रह नराखी अथवा कुनै प्रतिशोध साँध्ने नभई साँचो अर्थमा भ्रष्टाचारविहीन समाज निर्माण गर्ने अभियान लिएर सयौंको संख्यामा भ्रष्टाचारका काण्डहरुलाई पर्दाफास गरिदिनुस् र कारवाहीको दयारामा ल्याउनुस् ।

हुन त अख्तियारमा नियुक्तिकै विषय अहिलेको फुटको एउटा आधार हो भन्ने बाहिरी हल्ला छ । तर भ्रष्टाचारविरोधी अभियान कुशलताकासाथ अघि बढाउनु भयो भने लाखौँ युवा तपाईको पछि लाग्नेछन् ।

पाँचौ, देशलाई कोरोना महामारीले पारेको ठूलो असरबाट मुक्ति दिने प्रस्ट खाकाको आवश्यकता छ । कति बिरामी भए र कति मरे भन्ने एउटा आँकडा हो तर नेपाली जनतालाई यो महामारीको असर लामो समय रहनेछ ।

उपचारको व्यवस्था, खोपको सुनिश्चितता मुख्य काम भए नै । तर जसरी नाकाबन्दीले नेपाललाई स्वतन्त्र भूराजनीतिक उचाई लिन अवसर प्रदान गरेको थियो, त्यसैगरी महामारीलाई स्वाधीन अर्थतन्त्र निर्माण र राष्ट्रिय समृद्धिको अभियानमा नयाँ खुड्किलो उक्लिन मद्धत गर्ने मौकाको रुपमा प्रयोग गर्नु आवश्यक छ । यो मौका नगुमोस् र नेपाली जनताले अनुभूति गर्न पाउन् ।

यति काम तदारुकताका साथ गर्न सके तपाईंलाइ भोटको चिन्ता हुँदैन, न संगठन कै चिन्ता हुन्छ । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि छोटो समय बस्नु भयो तर जनताले ठूलो मूल्यांकन गरे । मनमोहन अधिकारी पनि नौ महिना मात्रै प्रधानमन्त्री हुनु भयो तर अहिलेसम्म जनताले उच्च सम्मान गर्छन् ।

अन्त्यमा,

अहिलेको अवस्थामा धेरैले नपत्याएको तर तपाईंले गर्नसक्ने एउटा काम छ, त्यो हो पार्टी एकतावद्ध गर्ने । पार्टी र सरकार नयाँ पुस्तालाई हस्तान्तरण गर्छु भन्ने भनाइमा प्रतिबद्ध रहनुस् । कार्यकर्तास्तरमा एमाले र माओवादी एकता गर्दा ठूलो उत्साह थियो ।

बरु एमालेकै कार्यकर्ताहरुमा केही शंका थियो– कतै एमालेको मजबुत संगठन र एकतालाई तहस–नहस पार्ने खेल त होइन भनेर । तर पनि जिल्ला तथा गाउँमा पार्टी एकता मजबुत हुँदै थियो । को सानो को ठूलो भन्दा पनि सबैलाई समेट्ने अभियानको नेतृत्व लिनु पर्छ ।

तपाईंले नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्छ भनीसक्नु भएको छ । तर अब प्रचण्ड र माधव नेपाल पार्टी नेतृत्व बाहिर रहने शर्तमा पुनः पार्टी एकै ठाउँ ल्याउनुस् । पद लिनकै लागि अहिलेको भाँडभैलो आएको हो भन्ने कुरा नेपाली जनताले देखि सकेका छन्, तर त्यस्तो पात्र तथा प्रवृत्तिलाई नाङ्गेझार पार्न आममानिसको चाहनाअनुसार नयाँ ढंगको एकता प्रस्ताव जानु पर्छ । हो, तपाईंले फेरि एकपटक नसोचेको काम गर्न आवश्यक छ ।

(लेखक अमेरिकाको नर्थ क्यारोलिन विश्वविद्यालयमा अध्यापन गर्छन् । उनी हिमालयन भूराजनीतिक विषयका अद्येता हुन् ।)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *