प्रदेश–१ मा कोरोना संक्रमणको दर नगन्य – Nepal Press

प्रदेश–१ मा कोरोना संक्रमणको दर नगन्य

प्रदेशभर चार जना संक्रमित अस्पतालमा उपचाररत

विराटनगर । कोरोना संक्रमणको दर देशभरि नै कम भइरहेको छ । प्रदेश–१ मा संक्रमणको दर नगन्य देखिएको छ नै कोरोनाका कारण अस्पताल भर्ना हुने बिरामीहरु पनि कम छन् पछिल्ला दिनमा कोरोना संक्रमित बिरामीको संख्यामा आएको कमीसँगै अस्पतालका शय्या खाली हुन थालेका छन् ।

प्रदेश–१ का निजी अस्पतालहरुले छुट्टै रुपमा सञ्चालन गरेको कोभिडको उपचारको सेवा बन्द गर्न थालेका छन् । कोरोना संक्रमितको संख्यामा आएको कमीसँगै विराटनगरको न्यूरो अस्पतालले कोरोना उपचारको सेवा बन्द गरेको छ । नोबेल, विराट र झापाको विएमसी अस्पतालले कोरानाको उपचारको सेवा बन्द गर्ने तयारी गरेका छन् ।

पुसको चौथो सातासम्म आइपुग्दा प्रदेशका सरकारीसहित नीजि अस्पतालमा गरी कुल चार जना कोरोना संक्रमित उपचाररत छन् ।
स्वास्थ्य मन्त्रालयको अनुमति लिएर झापा र मोरङका चार निजी अस्पतालहरुले गएको साउन महिनाबाट कोरोनाको छुट्टै उपचारसहितको सेवा सञ्चालन गर्दै आएका थिए ।

कुनै समय प्रदेश–१ मा कोरोना संक्रमितहरुले अस्पतालमा शय्या अभाव हुँदा बाध् भएर होम आइसोलेशनमा बस्नु पर्ने अबस्था समेत सृजना भएको थियो । पछिल्ला दिनमा कोरोनाको नँया संक्रमित अस्पताल भर्ना हुन छाडेपछि प्रदेशमा कोरोनाको प्रभाव कम भएको अनुमान गरिन थालेको छ ।

विराटनगरको न्यूरो अस्पतालले कोरोना संक्रमितको उपचारका लागि छुटै भवनको व्यवस्था गरी सेवा प्रदान गर्दै आएको थियो । न्यूरो अस्पतालका प्रशासन प्रमुख राजेश भट्टराईले गएको दुई सातायताबाट कोरोना संक्रमित उपचारका लागि अस्पतालमा भर्ना नभएपछि अस्पतालले सेवा बन्द गरेको जानकारी दिए ।

‘पछिल्ला दिनमा अस्पतालमा सेवा लिने विरामी आउन छाडे’ उनले भट्टराईले भने, ‘विरामीको संख्यामा कमी आएर शय्याहरु खाली हुनथालेपछि खर्चिलो कोरोना उपचारको सेवालाई बन्द गरेका छौं ।’

त्यसैगरी विराटनगरकै नोबेल र विराट शिक्षण अस्पताल र भलापाको वीएमसी अस्पतालले पनि छुट्टै कोभिड अस्पताल सञ्चालन गर्दै आएकोमा माघबाट सेवा बन्द गर्ने तयारी गरेका छन् । विराटनगरको नोबेलमा कोराना संक्रमित सबै उपचारपछि घर फर्किएका छन् । त्यहा नँया कोभिडका विरामी भर्ना भएका छैैनन् ।

बीएनसीमा पनि एक जनामात्र कोरोना संक्रमितको उपचार भइरहेको छ । कोभिडका नयाँ विरामी भर्ना नभएपछि अस्पतालले कोभिडको उपचार सेवा बन्द गर्ने तयारी गरेको छ ।

अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले नँया विरामी भर्ना नभएको हालको अबस्था र आज भोलिमा उपचाररक्त विरामी पनि डिस्चार्ज भएर जाने भएकाले कोभिड अस्पतालकोे सेवा बन्दको तयारी गरिएको जानकारी दिए ।

विराटको कोभिड अस्पतालमापनि एक सातादेखि नँया कोभिडका विरामी भर्ना भएका छैैनन् । अस्पतालमा उपचाररत दुई संक्रमितको डिस्चार्जे तयारी भएकाले कोभिड अस्पतालको सेवा बन्दको तयारी भईरहेको अस्पतालका प्रशासकीय प्रमुख सुधीरसिंह रोठोरले जानकारी दिए ।

कोरोना संक्रमणको प्रदेश–१ हटस्पट बनेपछि सरकारी अस्पतालहरु कोशी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुटै कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन । निजी स्तरका विराटनगरका नोबेल, विराट शिक्षण अस्पताल, न्यूरो अस्पताल र झापाको बीएन्डसी अस्पतालले पनि सेवा प्रदान गर्दै आएको थियो ।

सरकारी अस्पतालका शय्या पनि खाली हुँदै

प्रदेशका सरकारी अस्पतालहरुमा पनि कोभिड संक्रमित नगन्य छन् । अधिकांश अस्पतालमा बिरामीको संख्या घटेर शय्या खाली हुन थालेका छन । कोरोना संक्रमितको उपचार हुने प्रदेशका सरकारी अस्पतालमा अब दोहोरो संख्यामा संक्रमित छैनन् ।

प्रदेश सरकारले गत चैतबाट सञ्चालनमा ल्याएको कोसी कोभिड–१९ अस्पतालमा सबै शय्या खाली भएको छ ।

अस्पतालका अनुसार दुईजना संक्रमितमध्ये भेन्टिलेटरमा उपचाररत एकजनाको बुधबार बिहान मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी आनन्द लामिछानेका अनुसार उपचाररक्त अर्का संक्रमित निको भएर घर फर्किएपछि नयाँ संक्रमित अस्पतालमा भर्ना भएका छैनन् । ‘पछिल्लो एक महिनायता संक्रमित भर्ना हुने दर लगभग शून्यमा पुगेको अवस्था छ,’ उनले भने ।

हालसम्म कोसी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका ८२२ जना भर्ना भएकामा ५५ जनाको मृत्यु भएको छ ।
धरानको बीपीको कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबारसम्म जम्मा एकजना संक्रमित मात्र उपचाररत छन् । अस्पतालका सहप्रवक्ता चुडामणि पोखरेलले हालसम्म भर्ना भएका १ हजार १ सय ७३ जनामध्ये १ सय १९ जनाको मृत्यु भएको छ । प्रतिष्ठानबाट कोरोना स्वास्थ्यलाभ गरी ९ सय ७६ जना घर फर्किएका छन् ।

प्रतिष्ठानले हालसम्म ७३ हजार ३ सय ७ नमुना संकलन गरी पीसीआर परीक्षण गरेको छ । तीमध्ये ६४ हजार ३२९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

झापाको मेची अस्पतालमा पनि ४ दिनयता नँया संक्रमित भर्ना भएका छैैनन् । कोरानको उपचार भर्ना भएका तीन जना दुई दिन अघि डिस्चार्ज भएर घर फर्किएका छन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमित ७ सय जना छन् । तीमध्ये २ सय ६७ जना होमआइसोलेसनमा छन् । २९ हजार ९९६ संक्रमितमध्ये २९ हजार २४७ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६३ जनाको मृत्यु भएको छ । प्रदेशभर हालसम्म दुई लाख १० हजार ७ सय २५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रदेशमा दैनिक १ हजार ५ सयको संख्यामा हुने गरेको परीक्षण अहिले चार सय हाराहारीमा परीक्षण भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर