एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज, १० विधामा प्रदान गरिँदै – Nepal Press

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज, १० विधामा प्रदान गरिँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्चको आयोजनामा हरेक वर्ष हुँदै आएको एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज ललितपुरमा आयोजना हुँदैछ ।

हरेक वर्षको विश्व खेलकुद पत्रकार दिवस, जुलाइ २ मा आयोजना हुँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष ६ महिना पछि धकेलिएको हो । सातदोवाटोस्थित कराँते एकेडेमीको हलमा आज अपराह्न साढे ४ बजेदेखि पल्सर स्पोर्टस अवार्ड–२०७६ वितरण समारोह हुनेछ ।

वर्ष २०७६ भरि गरेको प्रदर्शनका आधारमामा १० विधामा प्रदान गरिने अवार्डमा वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथ्लिट सम्मान, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश रहनेछन् ।

वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । त्यस्तै पिपुल्स च्वाइस अवार्डका लागि पनि भोटिङ अवधि गएराति १२ बजेदेखि सकिएको छ ।

यस वर्ष अवार्डका मुख्य विधाहरुमा मनोनयनमा पर्नेहरुमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेताहरुकै बर्चश्व छ । वर्ष खेलाडी पुरुषमा कराँतेका मन्देकाजी श्रेष्ठ, ग्रल्फका सुवास तामाङ, फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की र तेक्वान्दोका कमल श्रेष्ठ छन् ।

वर्ष खेलाडी महिलामा पौडीकी गौरिका सिंह, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, कराँतेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ परेका छन् ।

वर्षको उत्कृष्ट युवा खेलाडीमा गल्फका सुवास तामाङ, तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बु, जुडोकी पुनम श्रेष्ठ र भारत्तोलनकी सन्जु चौधरी छन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका नवीन कुमार श्रेष्ठ, कराँतेका मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की छन् ।

पिपुल्स च्वाइस अवार्डको मनोनयनमा कराँतेका मन्देकाजी श्रेष्ठ, पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी छन् ।

वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *