पत्रकार उमा सिंह हत्याको १२ वर्ष: बुवा र दाइ अझै बेपत्ता, आमा विस्थापित – Nepal Press

पत्रकार उमा सिंह हत्याको १२ वर्ष: बुवा र दाइ अझै बेपत्ता, आमा विस्थापित

जनकपुरधाम । १२ वर्षअघि हत्या गरिएकी पत्रकार उमा सिंहको स्मृतिमा जनकपुरधाम उपमहानगरपालिकाले अक्षय कोष स्थापना गरेको छ । उपमहानगरपालिकाले अक्षय कोषमा ५ लाख रुपैयाँ जम्मा गरेको हो ।

उपमहानगरपालिकाको आयोजनामा सिंहको १२ औं स्मृति दिवस तथा श्रद्धाञ्जली सभा गरिएको हाे । श्रद्धाञ्जली सभामा मेयर साहले निडर र निष्पक्ष पत्रकारिता गर्ने महिला पत्रकार सिंहको हत्याप्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘सिंहलाई जनकपुरधामले कहिल्यै विर्सिने छैन । उनको सम्झनामा उत्कृष्ट काम गर्ने ५–१० जना पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरेका छौं ।

यसरी भएको थियो उमाको हत्या

२०६५ पुस २७ मा जनकपुरधामको रौजाल टोलस्थित डेरामा उनको हत्या भएको थियो। दिउँसो चार बजे रेडियो टुडेमा समाचार वाचन गरेर उनी डेरा फर्केकी थिइन् ।

१०/१५ जनाको नाकावधारी समूहले सिरहाको मिर्चैया घर भएकी सिंहको शरीरका कैयौं भागमा खुकुरी प्रहार गरेका थिए । रगतले भिजेकी उनलाई स्थानीयले केयर मेडिकल अस्पताल पुर्याए । तर अत्यधिक रगत बगिसकेका कारण उनलाई चिकित्सकले पनि बचाउन सकेनन् ।

लोडसेडिङका बेला खाना पकाइरहेकै बेला हतियारधारी समूहले उनको हत्या गरेका थिए । पत्रकारिता जगतसँग सम्बन्ध राख्ने जोकोही पनि त्यो कालो साँझ अझै भुल्न सकेका छैन ।

सिंहको हत्या अगाडि नै उनका बुवा रंजित सिंह र दाइ संजय सिंह गाउँमै होटल संचालन गरिरहेका थिए । उनको बुवा र दाइलाई २०६३ भदौ १५ मा तत्कालीन माओवादीले अपहरण गरी बेपत्ता पारेका थिए। हालसम्म बाबु–छोराको अवस्था अज्ञात नै छ।

बुवा–दाइको हत्यापछि उमा सिंहको विहे गर्ने तयारी पनि चलिरहेको थियो । सिंहकी आमा सुशीलाले केही जग्गा उमाकै नाउँमा राखेर बिहे गरिदिने सोचेकी थिइन् । तर उमाकी भाउजू ललिता विपक्षमा उभिन् । र हत्या उमाकै हत्या गराउने योजना बुन्न थालिन् ।

ललिताले सम्पूर्ण सम्पत्ति एकलौटी पाउनको लागि उमेश, नेमलाल, चन्देश्वर, धनेश्वर, विजय, विन्दुसमेतको मिलोमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।

सो समूहले उमालाई १ महिना अगाडि नै अपहरण गर्ने प्रयास समेत गरेको थियो । उनीहरूले सम्पूर्ण जग्गा भाउजू ललिताको नाममा दर्ता गरिदिन धम्की दिएका थिए ।

जग्गासम्बन्धी विवाद चल्दै गर्दा सिंहकी भाउजू ललिताले स्थानीय तत्कालीन माओवादी कमान्डर सुभाषमार्फत् उमेश यादवसँग कुरा गरी हत्याको योजना बनाको बताइएको छ । त्यतिबेला उमेश यादव तराई एकता परिषद्को केन्द्रीय अध्यक्ष थिए ।

यादवले आफ्नो पार्टीको केन्द्रीय सदस्य प्रशान्त भनिने नेमलाल पासवानलाई उमाको हत्या गर्न १ लाख ५० हजारको सुपारी दिएको बताइएको छ । हत्या भएपछि विमलेश झा भनिने विमलेश विमलले हत्याको जिम्मा लिएको विज्ञप्ति समेत निकालेका थिए ।

धनुषा जिल्ला अदालतले पत्रकार सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादव भएको ठहर गरेको छ । उनलाई जन्मकैदको सजायँ सुनाइयो ।

हत्याको अभियोगमा सिंहकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरका श्रवणकुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह कुमर र उनको छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध पनि धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो ।

अदालतले २०६८ जेष्ठ २६ मा सिंहकी भाउजू ललिता सिंहलाई जन्मकैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्मकैद सजायँको फैसला गरेको थियो । ललिता रिहा भएर मिर्चैयास्थित घरमा बस्दै आएकी छन् । यस्तै अदालतले श्रवणकुमार यादवलाई सफाई दिएको छ । उनी कारागारबाट थुनामुक्त भएर हाल मिर्चैया नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

सिंहकी आमा अझै विस्थापित

पत्रकार सिंहको हत्या भएपछि आमा सुशिला सिंह स्वतन्त्र रुपले एकल जीवन पनि बाँच्न सकेकी छैन । उनी हाल भारत (माइती)मा बस्दै आएकी छन् । सिंहकी भाउजू ललिता जेल मुक्त भएपछि आमा सुशीला करिब तीन वर्षदेखि नेपाल आएकी छैनन् ।

नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले पटक–पटक धम्की पाएका कारण सिंहकी आमा सुशीला नेपाल आउन नसकेको बताउँछन् । उनले भने, ‘पत्रकार सिंहको स्मृति दिवस मनाउन ७–८ वर्षसम्म सिरहा आइन् । तर तीन वर्षदेखि आउने गरेकी छैनन्।’ सुरक्षाका लागि जिल्ला प्रहरीमा निवेदन दिए पनि कुनै सुनवाइ नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.