जेब्रा क्रसिङबारे अनभिज्ञ कर्णालीवासी, जथाभावी बाटो काट्दा दुर्घटना बढ्दो – Nepal Press

जेब्रा क्रसिङबारे अनभिज्ञ कर्णालीवासी, जथाभावी बाटो काट्दा दुर्घटना बढ्दो

सुर्खेत । पूर्वाधार निर्माण गरी त्यसको समुचित प्रयोगबारे पर्याप्त सचेतना दिन सकिएन भने व्यर्थ रहन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्ना नागरिकलाई सुविधाको प्रयोगबारे जानकारी दिन नसक्दा दिनहुँ दुर्घटना बढ्ने गरेको पाइएको छ ।

वीरेन्द्रनगर नगरपालिकामा रहेको चार लेलको सडकमा केहि स्थानमा जेब्राक्रस निर्माण भएको छ । सडक प्रयोगमा स्थानीय बासिन्दा अभ्यस्त हुन सकेका छैनन् । जसका कारण दुर्घटना बढ्न थालेको छ ।

शनिहललाई नजिकै बनाइएको जेव्राक्रस छोडेर अन्यत्र सडकमै पैदलयात्रीहरु बाटो काटने गरेका छन् । सुर्खेत होराइजन एकेडेमीलगायतका बढि विद्यार्थी अध्ययन गर्ने विद्यायमा पैदल अध्ययन गर्न जाने विधार्थीहरुको संख्या हजारौं छ । उक्त क्षेत्रमा बसोबास गर्ने नागरिकको संख्या धेरै भए पनि त्यहाँ राखिएको जेव्राक्रसबारे पैदल यात्रीहरु नै अनभिज्ञ रहने गरेका कारण दैनिकजसो पैदल यात्री दुर्घटनामा पर्ने गरेका छन् ।

‘केहि दिन अघि मात्रै एक मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको थियो । धन्न बालकलाई केहि भएन,’ स्थानीय कमल थापा मगर भन्छन्, ‘बालबालिका र अभिभावकहरु पनि जेव्राक्रसको ख्याल नगर्ने र सवारी चालकहरुको बढदो गतिले कुनै दिन ठूलो दुर्घटना ननिम्त्याउला भन्न सकिदैन ।’

स्थानीयवासीले भने सवारी चालकको लापरबाही हुने गरेको आरोप लगाउने गरेका छन् । ‘जेव्राक्रसबारे जानकारी भए पनि बाटो काटन लाग्दा सवारी साधनले आफ्नो गति घटाउँदैनन्,’ यरिचोकका नन्दकृष्ण शाही भन्छन्, ‘पोखरा, काठमाडौं जस्ता सडकमा जेव्राक्रसमा आउँदा सवारी साधनले बाटो छोडने गरको देखिन्छ तर यहाँ त्यस्तो हुँदैन । त्यसमा पनि अटो चालकलाई जेव्राक्रसको महत्व कसैले पनि बुझाउन नसकेको हो कि जस्तो लाग्छ ।’

बढदो शहरीकरणसँगैसवारी साधन र पैदल यात्रीको चापलाई व्यवस्थित गर्न हालसम्म जिम्मेबार भूमिका निर्वाह गर्न नसकेको आरोप नगरपालिकालाई लाग्ने गरेको छ ।

छैनन् पर्याप्त जेव्राक्रसिङ

वीरेन्द्रनगर राजधानी भएसँगै पछिल्लो समयमा खोक्रेखोला, बजारका भित्री सडकहरुमा सवारी चाप अत्याधिक हुने गरेको छ । भित्री सडकमा पैदलयात्रीलाई हिँडडुलमा समस्या भएको छ भने दुर्घटनाको जोखिम उत्तिकै बढेको छ ।

साँघुरा सडक र सवारीको चापले पैदलयात्री सबैभन्दा जोखिममा छन् । ‘बाटो साँघुरो छ । ठूला बस, ट्रक आउँदा लामो लाम लाग्नुपर्छ,’ उनी भन्छन्, ‘अब भित्री सडकमा पनि जेव्राक्रसिङ राख्ने र एकतर्फी व्यवस्था गर्न आवश्यक छ ।’

पैदल यात्रीलाई सडक पार गर्न सहिलो होस भनेर जेव्राक्रसिङ निर्माण भएको हो । तर यसको प्रयोगमा सचेतनाका लागि कसैले चासो नदिँदा दुःख लागेको जेव्राक्रसिङ अभियान्ता किरण सापकोटा बताउँछन् । ‘मैले आफ्नै लगानीमा विभिन्न स्थानमा जेव्राक्रसिङ निर्माण गरें । विद्यार्थीलाई प्रयोग गर्न पनि सिकाएँ,’ उनी भन्छन्, एक दुइ जनाले चाहेर मात्रै परिवर्तन गर्न सम्भव छैन । दुर्घटना बढ्दै गएको छ, चासो हुनुपर्नेहरु नसुने झैं गरेर बसेका छन् ।’

राजधानी भएपछि दुर्घटना बढ्यो

जिल्ला ट्र्राफिक कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको पुससम्म विभिन्न १८ वटा दुर्घटनामा परेर १२ जनाको मृत्यु भइसकेको छ ।१३ जना सामान्य घाइते भएका थिए भने १३ जना नै गम्भीर घाइते भएको तथ्यांक कार्यालयमा छ ।

आर्थिक वर्ष ०७२/०७३ मा ५३ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा परि १६ जनाले ज्यान गुमाएका थिए भने १२४ जना घाइते भएका थिए । आर्थिक वर्ष ०७३/०७४ मा ६९ दुर्घटनामा ३३ जनाको ज्यान गयो भने २७९ जना घाइते भए ।

आर्थिक वर्ष ०७४/०७५ मा ४१ घटनामा ३५ को ज्यान गयो भने १०७ जना घाइते भए । आर्थिक वर्ष ०७५/०७६ मा ४६ दुर्घटनामा २९ जनाको मृत्यु हुँदा १४६ जना घाइते भएका थिए ।

गत आर्थिक वर्षमा ४४ वटा सडक दुर्घटना घटेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ती दुर्घटनामा परेर ३७ जनाको ज्यान गयो भने ६१ जना घाइते भएका थिए । यसले के देखाउँछ भने संघीयता लागू भएपछि सुर्खेत कर्णाली प्रदेशको राजधानी बन्यो । त्यसयता वीरेन्द्रनगर केन्द्रजस्तै बन्यो, सवारीको चाप थपिए र दुर्घटनाको दर पनि बढ्यो ।

जनचेतनामूलक कार्यक्रम गर्दै आएका छौंः प्रमुख आचार्य

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख एवम इन्स्पक्टर उपेन्द्र आचार्यले सवारी दुर्घटना न्यूनीकरणकालागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको दावी गरे । उनको दाबी अनुसार सवारी चालक तथा परिचालकलाई ४१ पटक गरी एक हजार १५० जनालाई ट्राफिक नियमबारे जनचेतना दिइएको छ ।

विभिन्न ३५ स्थानमा ६ हजार ७०० सर्वसाधारणलाई पनि जनचेतना दिइएको उनको भनाइ छ । ‘हामीले श्रोत र साधनले भ्याएसम्म नागरिकहरु, सवारी चालकहरु सडक दुर्घटनामा नपरुन भनेर जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौं,’ उनले भने, ‘यसमा सडक पार गर्ने, अन्य नियम पालना गर्ने र कसरी सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्ने जानकारी दिने गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर