देउवाको भूमिकाले ओलीलाई सघाएको पौडेल पक्षको निष्कर्ष – Nepal Press
कांग्रेसमा संशय

देउवाको भूमिकाले ओलीलाई सघाएको पौडेल पक्षको निष्कर्ष

संसद पुनःस्थापना नै बटमलाइन हुनुपर्ने शशांक निवास बैठकको ठहर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको भूमिकाको विषयमा प्रश्न उठ्न थालेको छ । सभापति देउवाको अभिव्यक्तिले असंवैधानिक कदमलाई बल पुर्याएको ठहर देउवा इत्तर समूहले गरेको छ ।

महामन्त्री शशांक कोइरालाको महराजगञ्जस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको बैठकमा देउवाको भूमिकाबारे समिक्षा भएको नेताहरुले बताएका छन् । बैठकले असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याएर मात्रै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

महाराजगञ्जस्थित कोइराला निवासमा दिउसो साढे २ बजे भेला भएका नेताहरुबीच ४ घण्टा छलफल भएको थियो । छलफलमा वरिष्ठ नेता पौडेलले सभपातिको भूमिकामाथि प्रश्न उठाएका थिए ।

सभापति देउवाले शनिबार बुढानिलकण्ठमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिको चर्चा गर्दै नेता पौडेलले सभापतिका कारण कांग्रेसमाथि प्रश्न तेर्सिएको बताए । नागरिक समाजका अगुवाहरुले वक्तव्य नै जारी गरेर कांग्रेसको नेतृत्वलाई ढुलमुले भनेको भन्दै नेता पौडेलले असंवैधानिक कदमविरुद्ध कांग्रेसलाई खरो उतार्न जरुरी रहेको बताए ।

त्यसका लागि सभापति देउवाको अभिव्यक्ति र कार्यशैली सच्चिनुपर्ने पौडेलको भनाइ छ । ‘सभापतिजीको भनाईले असंवैधानिक कदमलाई बल पुर्याएको छ । निर्वाचनका लागि तयार छ भन्नुको अर्थ असंवैधानिक कदम नसच्याउने भन्ने बुझिन्छ । नागरिक समाजले समेत कांग्रेस केपी ओलीकै पक्षमा छ भन्न थालेको छ । के हाम्रो धारणा यही हो ?’ बैठकमा पौडेलले भने ।

उनले सभापतिको व्यक्तिगत चाहनाका लागि पार्टीले लोकतन्त्र बिर्सन नसक्ने उल्लेख गरे । असंवैधानिक कदमविरुद्ध आन्दोलन घोषणा गरेपनि सभापति देउवाको भूमिका आन्दोलनको भावना विपरीत रहेको पौडेलको दावी थियो । बैठकमा सहभागि अन्य नेताहरुले पनि सभापतिको भूमिकाले पार्टीलाई बेफाइदा हुने चर्चा गरेका थिए ।

महामन्त्री डा. शशांक कोइरालाले आन्दोलनप्रति जनताको सकरात्मक उत्साह देखिएको भन्दै पार्टीभित्र साझा धारणा बनाउनुपर्ने बताए । बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारको अलोकतान्त्रिक कदमविरुद्ध पार्टीले खुट्टा नकमाई आन्दोलन गर्नुपर्ने बताए । सभापति देउवाले व्यक्तिगत स्वार्थका लागि पार्टीको महाधिवेशनमा पनि विलम्व गरेको सिंहको आरोप थियो ।

बैठकपछि प्रतिक्रिया दिदैं सिंहले नेपालप्रेसँग भने– पदाधिकारी बैठक र केन्द्रीय समितिले नै असंवैधानिक अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । यो निर्णयभन्दा बाहिर कांग्रेसका कोही नेता छैननन् । उनले सभापतिको अभिव्यक्ति आन्दोलनको भावना विपरीत भएपनि पार्टीको निर्णय आन्दोलन नै भएको जिकीर गरे ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्व महामन्त्री सिंहसहित नेता डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती, जीवन परियार लगायत उपस्थित थिए । बैठकमा सबैजसो नेताहरुले आन्दोलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा सहभागी केन्द्रीय सदस्य जीवन परियारले बैठकको स्पिरिट आन्दोलन प्रभावकारी बनाउने र असंवैधानिक कदम सच्याउनेतर्फ केन्द्रीत रहेको बताए । ‘पार्टीको मूल नेतृत्वलाई आन्दोलनमै केन्द्रीत गराउन र संसद पुनःस्थापना गराउन सक्रिय भूमिका खेल्ने विषयमा छलफल भएको छ’, परियारले भने ।

उनले संसद पुनःस्थापना नै पार्टीको बटमलाइन हुनुपर्ने विषयमा बैठकमा छलफल भएको बताए । सभापति देउवाले शनिबार बुढानिलकण्ठमा आयोजित विरोध सभामा निर्वाचनमा जान कांग्रेस तयार रहेको बताएका थिए ।
‘अदालतले विघटन सदर गर्यो भने हामी चुनावमा जान्छौं । प्रधानमन्त्री ओलीले चुनावी दौड थालिसके हामी यत्तिकै बस्न हुन्न । यो आन्दोलन पनि चुनावकै तयारी हो’, देउवाको भनाई थियो ।

देउवाको यही भनाईपश्चात शनिबार नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले जारी गरेको वक्तव्यमा सभापति देउवाले ढुलमुले चरित्र देखाएको उल्लेख थियो ।

महाधिवेशनबारे आशंका

बैठकमा सबैजसो नेताहरुले राष्ट्रिय राजनीतिका विषय देखाएर पार्टीको महाधिवेशन टार्ने सम्भावना देखिएको बताएका थिए । यसअघि सभापतिलाई बुझाइएको १६ बुँदे असन्तुष्टी पत्रका कार्यान्वयन हुन बाँकी विषय तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा पौडेल पक्षले जोड दिएको छ ।

समायोजन, क्रियाशील सदस्यता वितरण र नवीकरण लगायतका विषयमा देखिएका समस्या समाधान गर्न सभापति देउवा अनिच्छुक भएको आरोप पौडेलको छ । बैठकमा पौडेलले पार्टीलाई विधान अनुसार चलाउनका लागि आन्तरिक रुपमा दवाव बढाउनुपर्ने बताएका थिए ।


प्रतिक्रिया

One thought on “देउवाको भूमिकाले ओलीलाई सघाएको पौडेल पक्षको निष्कर्ष

  1. रामचन्द्र काका को कुरा यकदमै राम्रो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर